मुख्यमन्त्री शाही र राजदुत कोडीबीच भेटवार्ता
सुर्खेत, १६ जेठ । (साबिस)
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिका कोडीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रदेश मुख्यालयमा बुधवार भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा लगानी गर्न राजदुत कोडीसँग आग्रह गरे ।
कर्णाली प्रदेशका दुई जिल्लामा अझै पनि सडक सञ्जाल पुग्न नसकेको भन्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको पहिलो प्राथमिकता भौतिक पूर्वाधारको विकास भएको धारणा राखे । उनले कर्णाली प्रदेशको समग्र विकासका लागि सबै जिल्ला र स्थानीय तहसम्म सडक सञ्जाल जोड्नुपर्ने आवश्यक भएको चर्चा गर्दै भौगोलिक विकटताका कारण पूर्वाधारका क्षेत्रमा आफूहरूलाई ठूलो पूँजीको खाँचो रहेको बताए ।
मुख्यमन्त्री शाहीले युरोपियन युनियनले सञ्चालन गर्दै आएको बहुक्षेत्रीय पोषण परियोजनाले परिणाममुखी काम गरेकोमा धन्यवाद व्यक्त गरे । उनले परियोजनालाई स्थानीय कृषि उत्पादनका क्षेत्रमा केन्द्रित गर्दा अझ उपलब्धिमूलक हुने बताए । कर्णाली प्रदेशमा उपयुक्त हावापानी, कृषियोग्य जमिन र सिँचाइको प्रशस्त सम्भावना रहेकोले कृषि उत्पादनको क्षेत्रमा लगानी बढाएमा जनताको पोषणको स्थितिमा पनि सुधार हुने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा अर्गानिक खाद्यपदार्थ (कोदो, फापर, कागुनो, आलु) उत्पादनको ठूलो सम्भावना रहेको र प्रदेश आत्मनिर्भरताको लागि अन्तर्राष्ट्रिय दातृ निकायले पनि उत्पादनकै क्षेत्रमा सहयोग गर्नुपर्ने धारणा राखे ।
राजदुत कोडीले आफूहरू सधैं सरकारको प्राथमिकताका क्षेत्रमा मात्रै लगानी गर्दै आइरहेको बताए । ‘सरकारको प्राथमिकता नै युरोपियन युनियनको प्राथमिकता हो’ राजदुत कोडीले भने, ‘हामीले ६० प्रतिशत बजेट सिधै सरकारलाई नै उपलब्ध गराइरहेका छौं ।’ उनले बहुक्षेत्रीय पोषण परियोजनालाई सरकारले पनि स्वामित्व ग्रहण गरेको र स्थानीय तहहरूले पनि यस क्षेत्रमा बजेट विनियोजन गरिरहेको बताउँदै परियोजना अन्तर्गत पोषणको अलावा स्वास्थ्य, शिक्षा र खानेपानीका क्षेत्रमा पनि आफूहरूले काम गरिरहेको जानकारी दिए । भेटमा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया, युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमी लगायतको सहभागिता रहेको थियो ।
साझा बिसौनी ।