‘सुपारी नचपाऊ, मोबाइल नचलाऊ’
साझा बिसौनी संवाददाता
सुर्खेत, १५ जेठ ।
कर्णाली प्रदेशमा सांसदहरूलाई सुपारी चपाउन र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ । प्रदेश सभाको बैठकमा नै सांसदहरूले सुपारी चपाउने, सूर्ती खाने र मोबाइल चलाउन थालेपछि यस्तो प्रतिबन्ध लगाइएको हो । सभामुख राजबहादुर शाहीले अबदेखि संसद बैठक सञ्चालन भएको समयमा मुखमा सुपारी र सूर्ती नराख्न तथा मोबाइलको प्रयोगसमेत नगर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।
संसद बैठकमा सांसदहरूले रोष्टममा बोल्दा सुपारी चपाउने गरेको, मुखमा सूर्ती राखेर बैठकमा आफ्ना धारणा राख्ने गरेको र सभा चलिरहँदा मोबाइल चलाएर सांसदहरूले सिंगो संसदको अपमान गरिरहेको भन्दै सभामुख शाहीले यस्तो निर्देशन दिएका हुन् । मंगलवारको संसद बैठकमा सभामुख शाहीले भने, ‘माननीय सदस्यहरूबाट संसदको गम्भीर अपमान र मर्यादा विपरितका काम भएका छन्, यसले संसदको गरिमामाथि नै आँच आएको छ । अब सभा चलिरहेको समयमा सुपारी र सूर्ती मुखमा नराख्नुहोला, मोबाइल पनि प्रयोग गर्न पाइनेछैन ।’
मंगलवारको बैठकमा सांसद कृष्णा शाहले सांसदहरूले बैठकमा सुपारी चपाउने गरेको र सूर्ती खाएर बैठकमा सहभागी हुने गरेको भन्दै आपत्ति जनाएकी थिइन् । सांसदहरूले पदीय मर्यादा विपरितका काम गरेर संसदको अपमान गरिरहेको भन्दै संसदको ध्यानाकर्षण गराएकी थिइन् । त्यसलगत्तै सभामुख शाहीले बैठकमा विशेष रुलिङ्ग गरेका थिए । ‘रोष्टमबाट आफ्नो धारणा राख्ने बेलामा सुपारी चपाएको पाइयो, कतिपय माननीयहरूले बैठकमा सूर्ती सेवन गरेको देखियो’ बैठकमा सभामुख शाहीले भने, ‘यस्ता क्रियाकलापले संसदको अपमान गरेको छ, मानमर्दन भएको छ । यसलाई तत्काल रोक्न म विशेष रुलिङ्ग गर्दछु, बैठक चलिरहेको बेलामा सभाहलभित्रै रहनसमेत म माननीय सदस्यहरूलाई निर्देशन दिन्छु ।’
प्रदेश सभाको बैठकमा सांसदहरूले मोबाइलमा व्यस्त रहने, बैठक सञ्चालन भइरहँदा हलबाहिर निस्कने, आपसमा कुराकानी गर्ने र सुपारी तथा सूर्ती खाने काम गरेको भन्दै सांसदहरूले नै प्रश्न उठाएका हुन् । यस्तै मंगलवारको बैठकमा सांसदहरूले प्रदेश सरकारले पनि संसदमा उठेका सवालको जवाफ नदिएर अटेर गरेको आरोप लगाए । संसदले जवाफ माग्दा विभागीय मन्त्रीहरू उपस्थित नहुने गरेको र यसले संसदको नै अपमान भइरहेको सांसदहरूको भनाइ थियो । यो विषयमा पनि संसदको गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख शाहीले अबदेखि सांसदले बैठकमा उठाएका सवालमा सरकारका तर्फबाट विभागीय मन्त्रीहरूले नै जवाफ दिनुपर्ने निर्देशन दिएका छन् । सभामुख शाहीले संसदको गरिमा र आस्थामा आँच आउने काम नगर्न मंगलवारको बैठकमा विशेष निर्देशन दिए ।
कर्णाली नलेखिएकोमा विरोध
प्रदेश सभाले सर्वसम्मत् प्रदेशको नाम कर्णाली पारित गरिसक्दा पनि प्रदेश ६ नै लेखिएकोमा सांसदहरूले आपत्ति जनाएका छन् । संसदबाट पारित भएको तीन महिना बितिसक्दासमेत प्रदेशको नाम कर्णाली लेख्नुको साटो अहिले पनि प्रदेश ६ नै लेख्ने गरिएको भन्दै सांसदहरूले सरकारको चर्को विरोध गरे । संसदको निर्णय कार्यान्वयन नगरेर प्रदेशको नाम र राजधानी उल्टाउने षड्यन्त्र भइरहेको सांसदहरूको आरोप छ ।
गत फागुन १२ गतेको प्रदेश सभाको बैठकले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर तोकेको थियो । तर हालसम्म पनि अधिकांश सरकारी संरचनाका बोर्ड र लेटरप्याडमा प्रदेश ६ नै उल्लेख गरिएको छ । केहीदिन पहिला संघीय सरकारको गृह मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको ब्यानरमा पनि प्रदेश ६ नै लेखिएको थियो । त्यसपछि यसको चर्को विरोध भइरहेको छ ।
प्रदेश सरकारले राजपत्रमा प्रकाशित भइनसकेका कारण प्रदेशको नाम कर्णाली लेख्न कानुनी बाध्यता भएको जवाफ प्रदेश सभामा दिएको थियो । तर मंगलवारको बैठकमा सांसद यामलाल कँडेलले भने, ‘जनताबाट निर्वाचित संसदले सर्वसम्मत् पारित गरेको हो, तत्काल यो निर्णय कार्यान्वयन हुनुपर्छ । अहिले पनि प्रदेश ६ लेखिनु आपत्तिजनक छ, यसले संसदको नै अपमान भएको छ ।’ यस्तै सांसद जीवनबहादुर शाहीले भने, ‘कर्णालीको नाम र राजधानी नै मेटाउने प्रयास भइरहेको छ, यसले संसदको नै अपमान गरेको छ । तत्काल सरकारले प्रदेशका सबै संरचनामा कर्णाली प्रदेश लेख्नुपर्छ, सरकार नै संसदको निर्णय फेल गराउने काममा लागेको देखिन्छ ।’ हालसम्म पनि प्रदेश ६ लेखिनु दुःखद् भन्दै सांसदहरूले तत्काल संसदले पारित गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
साझा बिसौनी ।