रुख काटेर विद्युत नियमित गरिने
साझा बिसौनी संवाददाता
सुर्खेत, १५ जेठ ।
कोहलपुर–सुर्खेत विद्युत प्रशारण लाइन नियमित गर्न जंगलका रुख काट्ने प्रस्ताव प्रदेश सरकारले गरेको छ । यो प्रशारण लाइनमा रुखहरू ढल्ने गरेका कारण वर्षेनी हप्तौंसम्म सुर्खेत लगायत आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने गरेको छ । अब विद्युत लाइन अन्तर्गत पर्ने रुखहरू काटेरै भए पनि नियमित विद्युत सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।
‘पटक–पटक विद्युत अवरुद्ध हुनु र लामो समयसम्म मर्मत हुन नसक्नुको प्रमुख कारण प्रशारण लाइनमा भएका रुखहरू नै हुन्,’ उनले भने, ‘हामीले नै निर्णय गर्न सक्दैनौं, संघीय सरकारसँग समन्वय गरी दीर्घकालीन समस्या समाधानका लागि अब रुख काटिन्छ ।’ राष्ट्रिय निकुन्ज क्षेत्रभित्र परेकाले पनि प्रशारण लाइनमा पर्ने रुख संघीय सरकारको अनुमति चाहिने उनको भनाइ छ । उनले भने, ‘विद्युत अवरुद्ध हुँदा उपभोक्तालाई सहजमात्रै होइन, विद्युत पनि खेर गइरहेको हुन्छ, यसको दीर्घकालीन समस्या समाधानका लागि प्रशारण लाइन खुला गर्नु जरुरी छ ।’
उनले विद्युत प्राधिकरण सुर्खेतलाई प्रदेश राजधानीमा दैनिक विद्युत अवरुद्ध हुनु लाजमर्दो भएकाले प्रदेश सरकार समक्ष समस्या र समाधानका ठोस योजना ल्याउन पनि अनुरोध गरे । नेपाली सेना, संघीय सरकार र प्रदेश सरकार मिलेर जंगल क्षेत्रभित्रको समस्यालाई दीर्घकालीन समस्या समाधानका लागि आवश्यक पहल थालिने मुख्यमन्त्री शाहीको भनाइ छ ।
यसैगरी उनले कोहलपुरदेखि छिन्चुक्षेत्रमा सबैभन्दा धेरै विद्युतको लाइन बिग्रिने भएकाले ठाउँ–ठाउँमा कर्मचारीहरू तैनाथ राख्न विद्युत प्राधिकरणको शाखा कार्यालयलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीले एक सय ३२ केबीको नयाँ लाइन जोडिएपछि दीर्घकालीन रूपमा विद्युत समस्या समाधान गर्न सकिने बताए ।
‘प्राधिकरणसँग जनशक्ति नभए प्रदेश सरकारले बजेटसहित वर्षात भरीलाई उपलब्ध गराउनेछ’ मुख्यमन्त्री शाहीले सुर्खेत शाखालाई निर्देशन दिँदै भने, ‘प्रत्येक पाँच÷पाँच किलोमिटर क्षेत्रमा एउटा पोष्ट खडा गरेर विग्रीएको ठाउँमा तत्काल बनाउन सकिन्छ ।’ विद्युत प्राधिकरण शाखा सुर्खेतले भने कर्मचारी अभावका कारण जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएको छ । यसैबीच मंगलवार नै सुर्खेतका व्यवसायीले मुख्यमन्त्री शाहीलाई विद्युत समस्या समाधानका लागि ठोस पहल थाल्न अनुरोध गरेका छन् । संयुक्त व्यवसायीको समूहले मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै हावा चल्दासमेत लामो समयसम्म विद्युत अवरुद्ध हुने समस्याबाट नागरिक र व्यवसायीलाई राहत हुनेगरी पहल थाल्न अनुरोध गरे । विधुत आपूर्ति नहुँदा दिनहुँ करोडौंको नोक्सानी व्यहोर्न बाध्य भएको संयुक्त व्यवसायी समूहका अध्यक्ष चिन्तामणी शर्माले बताए ।
साझा बिसौनी ।