सरकारलाई मागपत्र पेश

सुर्खेत, १३ जेठ । (साबिस)
नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सुर्खेतले शिक्षा विकास एवम् समन्वय इकाई सुर्खेतमार्फत् सरकारलाई मागपत्र पेश गरेको छ । संघका अध्यक्ष पद्मप्रसाद गौली, सचिव कृष्णबहादुर थापासहितको शिक्षकहरूको टोलीले शिक्षा विकास एवम् समन्वय इकाईका प्रमुखलाई मागपत्र बुझाएको हो ।
विज्ञापन गरी बारम्बार स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थानीय गर्न ऐनमा व्यवस्था भए बमोजिमको आन्तरिक परीक्षाको मिति तत्काल तोक्नुपर्ने, स्थानीय तहले आफूखुशी रूपमा ऐन तथा कानुन बनाउने कार्य रोक्नुपर्ने, शिक्षकको तलब भत्ताको निर्धारण र त्यसको सबै दायित्व र जिम्मेवारी संघीय सरकारको हुने, स्थानीय सरकारले ती सेवा, शर्त र सुविधा परिवर्तन गर्न नसक्ने लगायतका विषय समेटेर संघीय शिक्षा कानुन बनाउनुपर्ने माग महासंघले अघि सारेको छ ।
त्यसैगरी विद्यालय कर्मचारी तथा बालकक्षाका शिक्षकको दरबन्दी सिर्जना गरी उचित पारिश्रमिकको व्यवस्था गरिनुपर्ने, कम्तिमा १० वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकलाई सामूहिक पदोन्नतीको व्यवस्था गर्नुपर्ने लगायतका माग महासंघले राखेको छ ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७५, सोमबार १४:२४