प्रतिबद्धता कार्यान्वयन गर्न सहिद परिवारको माग

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ जेठ ।
कर्णाली प्रदेश स्थापनाका लागि तीन वर्षअघि आन्दोलनमा सहिद भएका परिवारहरूले सरकारलाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न माग गरेका छन् । सहिदको बलिदानका कारण प्रदेश स्थापना भइ सरकार गठन भएको तीन महिना बितिसक्दा पनि सहिदको सम्मान र परिवारका लागि दिइने भनेका सेवा सुविधाहरू अझै नपाएकाले यथाशीघ्र पूरा गर्न कर्णाली प्रदेश सरकार समक्ष माग गरेका छन् ।
आइतवार सुर्खेतका तीन र जुम्लाका एक गरी चार जना सहिद परिवारका सदस्यले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आफ्ना मागसहित ध्यानाकर्षण गराएका हुन् । सहिद यामबहादुर बिसी, हरिबहादुर कुँवर, टिकाराम गौतम र गोपालसिंह रजवारका परिवारका सदस्यले विगतमा भएका प्रतिबद्धता कार्यान्वयनसहित आफ्ना मागहरू पूरा गर्न मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले प्रदेश सरकारलाई राज्यले सहिद घोषणा गरेर औचारिक, अनौपचारिक कार्यक्रममा सहिद परिवार भने पनि परिवारलाई कुनै परिचय खुल्ने व्यवस्था नगरेकाले परिचयपत्रको व्यवस्थापन गरिदिन माग गरेका छन् ।
यस्तै, सहिद परिवारले प्राप्त गर्ने सरकारी सुविधाहरूको किटान गर्न पनि माग गरेका छन् । विभिन्न सेवा प्रदायक निकायमा दिइने छुट तथा बालबालिकालाई शिक्षा दिक्षाको लागि छुट दिइने भनिएपनि कार्यान्वयनमा नआएको भन्दै यथाशीघ्र व्यवस्थापन गर्न प्रदेश सरकारलाई माग गरेका छन् । त्यसैगरी विभिन्न ठाउँमा सहिदको नाउमा चोक, शालिक तथा पार्क निर्माण गर्ने विगतमा भनिए पनि हाल कुनै पहल नभएको परिवारको गुनासो छ । संरचना निर्माणका लागि तत्कालीन जग्गा छनौट समितिले गरेको निर्णय कार्यान्वयन हुन नसकेकोमा परिवारले आपत्ति जनाएका छन् । यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार र सहिदहरूको तस्वीर प्रदेशका सबै कार्यालयहरूमा राख्न परिवारले सरकारसँग माग राखेका छन् ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७५, सोमबार १४:२५