केपीएलको उपाधि आर्मीलाई
साझा बिसौनी संवाददाता
सुर्खेत, १२ जेठ ।
कर्णाली प्रिमियर लिग(केपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिवार भएको फाइनलमा शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले केपीएलको पहिलो सिजनको उपाधि जितेको हो ।
उपाधिसँगै आर्मीले तीन लाख रूपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको रूपन्देहीले नगद एक लाख ५० हजार रूपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
टस जितेर रूपन्देहीले पहिलो फिल्डिङ्ग रोजेपछि ब्याटिङ्गमा आएको आर्मीको सुरुवात राम्रो रहन सकेन । उसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३२ रनको मध्यमस्कोर मात्र बनाउन सक्यो । आर्मीका लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगदान दिए ।
बलिङ्गतर्फ रूपन्देहीका विकास श्रेष्ठले तीन तथा बसिर अहमद, विक्रम भुषाल र सन्दिप सुनारले एक विकेट लिए ।
एक सय ३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको रूपन्देहीले १७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सक्यो । उसका लागि निश्चल चौधरीले २६, सन्दिप सुनारले २४, कप्तान शक्ति गौचनले १७ र सौरभ खनालले १६ रन जोडे ।
बलिङ्गतर्फ आर्मीका विक्रम शोवले तीन, सुशन भारी र हरीकृष्ण झाले समान दुई÷दुई तथा जितेन्द्र मुखिया र चन्द्र सावदले एक÷एक विकेट लिए । खेलको म्यान अफ दि म्याच आर्मीको विक्रम शोव भए ।
खेलको म्यान अफ द् सिरिज रूपन्देहीका अलराउण्डर सन्दिप सुनार भए । उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुन भए उनले प्रतियोगितामा एक सत समेत प्रहार गरेका थिए । पुनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । त्यसैगरी उत्कृष्ट बलर बनेका रूपन्देहीका कृष्ण कार्कीले पनि नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।
बन्धुविहास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कर्णाली प्रिमियर लिगको यो पहिलो सिजन जेठ ३ गतेदेखि सुरु भएको थियो । जसमा विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो । यो प्रतियोगिता कर्णालीमा आयोजना गरिएको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । हरेक वर्ष केपीएल आयोजना हुने प्रतियोगिताको संयोजक रेशम शाहीले जानकारी दिए ।
साझा बिसौनी ।