जेसीज सप्ताह सुरु
साझा बिसौनी संवाददाता
सुर्खेत, १२ जेठ ।
शनिवारदेखि महिला जेसीज सप्ताह सुरु भएको छ । सुर्खेत महिला जेसीजको आयोजनामा विभिन्न कार्यक्रमसहित सप्ताह सुरु भएको हो । स्लो स्कुट ड्राइभ प्रतियोगिता आयोजना गरी सप्ताह सुरु गरिएको हो । स्लो स्कुटी ड्राइभ प्रतियोगिताको उपाधि जुनु रामजालीले जितेकी छन् ।
जेसीज सप्ताह अन्तर्गत शनिवार भएको प्रतियोगितामा ३९ जना प्रतियोगीलाई उछिन्दै रामजालीले उक्त उपाधि जितेकी हुन् । रामजालीले पाँच हजार नगद पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा द्वितीय हिना मल्ल भइन् भने तृतीय स्थान तुल्सी थापाले प्राप्त गरिन् । द्वितीयले तीन हजार र तृतीयले एक हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछन् ।
वीरेन्द्रचोकदेखि हुलाकचौकसम्म भएको दुई सय मिटर स्लो स्कुटी ड्राइभ प्रतियोगिताको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गरे । उनले महिला सशक्तीकरणका लागि सुर्खेत महिला जेसीजले महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए ।
सुर्खेत महिला जेसीजका अध्यक्ष कृति शाक्य गुभाजुले जेसीज सप्ताह अन्तर्गत महिलाहरूका लागि स्लो स्कुटी ड्राइभ प्रतियोगिताको आयोजना गरिएको बताइन् । उनले दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्लो स्कुटी ड्राइभ प्रतियोगित गरिएको थियो भने १३ गते छालाको हेरचाह सम्बन्धी प्रशिक्षण, १४ गते वक्तृत्वकला प्रतियोगिता, १५ गते दन्त परीक्षण, १६ गते शैक्षिक सामाग्री र खाजा हस्तान्तरण र १९ गते सम्मान कार्यक्रम, नृत्य प्रतियोगिता र समापन कार्यक्रम रहेको सुर्खेत महिला जेसीज वर्ष २०१८ का अध्यक्ष कृति गुभाजु शाक्यले बताइन् ।
साझा बिसौनी ।