‘पैसा नपुगेर साइन्स पढ्न पाइन“’

वीरेन्द्रनगर–१२ खोरियाकी भीमा दाहाल वि.सं. २०४९ माघ ७ गते साविकको रतु गाविस ७ काफलटाकुरामा जन्मिएकी हुन् । बुबा उमालाल दाहाल र आमा सावित्रा दाहालको कोखबाट जन्मिएकी भीमा सानैदेखि समाजसेवामा सक्रिय हुन्थिन् । विभिन्न बालक्लबमा आवद्ध भएर सामाजिक कुरितीविरुद्धका जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिन् । किसान परिवारमा जन्मिएकी भिमाको पढाइ पनि राम्रै थियो । एसएलसी पास गरेपछि साइन्स पढ्ने सपना बोकेकी भीमाको आर्थिक अभावका कारण उक्त सपना अधुरै रह्यो । हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा समाजशास्त्रमा बी.ए. दोस्रो सेमेस्टरमा अध्ययन गर्दै गरेकी भीमाले साझा बिसौनी सहकर्मी सीता वलीसँग आफ्नो कलेज लाइफ यसरी वर्णन गर्छिन्ः


साइन्स पढ्ने सपना अधुरो
मैले अमर ज्योति नमुना माध्यमिक विद्यालयबाट २०६७ सालमा एसएलसी उत्तीर्ण गरेकी हुँ । समावसेवाप्रति मेरो लगाव सानैदेखि थियो । साइन्स पढेर अशल शिक्षक बन्ने मेरो सपना थियो । शिक्षण पेशा पनि समाज सेवा अन्र्तगत नै पर्ने भएकोले साइन्स पढेर समाज सेवा गर्ने मेरो धोको आर्थिक अभावका कारण अधुरो भयो । साइन्स पढ्नका लागि आवश्यक रकम जुटाउन नसक्दा मेरो सपना अधुरो भएको हो । परिवारको चाहाना पनि मलाई साइन्स नै पढाउने थियो तर बाध्यता, पैसा बाधक भयो । त्यसपछि म अमरज्योतिमा नै समाजशास्त्र विषय पढ्न थालें । त्यो विषय पनि विकल्पमा मेरो र परिवारको ईच्छा नै थियो ।
कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन रमाइलो नै भयो । साइन्सको धोको अधुरो भए पनि म समाजशास्त्रमा नै रमाउने अठोट बोकेर हिँडेकी थिएँ । मैले विद्यालय पढेकै ठाउँमा कलेज लाइफको अनुभूति गर्न पाउँदा झन् धेरै खुशी थिएँ । विद्यालयमा सँगै पढेका साथीहरूसँग भेट भयो । कलेजबाट फर्कदा पनी उत्तिकै रमाइलो अनुभूति भयो । अब कसरी पढ्ने, कसरी आफ्नो भविष्य राम्रो बनाउने भन्नेतिर मात्रै हाम्रो ध्यान गयो । छलफलमै हामीहरूले कलेजको पहिलो दिन बितायौैं । विद्यालय र कलेजको पढाइमा फरक हुने रहेछ । विद्यालयमा शिक्षकले प्रत्यक्ष रूपमा प्रत्येक विद्यार्थीको निगरानी गर्ने तर कलेजमा त्यो वातावरण नहुँदो रैछ । कलेज लाइफमा मलाई सबैभन्दा रमाइलो चाहीं शिक्षकले राम्रोसँग बुझाउनुहुन्छ त्यो बेलामा आनन्द आउँछ । तर साथीहरूले एकदमै हल्ला गर्छन् शिक्षकले पढाएको बुझ्न अप्ठ्यारो हुन्छ त्यो बेलामा भने नरमाइलो लाग्छ । कलेजबाहेक म घरमा पनि धेरै पढ्ने गर्छु र आमालाई घरको काममा पनि सघाउने गर्छु ।
बर्सनै नसकिने क्षण
वि.सं. २०६९ साल जतिबेला म कक्षा १२ मा पढ्दै थिएँ । घरमा बुबा बिरामी भएर थला पर्नुभएको एकदुई वर्ष भइसकेको थियो । मेरो घर खोरियामा पर्छ, म भने नेवारेमा आण्टीको घरमा बसेर पढ्थें । मेरो अधिकांश दिन बुबाको चिन्तामा बित्थ्यो त्यो बेला । २०६९ साल पुसको महिनामा बुबा बितेको खबर मलाई अण्टीको घरमै रहँदा आइपुग्यो त्यो दिन सम्झिदा आज पनि मेरो आँखाबाट आँशु आउँछ । त्यसपछि मेरो कलेजको पढाइ अलि बोझिलो भयो । घरको जिम्मेवारी म माथि थपियो । बुबाको अभावमा भाइ र आमाको साहारा मलाई बन्नुपर्ने बाध्यता आइलाग्यो । कलेजलाई केही समय र केही समय घरको काममा मैले बिताएँ । बुबाको अभावमा हाम्रो परिवारलाई आर्थिक संकट आइलाग्यो । अहिले भाइ पनि कमाउने भएको छ । केही हदसम्म बुबाको भूमिका भाइले निभाएको छ ।
राजनीतिमा कहिल्यै रुची लागेन
कलेजमा विद्यार्थीहरूलाई राजनीति खुब लाग्ने रहेछ । यो पार्टी र त्यो पार्टी भन्दै पक्ष र विपक्षमा लाग्ने । तर मलाई राजनीतिमा कहिल्यै रुचि लागेन । विभिन्न पार्टीका भातृ संगठनका पछाडि विद्यार्थीको हुल हुन्छ । मलाई भने समाजमा कसैलाई दुःख प¥यो भने त्यहाँ गएर सहयोग गर्न मन लाग्ने । परिवारप्रतिको अभिभावकत्व भएर पनि होला म खुल्ला भएर कहिल्यै हिँड्न पाइन । कहिले काहीं त घरको कामको तनावले गर्दा पढ्नै नपरे हुन्थ्यो जस्तो पनि लाग्यो तर पढाइ विना पनि जीवनमा तनावै तनाव व्यहोर्नुपर्छ, त्यसैले पढ्न भने छोडिन । कलेजमा पनि क्लास बंक गर्ने, हल्ला गर्ने मेरो बानी कहिल्यै भएन । फिल्म हेर्न भने अण्टीसँग एकपटक मात्र गएको छु त्यो पनि बिदाको समय मिलाएर । प्रेम दुःख, सुख साट्ने माध्यम हो । मैले प्रेम त गरेको छु मेरो घरपरिवार र इष्टमित्रलाई ।
समाजसेवा नै मेरो लक्ष्य
जीवनमा पैसाका लागि पेशा त अपनाउनु नै पर्छ । चाहे जुनसुकै पेशा होस् । तर जुनसुकै माध्यमबाट भए पनि मेरो भविष्यको लक्ष्य भनेको समाज सेवा नै हो । समाजमा विकराल रूपमा रहेको सामाजिक कुरिती र कु–संस्कारलाई चिर्नको लागी मैले भूमिका खेल्ने छु । त्यो बाहेक दुःख परेकालाई सहयोग गर्न खुब मनपर्छ । रेडियो तथा पत्रपत्रिका पढ्न पनि मलाई उत्तिकै मनपर्छ ।