जवाफ के होला ?
क्रान्ति शर्मा
एक साहित्यिक समारोहको ठूलो कार्यक्रम सहरको ठूलो होटेलमा सञ्चालन गरिन्छ । निमन्त्रणा गरिएका व्यक्तिहरू एक–एक गर्दै होटेलको सभा कक्षमा प्रवेश गर्दै जान्छन् । मानिसहरूमा साहित्यप्रति एक किसिमको गहिरो रुची हुँदो नै रै’छ । भिड बढ्दै जान्छ । प्रत्येक व्यक्तिहरू आ–आफ्नो प्रकृतिका क्षेत्रका परिवेशका हुन्छन् । कोही लेखनमा रुची भएका, कोही पठनमा रुची भएका, कोही मनोरञ्जनमा… यस्तै यस्तै । कार्यक्रम औपचाकिर रूपमा सुरु हुन्छ । कोठाभित्र आउने–जाने प्रक्रिया निरन्तर नै हुन्छ ।
यसैक्रममा म पनि प्रवेश गर्छु । मेरो नाम दिपेश गौतम, मेरो रुची एकै ठाउँमा छैन, त्यसैले जवाफ लामो बन्दिन्छ । म भर्खर ठूलो दौडधुपबाट छुट्टिएर यस कार्यक्रममा पुगँे । म लेख्छु, पढ्छु, सुन्छु… यी सबै गतिविधि साहित्यिक रुची अन्तर्गत नै पर्दछन् ।
म कोठाभित्र प्रवेश गरेँ, मानिसहरूको भिड ठूलै रहेछ । तथापि पनि फस्र्ट लाइनमा राखिएका कुर्सीहरू मध्ये दुई वटा खाली रहेछन् । म एउटामा बसेँ । अब एउटा बाँकी नै थियो । विस्तारै एक–एक गर्दै सेशनहरू सुरु हुँदै गए ।
एक्कासी मेरा आँखा ढोकामा पुग्यो !
निलो कुर्ता, सुन्तला कलरको सुरुवाल, खुल्ला छोडिएको कपाल, मेकअप नै नगरिएको सुन्दर मुहार, खुलिरहेका ओठ, मुस्कुराहट, आहा । ऊ कोही नभएर समिरा थिइ ।
समिरासँग मेरो पहिलो भेट चार वर्ष अघि कलेजमा भएको थियो । त्यसपछिको यो नै पहिलो भेट हो । ऊ कत्तिपनि बदलिएकी रहिनछ । मुस्कुराउँदै मेरै छेऊमा आइ, आँखा घुमाउदै बसी । कत्ति राम्री देखिएकी, नबोली मनले मानेन, बोलीहालेँ ।
‘हाइ समिरा !’
‘हाइ दिपेश ।’
‘तिमी त झन राम्री भइछ्यौ त !’
‘हाहा… तिमी त अझै सुध्रिएन छौं ।’
‘तिमी पनि ! म कहिले पो बिग्रिएको थिएँ र ?’
कार्यक्रम चलिरहेछ । अझ उत्साहित त मन छ, मनमै बसेकी मान्छे आज म सँगै बसिरहेकी छिन् । उही मुस्कुराहट, लजालु नयन लिएर । मैले धेरै पहिले उनीलाई प्रेम प्रस्ताव राखेको थिएँ, खै उनी मेरो बारेमा के सोच्छिन् । यति लामो समय बित्दा पनि केही जवाफ नै दिइन । त्यसैले त भन्दा हुन,
‘ए इस्क नही आसान, य तो आगमा जरिया है…।’
उसलाई यति नजिकबाट आज बर्षौपछि देख्न पाउँदै छु । सोचिरहेछु कि यो कार्यक्रम अझै लम्बियोस्, रात बितोस्, बिहान बितास्, दिउँसो बितोस्…।
‘समिरा अचेल के गर्दै छेऊ नि !’
‘खासै केही छैन, अब १ वर्ष भित्रमा केही गर्नुपर्ला । अनि तिमी नी ?’
यो प्रश्न यति प्रिय लाग्यो कि म छिटोछिटो जवाफ दिएर अर्को प्रश्न मागीदिऊ तिमीबाटै यही सोचँे ।
‘म यस्तै त हो नि तिमीलाई थाहा छ नि ! आफनै मनोमानीमा जीवन चलाइरहेछु ।’
‘हो–हो !’
‘सुनन् समिरा ।’
‘भन !’
‘अनि विहे कहिले गछ्यौ ?’
‘धत् ! बिहे पनि कोही गर्छ । वेकारमा जिन्दगी वर्बाद गर्ने । यस्तो प्रश्न नसोध है म सँग फेरि रिसाइदिन्छु ।’
साथै यो मन अलिअलि खुशी पनि भयो । कि समिरा उस्तै रहिछे, विहे भन्न वित्तिकै यति किन रिसाउदी होली !
‘हा हा ! तिमी सधैं एक्लै बस्छेऊ त ?’
‘तिमी छौं त ।’
‘ह्वाट ? साच्चै म छु त ।’
‘हाउ फन्नी !’
यो केटी पनि त अच्चमकी छे । एकै छिनमा मन फुर्र बनाइदिन्छे, एकै छिनमा चुप्प ! तर जे गरे’नी मलाइ यही केटी मन पर्छ ।
‘समिरा ! तिमीले म छु भन्दा त संसारै जित्छु झै लाग्ने के ।’
ऊ मौन बसिदिइ । केही जवाफ नै दिइन । खै ऊ मेरो बारेमा के सोच्छे, कहिले भन्दै भनिने । तर उसका आँखाले धेरै बोले मसँग । म सब जान्दै थिएँ, आफ्नो बारेमा उसकै आँखामा ।
ऊ मुसाफिर जस्तै छे, बहुत अलग छे । बहुत प्रिय छे, ऊ बोल्दै नबोलोस् केही छैन, ऊ हेर्दै नहेरोस् केही छैन तर मलाई थाहा छ ऊ पनि मलाई प्रेम गर्छे । मैले भन्दा धेरै । म केटा मान्छे न हुँ, घमण्ड गर्न मन लागिहान्ने । म नै धेरै प्रेम गर्छु भनि जताउन खोज्ने । तर संसारमा साँच्ची केटी मान्छे जति प्रेम कसैले गर्दैन । त्यसैले त पर्खिरहेछु समिरा तिमीलाई नै बसाउने मनको ढोका खोली !
आफ्नै मनसँग गर्नुपर्ने हजार प्रश्न छन् । तिम्रै निम्ती बनाएका हजार योजना कार्यान्वयन विहीन छन् । तिम्रै निम्ती लेखिएका पत्र हजार छन् । तिम्रै निम्ती बनाएका शब्द हजार छन् ।
‘ओई…दिपेश कहाँ हराएको ।’
‘हँ… य–य कहिँ नाई ।’
म झस्के उसले मेरो बर्बराहटबाट ब्यूँझाइदिन्छ । कार्यक्रम सकियो । विस्तारै सबै बाहिर निस्किए, मलाइ उठ्न पटक्कै मन थिएन, ऊ पनि उठिन । सबै गए बाँकी म र समिरा मात्रै थियौं ।
‘दिपेश घर जाने होइन ?’
‘जाने हो, अनि तिमी किन बसेकी नि ?’
‘तिमी उठेनौ त अनि ।’
‘ओ… मलाई पर्खिएकी ?’
‘नाइ होइन । मख्ख पर्नुपर्दैन । जाऊ हिँड…।’
‘नाइ तिमी जाऊ म जान्न ।’
‘किन ?’
‘मलाई तिमीसँग यति छोटो यात्रा होइन जिन्दगीको लामो यात्रा सँगै गर्नुछ । तिमी बुझ्दै बुझ्दिनौ ।’
‘म आफ्नै त कुरा बुझ्दिन, तिम्रो कसरी बुझ्नु ।’
‘प्लिज, एक पटक आफ्नो मनसँग सोधी त हेर तिमी पनि मलाई प्रेम गछ्र्यौ ।’
‘प्लिज म त्यसै त बेचैनीमा छु, झन् बेचैनी नबढाइदेउ…वाइ म गएँ ।’
‘ओके ! तर …’
‘तर के …?’
‘आइ लभ यु समिरा !’
भित्ताको सिसा फ्रेम भुइँमा खस्छ र झरामझुरुम फुट्छ । म झसंग हुन्छु । बाहिर त हुरी बतास चलेको रै’छ । झरी पनि बेस्सरी परेको रै’छ । वरपर कागजका टुक्रा कोठाभरी भइसके छन् ।
छिटोछिटो उठेर झ्याल बन्द गर्छु । विस्तारै पर्दा खोलेर बाहिर हेर्छु ।
बाफरे अघीका हर शब्द सम्झिन्छु ! म सपनामा रहेछु । सँच्चै समिराको जवाफ के होला !
मोबाइलमा घण्टी बच्छ, समिराको फोन रहेछ । उठाउँछु,
‘हेल्लो समिरा ?’
‘ओहो ! घडी हेर त कति बज्यो । तिमीले मलाई ८ बजे भेट्छु भनेर बोलाएको हैन । कहाँ छौं तिमी ?’
‘अरे वाफरे, ल म आइहालेँ । नरिसाउ है, एकैछिन् पर्ख ।’
भेट्न जानुपर्ने मान्छे निन्द्रा मै पो रहेछु । अब समिरासँग मेरो प्रेमको जवाफ माग्न जाँदैछु जवाफ के होला !
साझा बिसौनी ।