त्रिदेशीय सडक निर्माण सुरु
चीन र भारतसँग सडकमार्गले जोडिदैं कर्णाली
साझा बिसौनी संवाददाता
सुर्खेत, ७ जेठ ।
कर्णाली प्रदेशलाई दुई छिमेकी मुलुक दक्षिणतर्फको भारत र उत्तरतर्फको चीनसँग सडकमार्गले जोडिने भएको छ । भारतदेखि नेपालको कर्णाली प्रदेश हुँदै चीनसम्म जोड्ने सडकमार्ग निर्माणको काम अघि बढेको छ ।
संघीय सरकारको क्षेत्र अन्तर्गत प्रादेशिक सडक नाम दिइएको सडकको निर्माण सोमवारदेखि सुरु भएको हो । प्रदेश सरकारको प्राथमिकतामा परेको दैलेखको माथिल्लो डुङ्गेश्वरदेखि दुल्लू सडक खण्डको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिलान्यास गरेका छन् । उनले डोजर चलाएर सडकको शिलान्यास गरेका हुन् ।
जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना जोड्ने यो त्रि–देशिय सडकलाई प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा राख्न संघीय सरकारसँग पहल समेत गरिरहेको छ । यद्यपि प्रदेश सरकारको सञ्चित कोषबाट केही बजेट विनियोजन गरेर अहिले सडक निर्माणको काम सुरु गरिएको हो । उक्त सडक निर्माणका लागि प्रदेश सरकारले तीन करोड ३६ लाख १६ हजार रूपैयाँ विनियोजन गरेको छ । सोही बजेटबाट सडक निर्माणको काम सुरु गरिएको हो । बाँकेको जमुनाहदेखि कोहलपुर–दैलेख–मुगुको नाग्चेलाग्ना हुँदै चीनको सीमासम्म जोड्ने उक्त सडक निर्माणलाई प्रदेश सरकारले पहिलो विनियोजन विद्येयकमा महत्वका साथ प्रस्तुत गरेको थियो । प्रदेश सरकारको यो सडक योजना पूर्णरूपमा निर्माण भए कर्णाली प्रदेश सडकमार्गमार्फत् दक्षिणमा भारत र उत्तरमा चीनसँग जोडिने छ । सडकको निर्माणको जिम्मा केएसके निर्माण कम्पनीले पाएको छ ।
सडकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको समृद्धिका लागि यो सडक कोशेढुङ्गा सावित हुने बताए । ‘यो सडक कर्णालीको समृद्धिको ढोका हो’ शाहीले भने, ‘यसको निर्माण भएमा कर्णाली प्रदेशको व्यापार भारत र चिनसँग सिधा जोडिनेछ र त्यसले यहाँको अर्थतन्त्रको विकासमा सघाउ पुग्नेछ ।’ उनले सरकार र नागरिकको प्रत्यक्ष निगरानीमा सडक निर्माण हुनेसमेत बताए । साथै शाहीले कर्णालीको समृद्धिसँग जोडिएको सडक निर्माण आम नागरिकलाई पनि जोडिन आग्रह गरे । ‘सडकसँगै हामीले हाम्रो कर्म गर्ने बानीमा पनि परिवर्तन गर्नसके दैनिकीमा पनि परिवर्तन आउनेछ’ उनले भने, ‘सबैले माटो खन्न पसिना बगाए मात्रै कर्णालीमा समृद्धि आउनेछ ।’
उनले दुई छिमेकी मुलुकसँगको व्यापार वृद्धि नगरेसम्म कर्णालीको अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले प्रदेश सरकारले यो त्रिदेशीय सडकलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले यसलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गर्ने पनि जनाए ।
सडक शिलान्यासकै क्रममा मुख्यमन्त्री शाहीले विकासका लागि नागरिकले आफ्नो व्यवहार र चिन्तनमा पनि परिवर्तन ल्याउनुपर्ने बताएका छन् । कुनै पनि काम गर्दा भाषणमुखी हुनुभन्दा काममा केन्द्रित हुनुपर्ने बताए । शाहीले थपे, ‘आज माटो कोट्याएर काम सुरु होला भन्ने सोचमा थिएँ, तर यहाँ भाषण गर्न मञ्च पनि बनाइएको रहेछ,’ उनले थपे, ‘एक मिनेट माटो कोट्याउने, दिनभर भाषण गर्ने प्रवृतिले हाम्रो उन्नती कसरी हुन्छ ?’ उनले अब भाषणमुखी कार्यक्रमहरूलाई बन्द गर्दै लैजानुपर्ने बताए ।
बाहिरको कोही आएर कर्णालीको विकास नगर्ने भएकाले स्थानीय नागरिक नै कर्णाली बनाउन कस्सिनुपर्ने उनको भनाइ थियो । ‘बुढालाई अरुका कुरा काट्नै ठिक्क, युवाहरू फेसबुकमै मस्त छन्’ उनले भने, ‘यही तालले कसरी बाटो पीच हुन्छ, देश भाषण गरेर, कथा कविता लेखेर वा फेसबुकमा कसैको विरोध गरेर बन्दैन । देश बनाउन पसिना बगाउनुपर्दछ, भाषण गर्नमै समय खर्च नगरौं ।’
यस्तै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकारको नीती तथा कार्यक्रम कार्यान्वयनमा रहेको बताए । उनले कुनै पनि
योजना कार्यान्वयन गर्दा प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्ने बताए । ‘लक्ष्य ठूला ठूला लिन्छौं, गुणस्तरियता र पारदर्शीताका कुरा गर्छौ । तर आयोजनामा ४० प्रतिशत भन्दा बढी घट्नुपर्ने व्यवस्था छ’ उनले भने, ‘अब यो बिलो जाने प्रथाले कसरी गुणस्तरीय काम हुन्छ ?
तीन करोडको योजना बनाउने, तर ४० प्रतिशत घट्दा बजेटको आकार कति बाँकी रहन्छ ?’ उनले प्रदेश सरकारले अब आफ्नै सार्वजनिक खरिद ऐन बनाएर १५ प्रतिशत भन्दा बढी घट्न नपाइने व्यवस्था गर्ने बताए । साथै उनले विना तयारीका योजनाहरूमा अब बजेट नछुट्याइने दाबी गरे । हचुवाका भरमा रकम बाँड्दा दुरूपयोग भएको भन्दै बजेट विनियोजनमा समेत कडाइ गरिने उनको भनाइ छ ।
साझा बिसौनी ।