एमयूको सम्पर्क कार्यालय खारेज

सुर्खेत, १० जेठ । (साबिस)
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय (एमयू) को सम्पर्क कार्यालय खारेज गरिएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको एमयूको काठमाडौंस्थित सम्पर्क कार्यालय खारेज गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बिहीवार मन्त्रीस्तरीय निर्णय गर्दै एमयूसहित ११ वटा विश्वविद्यालयका काठमाडौंमा रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन् । पूर्वाञ्चल, पोखरा, कृषि तथा वनलगायतका ११ विश्वविद्यालयको केन्द्रीय
कार्यालय काठमाडौं उपत्यकाबाहिर रहेको छ । यस्ता सम्पर्क कार्यालयहरूको खास भूमिका र प्रभाव नरहेकोले हटाउने निर्णय भएको मन्त्री पोखरेलका निजी सचिव पुष्प ढकालले बताए । मन्त्री पोखरेलले उपत्यकाबाहिरका विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंबाट तत्काल हटाउन पनि निर्देशन दिएका छन् ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७५, शुक्रबार १५:४१