रूपन्देहीको उत्कृष्ट प्रदर्शन जारी

सुर्खेत, ७ जेठ ।
कर्णाली प्रिमियर लिग (केपीएल) मो रूपन्देही–११ ले आफ्नो उत्कृष्ट खेल प्रदर्शनलाई जारी राखेको छ । प्रतियोगिता अन्तर्गत आफ्ना तीन वटै खेलमा उसले उत्कृष्ट प्रदर्शन गर्दै विजयी यात्रालाई कायमै राखेको छ ।
सोमवार भएको आफ्नो तेस्रो खेलमा कप्तान शक्ति गौचनको अलराण्ड प्रदर्शनमा रूपन्देहीले अर्को बलियो टोली टिकापुर क्रिकेट क्लबलाई ६१ रनले पराजित गर्दै तेस्रो जीत दर्ता गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको रूपन्देहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । उसका लागि सौरभ खनालले ६ चौका र एक छक्काको मद्यतमा सर्वाधिक ३३ रन बनाए । यस्तै कप्तान शक्ति गौचनले २६, विक्रम भुषालले १८, कृष्ण कार्कीले १६ तथा सन्दिप सुनारले १५ रनको योगदान दिए । बलिङ्गतर्फ टिकापुरका अमर रावलले तीन, ललित प्याकुरेल र प्रकाश रावलले समान दुई÷दुई तथा आयुव चन्दले एक विकेट लिए ।
एक सय ६६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको टिकापुर १८ ओभरमा एक सय चार रनमा अलआउट हुन पुग्यो । उसका लागि राजन शेरचनले २१, सुशन कार्कीले १६ तथा अजय विष्ट र प्रकाश रावलले १२÷१२ रन बनाए । बलिङ्गतर्फ रूपन्देहीका कप्तान शक्ति गौचनले तीन ओभरमा १६ रन मात्र खर्चिर तीन विकेट लिए । त्यस्तै विकास श्रेष्ठले चार ओभर बलिङ्ग गरेर १८ रन दिएर तीन विकेट नै लिए भने भुवन कार्कीले दुई तथा सन्दिप सुनार बसिर अहमदले एक÷एक विकेट लिए । खेलको म्यान अफ द् म्योच शक्ति गौचन भए ।
रूपन्देहीले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा भेरीगंगा क्लबलाई आठ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडीहरूले भरिएको त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै आफ्नो विजयी यात्रालाई अगाडि बढाएको रूपन्देहीले आज टिकापुरलाई ६१ रनको फराकिलो अन्तरले पराजित गरी उत्कृष्ट लय कायम राखेको छ । टिकापुरले यसअघिका दुई वटा खेल जिते पनि तेस्रो खेलमा पराजय भोगेको हो ।
सोमवार नै भएको अर्को खेलमा मध्यपश्चिम क्रिकेट क्लबले एबीसी स्पोर्टस् क्लब सुर्खेतलाई १० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको मध्यपश्चिमले १५ ओभरमा घटाइएको खेलमा एबीसीलाई एक सय ३९ रनको लक्ष्य दिएको थियो । उसले १५ ओभरमा चार विकेटको नोक्सानीमा एक सय ३८ रन जोडेको हो ।
मध्यपश्चिमका लागि ओपनर राजवीर सिंहले नटआउट ६८ रन जोडे भने सुवेन्दु पाण्डेले १६, अमरसिंह रतौलाले १५ र प्रनिता थापाले १२ रनको योगदान दिए । बलिङ्गतर्फ एबीसीका अरुण ऐरीले दुई तथा सुनिल मिश्र र दिनेश पुनले एक÷एक विकेट लिए । एक सय ३९ रनको लक्ष्य पछ्याएको एबीसी १५ ओभरमा आठ विकेट गुमाउँदै एक सय २९ रनमा समेटियो । उसका लागि आयुशमान बमले सर्वाधिक ३२ र सागर भण्डारीले २३ रनको योगदान दिए ।
बलिंगतर्फ मध्यपश्चिमका अविनाश बोहोराले दुई तथा भीम धमला, अमरसिंह रतौला, दिपेन्द्र रावत र अजय सहानीले एक÷एक विकेट लिए । उक्त खेलको म्यान अफ दि म्याच राजवीर सिंह भए । प्रतियोगितामा दुई खेल खेलेको एबीसीले दुवै खेल गुमाएको छ भने तीन वटा खेल खेलेको मध्यपश्चिमले दुईमा जीत र एकमा हार बेहोरेको छ ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७५, मंगलवार १६:०७