दुर्घटना रोक्न प्रहरीको ‘पावर फर्मूला’

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ जेठ ।
गत वैशाख २६ गते वीरेन्द्रनगर–८ खजुरामा अटो रिक्सा दुर्घटना भयो । विपरित दिशाबाट आइेहेको मोटरसाइकल र अटो रिक्सा ठोक्किदा चार जना घाइते भए । कारण थियो, अटोरिक्सा तीव्र गतिमा हुनु र मोटरसाइकलले अगाडि गुडिरहेको बसलाई उछिन्न खोज्नु । चार लाइनको निर्माणाधिन साँघुरो सडक, तीव्र गतिमा गुड्ने सवारी साधनका कारण वीरेन्द्रनगरमा साना सवारी साधन दैनिक जसो दुर्घटनामा पर्ने गरेका छन् । तीव्र गतिमा गुड्ने सवारी साधनका कारण छोटो दूरीको यात्रा गर्दा यात्रुले ज्यान नै जोखिममा राख्नुपरेको छ ।


सडक दुर्घटनाका कारण नागरिकको ज्यान जोखिममा पर्न थालेपछि बढ्दो दुर्घटना रोक्न प्रहरीले ‘पावर फर्मूला’ अवलम्बन गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका डीएसपी वीरबहादुर वलीले भने ‘पछिल्लो समयमा दुर्घटना बढ्नुको कारण ‘पावर’ बारे चालक जानकार नहुनु हो । करिब ५० प्रतिशत दुर्घटना रोक्न चालकहरूले पावर बुझ्नुपर्छ ।’ ‘पावर’ अर्थात् पी.ओ.डब्लू.ई.आर. लाई प्रहरीले आफ्नो फर्मूला बनाएको हो । ‘पी’ ले सवारी साधनको क्षमता जाँच, ‘ओ’ आयल अर्थात् तेल छ वा छैन, ‘डब्लू’ वर्क अर्थात् काम गर्छ कि गर्दैन, ई (ईलेक्ट्रीसीटी) अर्थात् विद्युतको अवस्था के छ, ‘आर’ रवर अर्थात् टायरले काम गर्छ या गर्दैन भन्ने बुझेर सवारी चालक यात्रामा निस्किए दुर्घटना न्यूनीकरण गर्न सकिने प्रहरीको विश्वास छ । अधिकांश दुर्घटना ब्रेक फेल, तीव्र गति, ट्राफिक नियमको उल्लंघनबाट हुने गरेकाले गाडीको अवस्थाबारे चालकले पूर्व जानकारी लिनुपर्ने डीएसपी वलीले बताए ।
दैनिक जसो दुर्घटना बढेपछि न्यूनीकरण गर्न प्रहरीले सवारी चालकलाई ‘पावर फर्मूला’ सिकाउन थालेको हो । वीरेन्द्रनगरभित्र सञ्चालनमा आएका रिक्साबाट हुने दुर्घटना रोक्न चालकहरूलाई प्रशिक्षण दिएको प्रहरीले ‘पावर’ अभियान नै सुरु गरेको हो । अभियानका क्रममा नगरभित्र गुड्ने अटो रिक्साको अभिलेख राखिएको छ । चालकलाई ट्राफिक नियमको पालना गर्छु भन्ने प्रतिबद्धतासहित अटो रिक्सा नम्बर, चालकको नाम, चालक अनुमति पत्र भए÷नभएको बारेमा प्रहरीले अभिलेख राखेको हो । दुर्घटना रोक्न विभिन्न अभियान सञ्चालन गरे पनि साँघुरो सडक, चालकको लापरबाही, ट्राफिक नियमको पालना नगर्नु, व्यवस्थित पार्किङ्ग अभावका कारण दुर्घटना न्यूनीकरणमा चुनौती भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कवि सेञ्चुरीले बताए । उनका अनुसार पछिल्लो समयमा ट्राफिक नियमको उल्लंघन बढ्दै गएको छ । शिक्षित र समाजको नेतृत्व तथा अगुवाबाटै ट्राफिक नियमको उल्लंघन हुने गरेको हो । मुख्य राजमार्ग, बजार क्षेत्रमा जाँचका क्रममा सवारी साधनलाई कारबाही गर्दा समाजको नेतृत्वपंक्तिमा रहेका व्यक्तिबाटै विना जरिवाना छुटाउन दबाब दिने गरिएको प्रहरीको भनाइ छ । ‘ओभर लोड बोकेको हुन्छ, पक्राउ ग¥यो । शक्ति देखाउँदै छुटाइदिन फोन आउँछ’ उनले भने, ‘समाजमा गल्ती गर्ने व्यक्तिले सजाय वा जरिवाना तिर्नु भन्दा पनि दबाब दिने प्रचलन बढेको छ ।’ सवारी साधन चलाउँदा सडक नियमको पालना नगर्नु कानुनको उल्लंघन हो । तर, ट्राफिक नियमको उल्लंघन हुँदा राजनीतिक दलका प्रमुख, अगुवाहरूबाटै कारबाहीमा परेका सवारी
साधन छोड्न प्रहरीलाई दबाब दिने क्रम बढ्दै गएको उनले बताए । ‘गल्ती अनुसार जरिवाना तिर्न लगाउनुको साटो दबाब दिने चलन धेरै छ’ उनले भने, ‘सिंगो प्रहरीले मात्रै सवारी दुर्घटना न्यूनीकरणमा गर्न सम्भव छैन, आम नागरिकको साथ प्रहरीलाई आवश्यक छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ठूला ३६ वटा दुर्घटना भएका छन् । जसमा तीन ट्रक, तीन जीप, ६ ट्याक्टर, ११ बस, १० मोटरसाइकल र तीन अन्य सवारी साधन दुर्घटना भएका थिए । प्रहरीको तथ्यांक अनुसार यो अवधिमा २८ जनाको मृत्यु भएको छ भने ९१ जना गम्भीर घाइते भएका छन् । तथ्यांक अनुसार साना सवारी साधन मोटरसाइकल र अटोरिक्सा धेरै दुर्घटना हुने गरेका छन् । दैनिक चेकिङ्ग, हाइवे गस्ती, मोबाइल गस्तीसँगै विभिन्न अभियान सञ्चालन गरेको प्रहरीले दुर्घटना न्यूनीकरण नभएपछि चालकहरूलाई दुर्घटना रोक्ने पूर्व तयारीबारे सिकाउन थालेको हो ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७५, आईतवार १६:११