काव्यश्रृंखलामा गुन्जिए चार गजलकार
साझा बिसौनी संवाददाता
सुर्खेत, ५ जेठ ।
काव्यश्रृंखला ‘ख’ मा चार युवा गजलकारले आफ्ना उत्कृष्ट गजल वाचन गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजले आयोजना गर्ने विशेष गजल वाचन कार्यक्रम अन्तर्गतको शनिवार भएको काव्यश्रृंखला ‘ख’ मा चर्चित गजलकारहरू खगेन्द्र अटल, भरत प्रमोद दहाल, ईश्वर दाहाल र संगीता थापाले आफ्ना गजल वाचन गरेका हुन् ।
चर्चित युवा गजलकारहरूको गलजवाचनले जिल्ला समन्वय समितिको सभाहल गुञ्जायमान भएको थियो । दर्शकहरूको बाक्लो उपस्थितिमा वर्तमान चर्चित गजलकारहरूले आफ्ना प्रस्तुती राखेका थिए । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई प्रमुख अतिथि बनाएर गजलकारहरूले आफ्नो गजलमार्फत् कर्णालीको वास्तविकता दर्शाएका थिए ।
पछिल्लो समय नेपाली गजल क्षेत्रमा उदयमान महिला गजलकार संगीता थापा, ईश्वर दाहाल, भरतप्रमोद दाहाल र खगेन्द्र अटलले वर्तमान समयमा देशको परिस्थिति र सरकारले लिनुपर्ने दायित्वलाई गजलमार्फत् दर्शाएका हुन् । ग्रामीण क्षेत्रका नागरिकले सरकारबाट अपेक्षा गरेको विकास र नेतृत्वबाट त्यो प्रतिबद्धता पूरा हुन नसकेको भन्दै मन्त्रीलाई गजलमार्फत् नै ध्यानाकर्षण गराए ।
चारजना श्रष्टाहरूको गजल प्रस्तुतिपछि मन्त्री भण्डारीले कर्णाली अझै पनि दुई दशकसम्म चाहे जस्तो विकासको स्वरूपमा आइनसक्ने बताए । सदियौंदेखि पछाडि पारिएको कर्णालीले आफ्नो स्वरूप परिवर्तन गर्न समय लाग्ने भन्दै जनताको अपेक्षाहरू कर्णाली सरकारले विस्तारै पूरा गर्दै लैजाने प्रतिबद्धता जनाए । ‘साहित्य समाजको जीवन्त रूप हो, हामीकहाँ सधै वेदना र दुःखले भरिएका साहित्य मात्रै सिर्जित हुनु विडम्बना हो ।’
साझा बिसौनी ।