‘पढाइभन्दा ठूलो अरु केही छैन’
चौकुने गाउँपालिका–९ घाटगाउँका अमरबहादुर विक वि.सं. २०४९ सालमा बुवा मन्दिरे विक र आमा रंगादेवी विकको कोखबाट जन्मिएका हुन् । सरस्वती माध्यमिक विद्यालय घाटगाउँबाट वि.सं. २०६४ सालमा एसएलसी उत्तीर्ण गरेका उनका घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण परिवारले कमाउनको लागि भारत पठाउने सल्लाह गरेका थिए ।
अमर केही महिना त पैसा कमाउनको लागि भारत नगएका पनि होइनन् । महिनाको एक हजार चार सय रुपैयाँ पारिश्रमिक पाउँथे । रातदिन दुःख गर्नुपर्दा अमरलाई लाग्यो जसरी भएपनि बुबाआमालाई मनाएर नेपालमै आएर पढ्नुपर्छ । त्यही सोच लिएर नेपाल फर्किए । घरमा आएर आमाबुबालाई सम्झाइदिनको लागि उनले गाउँकै एकजना शिक्षकलाई अनुरोध गरेपछि बुबाआमाले उनलाई विद्यालय पठाउन तयार भए । वि.सं. २०६७ सालमा जनता बहुमुखी क्याम्पस विद्यापुरबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका गरेका अमर अहिले सुर्खेत क्याम्पस शिक्षामा एम.एड. तेसा्रे वर्षमा अध्ययनरत छन् । पढ्नकै लागि जीवनमा धेरै संघर्ष गरेका अमर विकले आफ्नो कलेज लाइफका संघर्ष कथा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी राखेः
के विषय पढ्ने सोच्नै सकिनँ
प्रायः एसएलसी उत्तीर्ण गरेपछि के पढ्ने भन्ने सोच सबै विद्यार्थीले बनाएका हुन्छन्, त्यो पनि ९÷१० कक्षा पढ्दै गर्दा । त्यो सोच म मा पनि आउनुपर्ने हो तर गरिबीकै कारण मैले के विषय लिएर ‘प्लस टू’ पढ्ने भन्ने सोच्नै सकिनँ । धनी परिवारमा जन्मिएका विद्यार्थीहरूलाई त सहज होला तर म जस्तो एकदम गरीब परिवारमा जन्मिएको विद्यार्थीको लागि प्लसटूको सपना पनि पूरा हुन्छ कि हुँदैन भन्ने तिरै ध्यान हुँदो रहेछ । मैले वि.सं. २०६४ सालमा सरस्वती उच्च माध्यमिक विद्यालय घाटगाउँबाट एसएलसी उत्तीर्ण गरेको हुँ । एसएलसी गरिसकेपछि मेरो बुबाआमाले भने मलाई नपढाउने सोचमा हुनुहुन्थ्यो । त्यो कारण अरु केही नभइ गरिबी थियो । कमाउनको लागि भारत पठाउने सोचमा मेरो बुबा आमा तर मलाई असाध्यै पढ्न मन । तर पनि म पैसा कमाउनको लागि केही महिना भारत पसें । त्यहाँ भने जस्तो पैसा कमाउन नसकेपछि म नेपाल फर्कने निधोमा पुगें । आमाबुबालाई मनाउनको लागि मैले गाउँकै एकजना शिक्षकलाई आग्रह गरें, उहाँले सझाएपछि म प्लस टू पढ्न पाएको हुँ । तर के विषय पढ्ने भन्ने मैले सोच्नै सकिनँ । जे पढेपनि पढ्न पाएकोमा खुशी पनि थिएँ । सल्लाह सुझाव दिने पनि कोही थिएनन् । मैले नेपाली विषय लिएर प्लस टू पढ्न शुरु गरें ।
कलेजको पहिलो दिन
म कलेजको पहिलो दिन भुल्नै सक्दिनँ । किनकी मैले धेरै संघर्ष गरेर पढ्ने अवसर पाएको थिएँ । धन्नै गुमेको अवसर पाएकोमा म यसै पनि खुशी थिएँ । त्यसमा पनि कलेजमा कक्षा १२ का दाईदिदीहरूले स्वागत कार्यक्रम राख्नुभएको दिन नै मेरो कलेजको पहिलो दिन थियो । मलाई एकदमै खुशी लाग्यो । कलेजमा त साँच्चिकै रमाइलो पो हुँदोरहेछ भन्ने लाग्यो । कलेजबाट फर्किएपछि पनि मेरो खुशी त्यत्तिकै थियो । मैले मुस्किलले पाएको अवसरलाई सही सदुपयोग गर्नुपर्छ भन्ने सोचिरहें । कलेजको पढाइ र विद्यालयको पढाइमा मैले धेरै अन्तर पाएँ । विद्यालयमा नीति, नियम र अनुशासनको पालना बढी गर्नुपर्ने । पढाइ बाहेकका अतिरिक्त क्रियाकलाप गर्न त्यति नपाइने तर कलेज लाइफमा फराकिलो वातावरण पो पाइदो रहेछ । कलेजबाहेक मैले घरमा दुई÷चार घण्टा मात्र पढ्ने गर्दछु । अरु समय मेरो सामाजिक क्षेत्रमा नै बित्ने गर्दछ ।
फिल्म हेर्न असाध्यै मनपर्छ
मलाई फिल्म हेर्न अशाध्यै मनपर्छ । मैले थुप्रै फिल्म पनि हेरेको छु तर सामाजिक कुरिती र कु–संस्कारविरुद्धका फिल्म बढी मनपर्छन् । ‘झोला’ फिल्म त मैले धेरै पटक हेरेको छु हलमै गएर । क्लासै छोडेर त फिल्म हेर्न गएको छैन र क्लास बंक पनि कहिल्यै गरिनँ । गरीब परिवारबाट ठूलो सपना बोकेर आएको मलाई पढाइ भन्दा ठूलो अरु केही पनि लागेन । प्रेम दुई आत्माको मिलन हो जो आफै हुन्छ । सुख दुःख साट्ने माध्यम पनि प्रेम हो । मैले प्रेम गरेको छु, प्रेमलाई विवाहमा पनि परिणत गरिसकेको छु ।
कलेजको राम्रो पक्ष भन्नुपर्दा सबै राम्रै छन । फराकिलो वातावरण पाइन्छ कलेजमा । जीवनको शुरुवात नै कलेज लाइफबाट हुन्छ । कलेजको नराम्रो पक्ष भनेको शिक्षक र विद्यार्थीबीच त्यती तालमेल भएको हुँदैन त्यो भने मलाई नराम्रो लाग्छ । पढ्नै नपरे जस्तो त मलाई कहिल्यै पनि लाग्दैन किनकी पढाइ जीवनको उपलब्धि हो हरेक कुरा शिक्षाको माध्यमबाट प्र्रात गर्न सकिन्छ ।
बुबाको अभावपछि झन् ठूलो आपत् आइलाग्यो
म एकदमै गरीब परिवारमा जन्मिएको हुँ । हामी चार भाइबहिनी बुबाले मिस्त्री काम गरेर ल्याएको पैसाले घरमा खाना खर्चदेखि मेरो पढाइ खर्चसम्म व्यहोर्नुहुन्थ्यो । मलाई विद्यापुरमा प्लस टू पढ्दा घरभाडा तिर्न र कलेज फि तिर्न पनि धौ–धौ पथ्र्यो । बुबाको २०६७ सालमा मृत्यु भयो । हाम्रो संयुक्त परिवार १२ जनाको थियो । बुबाको अभावपछि जीवनमा झन ठुलो आपत् आइलाग्यो । म पछि घरभाडा तिर्न नसकेर ठूलोबुबाको घरमा बसेर पढ्न थालें । घरमा अरु आयस्रोत कही पनि थिएन । बुबाको कमाइमा हाम्रो संयुक्त परिवार बाँचेको थियो । बुबाको निधनपछि हामी थप समस्यामा परेका थियौं ।
जीवनको पहिलो कमाई दुई हजार
घरको आर्थिक अभाव थेक्न नसकेपछि मैले पनि केही गर्नुपर्छ भन्ने मनमा आयो र म शिक्षण पेसा अपनाउन थालें । श्री ज्ञानोदय प्राथमिक विद्यालय घाटगाउँमा निजी स्रोतबाट महिनाको दुई हजार रूपैयाँ तलब दिएर मलाई शिक्षक नियुक्ति गरियो । मैले करिब ६ वर्ष जति त्यो विद्यालयमा शिक्षण गरें । विद्यालयमा शिक्षण गर्दा–गर्दै किडार्क नेपालद्वारा सञ्चालित संवाद कार्यक्रमको सहजकर्ताको रूपमा काम गर्ने अवसर मिल्यो । नौ महिना जति संवाद कार्यक्रम सञ्चालन गरिसकेपछि विस्तारै सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्यो । त्यसपछि मेरो जीवनले अर्कै मोड लियो । अहिले आशा सञ्जालको अध्यक्षको रूपमा काम गरिरहेको छु । वास्तवमा संवादले मलाई यहाँसम्म पु¥याएको हो । मलाई कार्यक्रम सञ्चालन गर्न एकदमै मनपर्छ । गाउँघरमा हुने धेरै कार्यक्रमहरू म आफैले सञ्चालन गर्छु । भविष्यमा युवाहरूको नेतृत्व गरेर अगाडि बढ्न मन छ । तर राजनीतिमा देखिएर लागेको छैन ।
साझा बिसौनी ।