एमाले र माओवादीबीच औपचारिक एकता

साझा बिसौनी संवाददाता
काठमाडौं, ३ जेठ ।
दुई प्रमुख वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको औपचारिक घोषणा गरेका छन् । गत असोज तेस्रो साताबाट चुनावी गठबन्धनको घोषणाबाट ढोका खुलेको एकता प्रक्रियाले शुक्रवार औपचारिकता पाएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाका चुनावमा दुई तिहाइभन्दा बढी बहुमत ल्याएका यी दलले गत फागुन ७ मा एकता सम्बन्धी औपचारिक पत्रमा हस्ताक्षर गरेका थिए । त्यसलाई औपचारिक निचोडमा पु¥याउन दुवै दलले करिब तीन महिना समय लगाए । दुई ठूला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ ।
पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने नौ सदस्यीय सचिवालय बनाइएको छ । यो दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ । एसियामा चीन र भियतनामपछि तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ । ६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरूले आफूहरूको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका छन् ।
नाममा ‘अण्डरलाइन’ एकता घोषणाअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसेको थियो । नेताहरूले त्यही सामूहिक सपथ लिए । लगत्तै अध्यक्षद्वयले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले अण्डरलाइन दिइएको हो । यद्यपि आयोगले निर्णय गरेको छैन । पुनर्गठित पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवादउन्मुख जनताको जनवाद’ हुने भएको छ । एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवाद भन्दै आएको थियो । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ । अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताब्दीको जनवादबाटै लिइएका छन् ।
नौ सदस्यीय केन्द्रीय सचिवालय पुनर्गठित पार्टीले दैनिक कार्यसञ्चालनका लागि नौ सदस्यीय केन्द्रीय सचिवालय बनाइएको छ । पार्टी एकता संयोजन समितिमा एक सदस्य थपेर सचिवालय बनाइएको हो । पार्टीमा दुई अध्यक्ष ओली र प्रचण्ड रहनेछन् । कार्यकारी अधिकार दुवै अध्यक्षमा हुनेछ । त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् । श्रेष्ठलाई प्रवक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ । एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट दुई सय ४१ र माओवादीबाट दुई सय नेता राख्ने सहमति भएको छ ।

विलय होइन अन्तर्घुलितः ओली
नेपाल कम्युनिष्ट पार्टीमा सह–अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो पार्टी चलाउनु जहाज उडाउनु जत्तिकै भएको टिप्पणी गरेका छन् । ओलीले पार्टीमा दुई अध्यक्ष राख्नुको औचित्यबारे प्रष्ट पार्दै ठूलो पार्टी चलाउनु जहाज उडाउनु जस्तै भएकाले दुई जना अध्यक्ष राखिएको बताए ।
उनले भने, ‘टेम्पु चलाए जस्तो होइन, जहाजमा दुई पाइलट हुन्छन् ।’ ओलीले दुई पार्टी मिसिएको नभइ घोलिएको बताए । हाइड्रोजन र अक्सिजन मिलेर पानी बने जस्तै गरी पार्टी एकीकरण भएकाले अब दुई पार्टी छुट्टिन नसक्ने ओलीले बताए । आगामी चुनावमा आफूहरूको पार्टीले तीन चौथाइ ल्याउने दाबी समेत उनले गरेका छन् ।
आफूहरू कुनै रूपमा विलय भएको नभइ अन्तर्घुलित भएको ओलीले प्रष्ट पारे । ‘हिन्द महासागरमा गएर कोशी, कर्णाली र सेतीको पानी खोजेर हुँदैन,’ उनले भने, ‘अघिसम्म अर्कै पार्टीका नेता थियौं अब दुवै पार्टी सिद्धिए । हेर्दाहेर्दे दुवै पार्टी एकअर्कामा बिलाए । दुवै मिसिएर एकीकृत रूपमा आए ।’

अस्थिरता अन्त्य भयोः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका सह–अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब मुलुकबाट अस्थिरता र अराजकताको पुरानो युग सकिएको बताएका छन् । पार्टी एकीकरणसँगै अब देशमा विकास र सुशासनको युग सुरु भएको उनले बताए ।
राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण भएको बताए । ‘देशले योभन्दा धेरै राजनीतिक अस्थिरता सहन सक्दैन, राष्ट्र र जनताको पक्षमा हामीले नयाँ इतिहास बनाएका छौं,’ उनले भने । पार्टी एकीकरणको घोषणा आफ्नै प्रस्तावमा भएको समेत उनको भनाइ छ ।
जनताको भावना अनुसार नै सबै वामपन्थी शक्तिहरू एक ठाउँमा जुटुन् भन्ने चाहना हुँदाहुँदै पनि कम्युनिष्टबीच टुटफुट हुँदै आएको चर्चा गर्दै उनले भने, ‘पाटीभित्रकै मान्छेले पनि एकताबारे विभिन्न आशंका व्यक्त गर्ने गरे । केही उतारचढाव आए पनि । तर समाज, राजनीति, चिन्तनको विकासमा केही संघर्ष घुम्ती मोड हुनु अस्वभाविक होइन ।’

प्रकाशित मितिः   ४ जेष्ठ २०७५, शुक्रबार १४:३४