केपीएल आजदेखि
साझा बिसौनी संवाददाता
सुर्खेत, २ जेठ ।
कर्णाली प्रिमियर लिग(केपीएल) क्रिकेट प्रतियोगिता आज (बिहीवार) देखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजना र सुर्खेत जिल्ला क्रिकेट संघको संयोजनमा हुने प्रतियोगिताको आज बिहान १० बजे उद्घाटन हुँदैछ ।
कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले प्रतियोगिताको उद्घाटन गर्ने प्रतियोगिताका संयोजक रेशम शाहीले जानकारी दिए । उद्घाटन कार्यक्रममा चर्चित लोकदोहोरी गायिका टिका पुनले सांगीतिक प्रस्तुती समेत राख्नेछिन् ।
कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरका क्रिकेट खेलाडीहरूको सहभागितामा लिग हुन लागेको हो । यो यहाँको अहिलेसम्मकै सर्वाधिक पुरस्कार रासीको खेल प्रतियोगिता समेत हो । प्रतियोगिताको विजेताले नगद तीन लाख रूपैयाँसहित ट्रफि तथा उपविजेताले नगद एक लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । अन्य विधागत उत्कृष्ट खेलाडीहरू पनि पुरस्कृत हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ । बिहान साढे ११ बजे हुने पहिलो खेलमा टिकापुर क्रिकेट क्लब र भेरीगंगा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै दिउँसो दुई बजे मध्यपश्चिम क्रिकेट क्लब र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुने संयोजक शाहीले जानकारी दिए ।
उनले सेमिफाइनलदेखि खेल हेर्नका लागि शुल्क लगाइने भए पनि त्यसअघिका खेल भने दर्शक निःशुल्क रूपमा हेर्नसक्ने जानकारी दिए । साथै हरेक दिन एक जना दर्शकले एक हजार रूपैयाँ पुरस्कार समेत प्राप्त गर्ने उनले बताए ।
साझा बिसौनी ।