१४ वटा दुर्घटनामा २८ जनाको मृत्यु
साझा बिसौनी संवाददाता
सुर्खेत, २ जेठ ।
सन् १९८७ अगष्ट १९ मा नेपाल एयरलाइन्सको विमान डोल्पामा दुर्घटना भयो । कर्णालीमा हवाई सेवा सञ्चालनमा आएपछिको पहिलो दुर्घटना थियो, यो । त्यसयता कर्णाली क्षेत्रभित्र १४ वटा हवाई दुर्घटना हुँदा २८ जनाले ज्यान गुमाएका छन् भने घाइते र अङ्गभङ्ग हुनेको संख्या पनि ठूलो छ । त्यत्तिकै मात्रामा भौतिक क्षति समेत हुने गरेको छ ।
सडक दुर्घटनाका हिसाबले निकै जोखिमपूर्ण मानिने कर्णालीमा हवाई दुर्घटनाको अवस्था पनि कहालीलाग्दो छ । पछिल्लो केही समययता हवाईमार्ग समेत असुरक्षित बन्दै गएको छ । सडकमा जोखिम भएका कारण अहिले पनि कर्णालीका नागरिक सुरक्षित यात्राका लागि हवाईमार्ग नै रोज्दै आएका छन् । तर पछिल्लो केही वर्ष यता कर्णालीमा हवाई दुर्घटनाको अवस्था हेर्दा हवाईमार्गसमेत असुरक्षित बन्दै आएको छ ।
कर्णालीको हवाई यातायातको अवस्थालाई हेर्दा पछिल्लो तीन दशकमा कर्णालीका विभिन्न जिल्लामा हेलिकोप्टर र जहाज गरी १४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी २८ जनाले ज्यान गुमाए भने, १९ जना घाइते भएको तथ्यांकमा उल्लेख छ । जसमा ६ वटा दुर्घटनामा कुनै मानवीय क्षति हुन पाएन भने, ८ वटा दुर्घटनामा मात्रै २८ जनाको मृत्यु र १९ जना घाइते भएका हुन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णालीमा हवाई दुर्घटनाको अवस्था वर्षेनी बढिरहेको छ ।
सन् १९९९ मा जुम्लामा निकोन एयरको विमान दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका थिए भने, सात जना घाइते भए । यस्तै, सन् २००२ मा सुर्खेतको गडगडेडाँडामा स्काईलाइन एयरलाइन्सको विमान दुर्घटना हुँदा चालकदलका सदस्यसहित चार जनाको ज्यान गयो । सन् २००१ मा मुगुको रारा तालमा फिस्टेल एयर दुर्घटना हुँदा चारको मृत्यु भयो भने दुई जना घाइते हुन पुगे । मानवीय क्षति हुने गरी भएका दुर्घटनाको श्रृंखला यतिमै सीमित रहेन । हुम्लामै सन् २००९ मा मनाङ एयर दुर्घटना हुँदा एक जनाको मृत्यु र पाँच घाइते भए । सन् २०१३ मा हुम्लामा नै फिस्टेल एयर दुर्घटनामा पनि एक जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । यति एयरलाइन्सको जहाज खलंगामा दुर्घटना हुँदा सन् २००६ मा चालक दलका सदस्यसहित नौं जनाको ज्यान गएको थियो । श्रृंखलावद्ध रूपमा हवाई दुर्घटना हुँदा सन् २०१५ मा काष्ठमण्डपको विमान कालिकोटको चिलखायामा इन्जिन खराब भइ ‘फोर्स ल्याण्डिङ्ग’का क्रममा दुर्घटनाग्रस्त हुन पुग्यो । उक्त दुर्घटना हुँदा चालकदलका दुवै सदस्यको ज्यान गयो भने अरु पाँच जना बाँच्न सफल भएका थिए । तीन वर्षपछि पुनः कर्णालीमै भएको दुर्घटनामा बुधवार दुई जना चालकले ज्यान गुमाएका छन् । विगत ५÷६ वर्षको तथ्यांक हेर्ने हो भने ज्यान जानेगरी होस् वा जोगिएका सबैलाई मिलाउँदा कर्णालीमा वर्षेनी विमान दुर्घटना भइरहेका छन् । सबै ठाउँमा सडक नपुगेको र भएको ठाउँमा पनि सुरक्षित नहुँदा हवाई यात्रा रोज्दै आएका कर्णालीबासीका लागि हवाई मार्ग पनि असुरक्षित बन्दै आएको छ ।
उडेको आधा घण्टामै दुर्घटना
सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको विमान बुधवार बिहान दुर्घटना हुँदा चालकदलका दुवै जनाको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ बाहुनखर्कमा बुधवार बिहान दुर्घटना हुँदा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको हो ।
उक्त विमान बुधवार ६ः१२ मा सुर्खेत विमानस्थलबाट उडेको थियो । तीन मिनेटको फरकमा बुधवार बिहान सुर्खेतबाटै हुम्लाका लागि मकालुको अर्को बिमान ‘नाइन जेटीइ’ पनि सँगै कार्गो लिएर उडेको थियो । नाइन जेटीइका पाइलट तेञ्जिङ लामाले सुर्खेत विमानस्थललाई आफूसँग दुर्घटना हुनुभन्दा पाँच मिनेट अघि सम्पर्क भएको बताएका छन् । सुर्खेत विमानस्थल प्रमुख विनोदकुमार पन्तका अनुसार सुर्खेतबाट उडेको पाँच नटिकल माइलसम्म सुर्खेतको सम्पर्कमा र त्यसभन्दा माथि नेपालगन्ज विमानस्थलको सम्पर्कमा रहेको थियो ।
नेपालगन्ज विमानस्थलका प्रबन्धक प्रतावबाबु तिवारीका अनुसार बिहान करिब ६ः५० बजे विमान दुर्घटना भएको अनुमान गरिएको छ । उनले हुस्सुले विमानस्थल नदेखिएपछि नजिकै भएको अनुमानका कारण डाँडामा ठोक्किएको हुनसक्ने बताए । ‘अहिले नै यही कारण हो भन्ने सकिँदैन, तैपनि जहाज आफ्नो ट्रयाकभन्दा केही दायाँ गएको देखिन्छ,’ उनले भने, ‘कुहिरोका कारण बाटो परिवर्तन हुँदा डाँडामा ठोक्किएको देखिन्छ ।’
‘दुर्घटनाग्रस्त विमान देखेर बेहोस भएँ’
अघिल्ला दिनहरूमा जस्तै लामा रावल बुधवार पनि बिहानै भेडा लिएर पाटन हिँडे । व्यवसायिक रूपमा भेडापालन गरेका उनको, यो दैनिकी नै हो । भेडाको बथानसहित पाटन जाँदै गर्दा बुधवार बिहान भने उनको आँखै अगाडि एउटा कहालीलाग्दो दृष्य देखाप¥यो, जुन दृष्य देखेर केहीबेरसम्म उनको होस् नै गुम्यो । रावलको होस् गुमाउने दृष्य थियो, मकालु यातायातको दुर्घटनाग्रस्त विमान । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ बाहुनखर्कमा बुधवार बिहान दुर्घटना भएको उक्त विमानको पहिलो प्रत्यक्षदर्शी हुन्, रावल । एकाबिहानैदेखि वेखबर भएको विमान रावलले नै खबर गरेपछि फेला परेको थियो । ‘बाजुराबाट भेडा ल्याएर आउँदा हुस्सु लागेको थियो । जहाज आएर उता सिमकोटतिर जान खाज्यो । फेरि फिर्ता भयो, तीन÷चार पटक यता–उता ग¥यो’ रावलले भने, ‘तीन÷चार चक्कर हानेपछि एक्लभुज (ठाउँ)मा बस्न खोज्यो ।’ उनका अनुसार उक्त स्थानमा पाइलटले विमान अवतरण गराउन खोजेको देखिन्छ । भन्छन्, ‘ठाउँ राम्रै थियो । जहाज बस्न खोज्यो । त्यसपछि जहाज दुर्घटना भयो । मान्छे घाइते भएकी भनेर नजिक गएँ ।’
बुधवार बिहान ६ः१२ बजे सुर्खेतदेखि हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको करिब चार घण्टापछि खार्पुनाथ गाउँपालिका–२ (राया र थालीको बीच) बाहुनखर्कमा १० बजेर २५ मिनेटमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । ६ः५५ बजे हुम्लाको सिमिकोट पुग्नुपर्ने जहाज नपुगेपछि करिब ४० मिनेटपछि खोजी थालिएको थियो । सुर्खेत नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालगन्ज र सिमिकोट विमानस्थलसँग जहाज सम्पर्कविहीन भएपछि खोजी थालिएको हो । बाजुरा र हुम्लाको सीमानामा जहाज देखिएकाले स्थानीय प्रशासनले समेत केही समय जहाजको अवस्थाबारे जानकारी पाएन । दुईवटा हेलिकोप्टरले अपुष्ट खबरका कारण करिब साढे दुईपछि बाजुराकै क्षेत्रमा खोजी गरेका थिए । तर, भेडा गोठालो रावलले आधिकारिक जानकारी दिएपछि खार्पुनाथमा उद्दार टोली पुगेको थियो । विमान दुर्घटना भएको दृष्य देखेपछि उनी बेहोस भएका थिए । भन्छन्, ‘विमान दुर्घटना भएको, सामान छरपष्ट भएको देखपछि मै पनि बेहोस भएँ । अरु मेरो साथीहरू पनि आए ।’ विमान दुर्घटना भएको देखेपछि उनले देव रावल (अंकल) लाई फोन गरेर जहाज दुर्घटना भएको बारेमा बताएका थिए । ‘जहाज दुर्घटना भएको छ । कहाँ–कहाँ फोन गरी हुन्छ, हेली (हेलिकप्टर) मगाउनुहोला भनेर अंकललाई फोन गरेपछि प्रहरी पुग्यो’ उनले भने । अर्का प्रत्यक्षदर्शी पर्व रावलले भने, ‘हेली (हेलिकप्टर) आयो, घुम्दै–घुम्दै आएको आवाज मात्रै सुनियो ।’
छानविन आयोग गठन
सुर्खेतदेखि हुम्लाका लागि उडेको विमान दुर्घटनाको यथार्थ छानविनका लागि जाँच आयोग गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार भएको विमान दुर्घटनाको प्रतिवेदन र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षा शतर्कताबारे बुझ्न मन्त्रिस्तरको निर्णयअनुसार उक्त समिति गठन गरेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरिएको हो । समितिको सदस्यमा बुद्ध एयरका वरिष्ठ इनिजनियर उपेन्द्रलाल श्रेष्ठ, नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन गोपालसिं विष्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
यसैबीच विमान दुर्घटनामा कर्णाली प्रदेश सरकारले दुःख व्यक्त गरेको छ । विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति सरकारले दुःख व्यक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको भए पनि वर्षेनी हवाई दुर्घटनाहरू बढ्दै गएकोप्रति चिन्ता गरेका छन् । उनले बुधवार नै शोक वक्तव्य जारी गर्दै कर्णाली प्रदेशमा हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी दुर्घटना न्यूनीकरणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
साझा बिसौनी ।