‘क्रिकेटमार्फत् कर्णालीलाई चिनाउने छौं’

बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजनामा आज (बिहीवार) देखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ । कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरका क्रिकेट खेलाडीहरूको सहभागितामा लिग हुन लागेको हो । यो यहाँको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको खेल प्रतियोगिता समेत हो । प्रतियोगिताको विजेताले नगद तीन लाख रूपैयाँसहित ट्रफी तथा उपविजेताले नगद एक लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । अन्य विधागत उत्कृष्ट खेलाडीहरू पनि पुरस्कृत हुने आयोजकले जनाएको छ । प्रतियोगिताको तयारी र आयोजनाको उद्देश्य लगायतका विषयमा रहरे साझा बिसौनीका लागि प्रतियोगिताको संयोजक रेशम शाहीसँग गरिएको कुराकानीः

केपीएलको तयारी पूरा भयो ?
कर्णाली प्रदेशमा पहिलो पटक हामीले एउटा ठूलो क्रिकेट लिग आयोजना गर्न लागिरहेका छौं । हामीले यसको सम्पूर्ण तयारी पूरा गरिसकेका छौं । बिहीवार बिहान १० बजे कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालमार्फत् प्रतियोगिताको उद्घाटन गर्ने गरी तयारी पूरा गरेका छौं । प्रतियोगितामा सहभागी हुने १० वटा टिम र खेलाडीहरूको टुङ्गो लागिसकेको छ । उद्घाटनकै दिन खेल भएका चार वटा टिम सुर्खेत आइसकेको छ ।
मैदानको तयारी पनि पूरा गरिसकेका छौं । निकै मेहेनतका साथ मैदानलाई तयार पारेका छौं । गर्मीको मौसम छ । दर्शकहरूका लागि टेन्ट पनि राख्नेछौं । समग्रमा भन्दा प्रतियोगिताको तयारी पूरा भइसकेको छ । केही सानातिना काम उद्घाटन कार्यक्रम सञ्चालन गर्दासम्म सम्पन्न गरिसक्छौं ।
सहकारीले क्रिकेट प्रतियोगता आयोजना गर्ने सोच कसरी आयो ?
अहिले देश नै क्रिकेटमय भइरहेको छ । पछिल्लो समय नेपालले पनि क्रिकेटमा उपलब्धिहरू हासिल गरिरहँदा कर्णालीमा पनि क्रिकेट क्रेज बढेको देखिन्छ । त्यसैले यहाँको क्रिकेट विकासका लागि केही गर्नुपर्छ भन्ने सोच थियो । त्यसै अनुसार यो प्रतियोगिता आयोजना गरेका हौं ।
प्रायः सहकारीहरू आर्थिक गतिविधिमा मात्र संलग्न हुने गरेका छन् त्यसैले पनि होला हामीले क्रिकेट प्रतियोगिता आयोजना गर्दा अचम्म लाग्न सक्छ । हामीले सहयोगका लागि विभिन्न निकायहरूमा जाँदा पनि उहाँहरूले यस्तै अचम्म मान्नुभएको थियो । किनभने सहकारी संस्थाले क्रिकेट प्रतियोगिता आयोजना गरेको पाइदैंन । तर हामी बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरिरहेका छौं । यसले धेरै कामहरू गर्नसक्छ । त्यसै अनुसार क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना बनायौं ।
सुरुवातमा हामीले क्रिकेट एकेडेमी सञ्चालन गर्ने योजना बनाएका थियौं । पछि छलफल गर्दै–गर्दै अन्य ठाउँहरूमा पनि क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा हामीले पनि पहिलो एउटा प्रतियोगिता गरौं भन्ने निर्णय भयो । सानो–सानो प्रतियोगिताहरू त विगतमा पनि सञ्चालन भइरहेका थिए तर हामीले राष्ट्रिय स्तरका खेलाडीहरूसहित ठूलो प्रतियोगिता गरौं भने लागेका हौं ।
क्रिकेट विकासका लागि मात्रै कि यसबाट आर्थिक लाभको उद्देश्य पनि राख्नुभएको छ ?
हाम्रो पहिलो प्राथमिकता भनेको यो प्रतियोगिता सफल बनाउनु हो । जसरी पनि यसलाई सफल बनाउनुपर्छ भनेर लागिरहेका छौं । कुनै आर्थिक लाभको उद्देश्य राखेर प्रतियोगिता सञ्चालन गर्न लागेका होइनौं । यो कर्णालीलाई खेलकुदमार्फत् पनि चिनाउने प्रयास हो । यदि प्रतियोगिता सफल भइसकेपछि कुनै आर्थिक आर्जन भएमा त्यो एउटा पाटो भयो तर आम्दानीका लागि नभइ क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गरिएको हो । हामीले नाफाको आशा राखेका छैनौं ।
खेलहरू त अरु पनि धेरै छन् तर क्रिकेट नै किन रोज्नुभयो ?
खेलप्रतिको क्रेजको कुरा पनि हुने रहेछ । अहिले क्रिकेटप्रतिको क्रेज बढेको छ । कर्णालीमा पनि क्रिकेट खेलाडीका साथसाथै क्रिकेटप्रेमी दर्शकहरूको संख्या बढेको छ । त्यसैले पनि हामीले क्रिकेट प्रतियोगिता आयोजना ग¥यौं ।
पहिले प्रदेशस्तरीय गर्ने भन्नुभएको थियो, अहिले क्लबस्तरीय बनाउनुभयो । किन ?
सुरुमा हामीले सात वटा प्रदेश र तीन वटा विभागीय क्लबलाई सहभागी बनाउने गरी नै प्रतियोगिताको ‘मोडेल’ तयार पारेका थियौं । तर पछि सबै प्रदेशबाट प्रदेशस्तरीय टोली आउने अवस्था देखिएन । बरु विभिन्न क्लबहरूमा राष्ट्रिय खेलाडीहरू समेटिने देखिएपछि हामीले क्लबस्तरीय बनाएका हौं ।
सबै प्रदेशमा प्रदेशस्तरीय टोली तयारी अवस्थामा छैन । अहिले तत्काल छनौट प्रतियोगिता गरेर प्रदेशस्तरीय टिम बनाउन पनि समस्या हुने भएकाले क्लबस्तरीय गर्ने तर ती सबै क्लबमा राष्ट्रिय खेलाडी समेट्नुपर्ने गरी नयाँ ढाँचामा सञ्चालन गर्ने निर्णयमा पुगेका हौं । राष्ट्रिय टोलीका प्रायः सबै खेलाडीहरू कुनै न कुनै क्लबमा आवद्ध भएर कर्णाली प्रिमियर लिगमा सहभागिता जनाउँदै छन् ।
प्रतियोगिता गर्न कति खर्च लाग्छ ? त्यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?
सुरुवातमा २० लाखको लागतमा प्रतियोगिता सम्पन्न गर्ने हाम्रो योजना थियो । त्यसै अनुसार काम अघि बढाएका थियौं । तर तयारी गर्दै जाँदा त्यसले नपुग्ने भएको छ । बीस लाख भन्दा बढी खर्च हुने देखिएको छ ।
हामीले केही प्रायोजकहरू पनि पाएका छौं । व्यक्तिगत र संस्थागत रूपमा पनि सहयोग प्राप्त भएको छ । विभिन्न क्षेत्र र निकायबाट पनि सहयोग प्राप्त भएकाले त्यसबाटै खर्चको व्यवस्थापन गरेका छौं । स्थानीयस्तरबाट पनि हामीले अपेक्षा गरे अनुसार सहयोग पाइरहेका छौं । यसले पनि हामीलाई उत्साहित बनाएको छ । जे होस् सबैतिरको सहयोगमार्फत् प्रतियोगिता सञ्चालन गर्दैछौं ।
तयारीका क्रममा के कस्ता समस्याहरू भोग्नुप¥यो ?
हामीले अपेक्षा गरेका प्राय सबै ठाउँबाट सहयोग पाइरहेका छौं । त्यसैले त्यस्तो ठूला अप्ठ्याराहरू चाहीं भोग्नु परेन । तर क्रिकेटका लागि आवश्यक क्रिकेट मैदान नहुँदा केही समस्या भयो । विगतमा जसले पनि वीरेन्द्रनगरको कालुङ्गचौकस्थित मैदानमा क्रिकेट खेलाउने गरिन्थ्यो । तर हामीले प्रतियोगिताको मुख्य प्रायोजकसँग पनि छलफल ग¥यौं । उहाँहरू आफै आएर मैदानको निरीक्षण गर्नुभयो । कालुङ्गचौकमा भन्दा फुटबल रंगशाला व्यवस्थित भएकाले त्यही गर्ने निर्णयमा पुगेका हौं । अरु ठूला समस्याहरू भोग्नु परेको छैन ।
यो प्रतियोगिता आगामी दिनमा पनि सञ्चालन हुन्छ कि यसपल्टका लागि मात्रै हो ?
पक्कै पनि हामीले यसलाई नियमित गर्ने गरी नै योजना बनाएका छौं । अहिले सुरुवात मात्रै हो । यसपछि पनि हरेक वर्ष कर्णाली प्रिमियर लिग सञ्चालन गर्नेछौं । कर्णालीको क्रिकेट विकास र यहाँ क्षमतावान खेलाडी उत्पादनका लागि हाम्रो यो अभियान जारी रहनेछ ।
पछिल्लो पुस्तामा क्रिकेटप्रतिको आकर्षण बढेको छ । तर प्रतियोगिताहरू सञ्चालन नहुँदा आफ्नो क्षमता खेलाडीहरूले प्रदर्शन गर्न नै पाएका छैनन् । त्यसैले राष्ट्रियस्तरका खेलाडीहरूसहित स्थानीय खेलाडीहरू सम्मिलित गरेर प्रतियोगिता गर्दा यहाँका खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्न र खेलमा सुधार ल्याउन समेत पाउँछन् । त्यसैले हामी यो प्रतियोगिता आगामी वर्षहरूमा पनि गर्दै जानेछौं । यो वर्ष हामीले सुर्खेतमा आयोजना ग¥यौं । यदि आगामी वर्षहरूमा सबै पूर्वाधार उपलब्ध भएमा कर्णालीका अन्य जिल्लाहरूमा पनि यो प्रतियोगिता आयोजना गर्ने सोच छ ।
प्रतियोगिता सफल पार्नका लागि सुर्खेतका आम नागरिक लगायत अन्य क्षेत्रबाट के कस्तो अपेक्षा गर्नुभएको छ ?
सबैको सहयोगविना प्रतियोगिता सफल हुन सक्दैन । त्यसैले हामी सबै क्षेत्र र व्यक्तिहरूसँग सहयोगको अपेक्षा गरिरहेका छौं । यहाँका सरकारी निकाय, निजी क्षेत्रसहित आम नागरिकको सहयोग प्राप्त भइरहेको छ यो सहयोगको निरन्तर अपेक्षा गरेका छौं ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
पहिलो पटक सुर्खेतमा एउटा ठूलो क्रिकेट प्रतियोगिता हुँदैछ । बिहीवार बिहान १० बजे प्रतियोगिताको उद्घाटन हुनेछ भने साढे ११ देखि प्रतियोगिताका खेलहरू सुरु हुनेछन् । उक्त उद्घाटन कार्यक्रमसहित खेलहरू हेरेर सहयोग गरिदिन म सम्पूर्णमा अनुरोध गर्दछु ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७५, बिहीबार १५:२८