पूर्वाधार अभावमा कर्णालीको खेलकुद

करोड बजेट फ्रिज, अवसर गुमाउँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, ३१ वैशाख ।
कर्णाली प्रदेशको राजधानी भएसँगै वीरेन्द्रनगरमा पछिल्लो समय खेल गतिविधि बढ्दै गएका छन् । एक महिनाअघि मात्रै कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता भएको वीरेन्द्रनगरमा आउँदो बिहीवारदेखि राष्ट्रियस्तरकै क्रिकेट लिग सञ्चालन हुँदैछ । तर आवश्यक पूर्वाधारको अभावका कारण यहाँको खेल क्षेत्रले अपेक्षाकृत उपलब्धि हासिल गर्न भने सकेको छैन ।


भौतिक संरचनाको अभावका कारण विकास निर्माणमा पछाडि परेको कर्णाली प्रदेश खेलकुदको क्षेत्रमा पनि पछि नै परेको छ । यसको एक उदाहरणका रूपमा अगामी मंसिरमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नै लिन सकिन्छ । साविकको मध्यपश्चिम खेलकुद विकास समिति आयोजक बनेको प्रतियोगिताका खेलहरू कर्णाली प्रदेशमा एउटा पनि पर्न सकेनन् । त्यसको एउटै कारण थियो, खेल खेलाउनका लागि आवश्यक पूर्वाधार अभाव र नेतृत्वले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्नु । जसले गर्दा कर्णालीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजकको भूमिका निर्वाह गर्ने जिम्मेवारी सम्हाल्दै दीर्घकालीन रूपमा पूर्वाधार तयार हुने अवसरबाट वञ्चित हुनुप¥यो ।
मुस्किलले कालुङ्गचौकको खुला मैदानमा कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता भएको थियो । तर राष्ट्रिय स्तरको कर्णाली प्रिमियर लिगको लागि भने त्यहाँ उपयुक्त नभएपछि फुटबल मैदानभित्र क्रिकेट खेलाउन लागिएको छ । ‘हामीले कालुङ्गचौकमा देखाउँदा प्रायोजकले नै अस्वीकार ग¥यो र रंगशाला देखायौं’ प्रतियोगिताका संयोजक रेशम शाहीले भने, ‘त्यहाँ पनि केही सुधार नगरेसम्म नहुने भनेपछि मैदान बनाएर प्रतियोगिताका लागि तयार बनायौं ।’ उनले कर्णाली प्रदेशमा हालसम्म क्रिकेट स्टेडियम नभएकै कारण ठूला प्रतियोगिता सञ्चालनका लागि समस्या रहेको बताए । ‘रंगशाला निर्माण गर्दा धेरै दुःख भोग्नु प¥यो,’ उनले थपे, ‘संरचना नहुँदा प्रतियोगिता गर्न समस्या हुने अवस्था भविष्यमा देखा नपरोस्, खेलकुदका नेतृत्वहरू यसप्रति जिम्मेवार हुनुपर्दछ ।’
सरकारले खेलकुदका लागि कर्णालीलाई बजेट नदिएको पनि होइन । तर यहाँका खेलकुदको नेतृत्वमा रहनेहरूले आफ्नो जिम्मेवारी निभाउन नसक्दा हालसम्म कुनै पनि संरचना निर्माण हुनसकेका छैनन् । खेल क्षेत्रको लागि आएको बजेट पनि प्रयोग गर्न नजान्दा फ्रिज हुने तर खेल विकासका लागि प्रयोग नहुने संस्कृति स्थापित भएको छ ।
जग्गा नपाउँदा करोड फ्रिज
तीन वर्षअघि सरकारले सुर्खेतमा क्रिकेट मैदान निर्माण गर्नका लागि बजेट भाषणमा एक करोड बजेट विनियोजन गरेको थियो । तर सुर्खेतमा खेलकुदका पदाधिकारीबीचको जुहारीका कारण क्रिकेट विकासका लागि आएको एक करोड रकम फ्रिज हुन पुग्यो । ‘सरकारले कर्णालीलाई नहेरेको पनि होइन, एक करोड बजेट क्रिकेट मैदानको व्यवस्थापनका लागि तत्काल विनियोजन भएको थियो’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले भने, ‘तर हामीले जग्गा उपलब्ध गराउन नसक्दा उक्त बजेट फ्रिज भयो, क्रिकेट क्षेत्रका लागि निकै दुर्भाग्य बन्यो ।’
बजेट विनियोजनपछि जग्गा खोजीका लागि युवा तथा खेलकुद मन्त्रालयले सचिवस्तरीय पाँच जना सम्मिलित समिति पनि गठन गरेको थियो । उनीहरूले हालको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्ग संकायको भवन बनाएको सानो सुर्खेतमा सामुदायिक वनको जग्गा क्रिकेट स्टेडियम निर्माणका लागि देखाए । तर प्रक्रिया पूर्ण नहुँदा काम अगाडि बढ्न सकेन र आर्थिक वर्षको अन्त्यमा जिल्ला खेलकुद विकास समितिले जग्गा उपलब्ध नभएको चिठ्ठी मन्त्रालयलाई पठायो ।
खेलकुद मन्त्रालयले अहिले पनि जग्गा उपलब्ध भएमा स्टेडियम निर्माणका लागि बजेट छुट्याउन समस्या नरहेको बताएको अध्यक्ष गिरी बताउँछन् । अहिले रंगशालाको उत्तरपट्टि रहेको चिल्ड्रेन पार्कलाई क्रिकेट मैदान निर्माणका लागि उपयुक्त स्थानका रूपमा हेरिएको छ । स्टेडियम
निर्माणका लागि ६ विगाहा जग्गा आवश्यक रहेकोमा उपत्यका नगर विकास समितिले पार्क छेउमा सहमति दिएमा आगामी आर्थिक वर्षदेखि बजेट आउने अध्यक्ष गिरीको भनाइ छ ।
रंगशालाको डीपीआर
विगतदेखि नै खेलक्षेत्रको पूर्वाधार अभावमा अल्मलिएको सुर्खेतको रंगशालालाई व्यवस्थित गर्न पुनः काम सुरु हुने भएको छ । रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको अध्यक्ष गिरीले जानकारी दिए । १४ लाख लागतमा रंगशालाको डीपीआर तयार भइसकेकाले केन्द्र सरकार र प्रदेश सरकारको सहयोगमा आगामी आर्थिक वर्षदेखि निर्माण कार्य अगाडि बढ्नेछ । यस्तै, क्षेत्रीय खेलकुद विकास समितिले रंगशालाको नयाँ पर्खाल निर्माणका लागि ८५ लाखको टेन्डर आव्हान गरिसकेको छ । अहिलेको रंगशालालाई पश्चिमतिरको कुइनेपानी जंगलसम्म विस्तार हुने बताइएको छ । बहुउद्देश्यीय रंगशाला निर्माणपछि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू पनि सञ्चालन गर्न सकिने गिरीले बताए ।

प्रकाशित मितिः   १ जेष्ठ २०७५, मंगलवार १४:४८