पूर्ण खोपयुक्त जिल्ला घोषणा

सुर्खेत, ३० वैशाख । (साबिस)
सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले अनिवार्य लगाउनुपर्ने खोेपको पहुँचमा रहेकाले आइतवार पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । ४० औं जिल्लाको रूपमा सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सुर्खेतले जनाएको छ ।
२०७० साल चैत्र २० गते बराहताल गाउँपालिका–९ (साविकको लेखगाउँ गाविस) बाट सुरु भएको पूर्ण खोपयुक्त कार्यक्रम पञ्चपुरी–७ छाप्रेमा गएर सम्पन्न भएको थियो । उक्त अभियान सकिएसँगै जिल्लामा सबै ठाउँहरू पूर्ण खोपयुक्त भइसकेकाले सुर्खेतलाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । जिल्लामा झण्डै ९५ प्रतिशत बालबालिका पूर्ण खोपको पहुँचमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका जितलाल ढकालले बताए ।
पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सुर्खेत जिल्ला पूर्ण खोपयुक्त हुनुले कर्णालीको समृद्धिमा ईट्टा थपिएको बताए । उनले भौतिक संरचना निर्माण मात्रै विकास नभइ सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धि गर्नु पनि विकास भएको बताए । घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले संघीय संरचना अनुसार अधिकार सम्पन्न मानिएको स्थानीय सरकारले पूर्ण खोपयुक्त घोषणालाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले केन्द्रीय सरकारकै भर परेर मात्रै विकासमा निरन्तरता हुन्छ भन्ने मानसिकता हटाउन आग्रह गरे । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारी, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३१ बैशाख २०७५, सोमबार १५:०७