‘कांग्रेसभित्रको गुटबन्दी सकियो’

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० वैशाख ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सह–महामन्त्री प्रकाशशरण महतले कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको बताएका छन् । गुटबन्दी हावी हुँदा पार्टीले नराम्रो हार व्यहोर्नु परेको नेतृत्वले स्वीकार गरिसकेको हुँदा अब गुट अन्त्य भएको बताएका हुन् । नेपाली कांग्रेस निकट तरुण दलको कर्णाली प्रदेशको भेलामा सहभागी हुन सुर्खेत आएका उनीहरूले गुटबन्दी अन्त्य भएकोले पार्टीप्रति निराश नहुन कार्यकर्तालाई आश्वासन दिएका छन् ।
केन्द्रीय नेतृत्वमा रहेको गुटबन्दीका कारण नै अहिलेको परिस्थिति व्यहोर्नुपरेको भन्दै नेताद्वयले कार्यकर्ताहरूमा पनि गुटबन्दीको भाव अन्त्य हुनुपर्ने बताए । ‘देखावटी राष्ट्रवादका कारण नै कम्युनिष्टहरू विजयी भएका हुन्’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘हाम्रो हार सधैंभरीको लागि होइन, कार्यकर्ताहरू विभाजित नभए, अर्को पटक पुनः देशकै पहिलो पार्टी बन्ने छौं ।’ उनले हारको कारण गुटबन्दी नै भएको केन्द्रीय नेतृत्वले जिम्मेवारी लिइसकेको अवस्थामा अब सबै गुटबन्दीको उल्झनबाट उम्किनुपर्ने बताए ।
उनले एमाले, माओवादीले कसरी निर्वाचन विजयी भए र कांग्रेसले किन पराजित हुनुप¥यो भन्ने बारेमा विश्लेषण गरेर नेतृत्व अगाडि बढेको बताए । आग्रह, पूर्वाग्रह, गुट–उपगुट नभइ सबै नेता तथा कार्यकर्ता एक ढिक्का भएर अगाडि बढेमा कांग्रेसले अर्को चुनावमा परिणाम उल्ट्याउने उनको दाबी थियो । यस्तै, नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले
एमाले–माओवादीले चुनाव जित्ने रणनीतिमा राष्ट्रियतालाई भ¥याङ्ग बनाएको आरोप लगाए । विगतको समीक्षा गर्दै आगामी दिनमा कांग्रेस अगाडि बढ्नुपर्ने भन्दै उनले ४५ प्रतिशत भोट ल्याउने र पार्टी पहिलो बनाउने रणनीतिमा केन्द्रीय नेतृत्व लागिपरेको उनको भनाइ थियो । ‘कांग्रेसले गरेको विकासलाई कम्युनिष्टहरूले आफूले प्रचार गरी भोट हत्याए’ कार्यकर्तालाई आश्वासन दिँदै महतले भने, ‘जनता सधैं भ्रमको शिकार हुँदैनन्, हामीले आफ्नो काम जनतामाझ देखाउन सके आगामी निर्वाचन हाम्रै पक्षमा आउँछ । त्यसका लागि पार्टी मजबुत बनाउन संगठनलाई विस्तार र प्रचार गर्न मिडिया परिचालन गर्नुपर्छ ।’
कांग्रेस गुटबन्दीमै रुमलिंदा कांग्रेस सरकारले गरेको काम पनि कम्युनिष्टहरूले जस लिँदै निर्वाचनमा भोट आफ्नो पक्षमा पारेको महतको भनाइ थियो । ‘स्थानीय सरकारदेखि केन्द्रसम्म नेतृत्वमा पुगेका कार्यकर्ताबाट उदाहरणीय काम गरौं, अपराजितले खबरदारी गरौं, तब मात्रै कांग्रेस पहिलो पार्टी हुन्छ’ उनले कार्यकर्तामाझ अनुरोध गरे ।
यस्तै आइतवार नै सुर्खेतमा कार्यकर्ता भेटघाटमा उनीहरूले वाम सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको फाइदा लिन नसकेको बताएका छन् । नेपाल दुई ठूला छिमेकीबीचमा हुँदाको लिनुपर्ने फाइदा लिन नसकेको बताए । ‘नेपाल दुई ढुङ्गाको तरुल जस्तै हो, चीन र भारत दुवैबाट फाइदा जसरी तरुलले ढुङ्गालाई छेड्नसक्छ त्यसरी नै लिनुपर्ने हो, तर सरकारले स्वागत गर्नु बाहेक अरु केही गर्न सकेन’ पौडेलले भने । उनले तामझामका साथ स्वागत गरेअनुसारको देशलाई फाइदा हुने कुनै निर्णय गर्न नसकेको आरोप लगाए । आक्रोश पोख्दै नेता पौडेलले भने, ‘तर यति ठूलो तयारीका साथ मोदीलाई भिœयाएर वाम सरकारले भने देशको हितमा हुने कुनै निर्णय गर्न सकेन ।’

प्रकाशित मितिः   ३१ बैशाख २०७५, सोमबार १५:०६