‘पढाइ छोडेर युद्धमा होमिएँ’
पुष्पा घर्ती विष्ट कर्णाली प्रदेशको उपसभामुख हुन् । विद्यार्थी छँदादेखि नै राजनीतिमा प्रवेश गरेकी पुष्पा माओवादी जनयुद्धदेखि नै पार्टी राजनीतिमा सक्रिय थिइन् । उनी वि.सं. २०२४ पुस २५ गते बुबा लोता घर्ती र आमा भद्रकली घर्तीको कोखबाट नलगाड नगरपालिका–२ डाँडागाउँ जाजरकोटमा जन्मिएकी हुन् । विद्यार्थी राजनीतिबाट महिला संगठन, जनयद्धका बेलामा पार्टीको एरिया सेक्रेटरी, कमाण्ड इन्चार्ज हुँदै विभिन्न जिम्मेवारी निर्वाह गरिसकेकी उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन् ः
मेरो जन्म जाजरकोटमा भयो । घरको एक्ली छोरी हुँ । हाम्रो परिवारमा छोरीको महŒव धेरै नै थियो । चार दाजुहरू जन्मिएपछि म जन्मिएको । त्यसकारण मैले माया ममता सबैबाट पाएँ । मेरो हजुरबुबादेखि नै छोरी थिएनन् । एक जना फुुपु हुनुहुन्थ्यो । उहाँ पनि बित्नुभएको थियो । म मात्र छोरी भएका कारण मायाममता पाउने भइहालें । पाँच भाइकी एक्ली बहिनी सबैले मलाई माया गर्नुहुन्थ्यो । बुबा आमाले पनि एक्ली छोरी भनेर निकै माया गर्नुहुन्थ्यो ।
बाल्यकालमा गाइगोठालो जान्थ्यौं । हाम्रो करिब ४० वटा बाख्रा थिए । बुबा आमाले एक्ली छोरी यसलाई धेरै दाइजो दिने भनेर भन्नुहुन्थ्यो । त्यसकारण यी सबै बाख्रा मेरो भन्नुहुन्थ्यो । मैले पनि मेरा बाख्रा भनेर मेहेनत गरेर हेर्थें । त्यसबेलामा छोरीलाई पढाउनु हुँदैन भन्ने थियो । म सानैमा विद्यालय जान पाइनँ । म मात्र होइन त्यहाँ गाउँमा धेरै छोरीहरू विद्यालय पढ्न जान पाएका थिएनन् । हामीले १४ वर्षको उमेरसम्म गाइगोठालो अनि घरकै काम गरे बितायौं । छोरीले घरको सबै काम गर्न राम्रोसँग सिक्नुपर्छ भन्ने थियो । आमाभाउजुहरूले घरकै काम सिकाउनु हुन्थ्यो । हामीले पनि घरकै काम राम्रोसँग सिक्नुपर्छ भन्ने लाग्थ्योे ।
मेरो दाइहरू त विद्यालय जानुहुन्थ्यो । मैले १४ वर्षको उमेरमा विद्यालयमा पाइला टेकेकी हुँ । त्यसबेलामा गाउँमा नपढेकालाई प्रौढ शिक्षा पढाउन सुरु गरियो । गाइगोठ सफा गरेर एउटा गोठमा पढाइ सुरु भएको थियो । पढाइ भनेको कस्तो हुनेरहेछ भनेर हामी पनि गयौं । सुरुमा क, ख भनेर सिक्यौं । माम, ताम भनेर पढ्थ्यौं । पढेको भनेको त यस्तो पो हुनेरहेछ भनेर सुरुमा अचम्म लाग्थ्यो । पछि विस्तारै पढ््नपर्छ भन्ने लाग्यो । म गाइगोठालो जादाँ पढाइमा मात्र ध्यान दिन्थें । कसरी सबै भन्दा जान्ने हुने भन्ने लाग्थ्यो । मैले एक पटक गोठालो जाँदा क, ख सिक्थे । अर्कोपटक जाँदा क, का, की सबै पढ्नसक्ने हुन्थें । यसरी मैले प्रौढ शिक्षामा पढ्ने सबै विषय जानें । सबै भन्दा म जान्ने थिएँ । सबैले मलाई यो जान्नेछ भन्थे । अनि म खुशी हुन्थें ।
प्रौढ शिक्षा पढेपछि अब मैले विद्यालय गएर पढ्नुपर्छ भन्ने चेतना आयो । तर ठूलोे भइसकेकी छोरीलाई विद्यालय पठाउन परिवार त्यति सजिलै राजी हुनेवाला थिएन । त्यही पनि बुबाआमा र दाजुहरूको अगाडि म विद्यालय पढ्न जान्छु भनेर एक दिन कुरा राखेें । बुबाआमाले सुरुमा मान्नु भएन । एक्ली छोरीलाई धेरै दाइजो दिएर विवाह गरेर पठाउँला भन्ने बेलामा बढेकी छोरीलाई कहाँ विद्यालय पठाउने भनेर सुरुमा राजी हुनुभएन । अरुको छोरी भन्दा धेरै दाइजो दिएर विवाह गरिदिने उहाँहरूको सपना थियो । दाइहरूले अझ एक एक वटा भेंसी दाइजो दिने भन्नुहुन्थ्यो आफ्नो तर्फबाट । सुनहरू त कति हो कति ! बुबाआमाले धेरै सुन दिने भन्नुहुन्थ्यो । गहना धेरै, पाँच भाइले दिएको पाँच वटा भैंसी, अनि मेरो भनेर पालेका ४० वटा बाख्रा । मलाई बुबाआमाले फकाउनुभयो तर मेरो सपना पढ्ने थियो । मैले पढ्ने भन्ने नै अडान नछाडेपछि अन्तिममा सबै राजि हुनुभयो ।
म पढ्न जाने भएपछि मेरा बाख्रा कसले हेर्ने भनेर कुरा आयो । मेरो एक जना दाइ पनि विद्यालय जानुहुन्थ्यो । उहाँले हामी सबैले भाइहरूले पालैपालो हेछौं बहिनीलाई विद्यालय पठाऔं भन्नुभयो । त्यसपछि म विद्यालय जान पाएँ । पहिलो दिन एक जना साथी र म विद्यालय गएका थियौं, गुन्यौचोली लगाएर । विद्यालयमा केटा साथीहरू मात्र थिए । एक जना अर्की साथी पनि विद्यालय आएकी रहेछिन् । हामी तीन जना केटी साथी भयौं । दुई÷तीन दिनसम्म त गुन्यौचोलीमै विद्यालय गयौं । पछि फराक र मेडी लगाएर विद्यालय जान थाल्यौं । गाउँमा फलानाकी छोरी कति ठूली भएर पनि विद्यालय गइ रे भनेर कुरा गर्थे । हामी पढ्न थालेपछि गाउँका अरु साना बहिनीहरू पनि विद्यालय जान थाले । त्यति ठूला भएर त केटीहरू पढ्न गएका छन्, हामी गए के हुन्छ भनेर पढ्न जान थाले । म एकै पटक कक्षा ३ मा गएर पढेको । पढाइमा धेरै लगाव थियो । कक्षा पाँचमा प्रथम नै भएको थिएँ । त्यसपछि म रुकुमको चौरजाहारी पढ्न गएँ । त्यहाँ शंखपिपल माविमा कक्षा ८ सम्म पढें । आफन्तको घरमा बसेर पढ्थें । बुबाआमालाई धेरैनै चिन्ता हुन्थ्यो । ठूली भएकी छोरी बाहिर पढाउँदा ।
त्यसअघि त बाल्यकालमा धेरै समय गाइगोठालो नै गएर बित्थ्यो । रमाइलो पनि हुन्थ्यो । साथीहरू मिलेर राती काँक्रा चोेरेर खाएको सम्झना अझै पनि आउँछ । एक दिन केही साथीहरूलाई काँक्रा चोर्न पठायौं । थाहा पाएर त्यही कुटेछन् । हामी कतिबेला काँक्रा लिएर आउँछन् भनेर कुरिरहेका थियो । पछि साथीहरू कुटाइ खाएर आए । अहिले सम्झदा पनि रमाइलो लाग्छ । कहिले काहीं खोलामा गंगटा र माछा मार्न जान्थ्यौं । बिहान खाना खाएर माछा मार्न गएको साँझ परेको पनि थाहा हुँदैनथ्यो । घर आउँदा रात नै पथ्र्यो । जात्रा भने त्यति गइएन । त्यतिबेला युवतीहरूलाई जबरजस्ती तानेर विवाह गर्छन् भन्थे । कहिले कसलाई तानेर लगे रे भन्ने सुन्नुपथ्र्यो । कहिले काहीं जात्रा गयो भने पनि छिट्टै घर आउँथ्यौं । साथीहरू जम्मा हुने साना साना घर बनाउने । कपडाको गुडियाहरू बनाएर खेल्ने गथ्र्यौं ।
मलाई पढेर केही बन्नुपर्छ भन्ने लाग्थ्यो । त्यसकारण म धेरै जस्तो साथीहरूसँग खेल्न भने जाँदैनथें । अरुलाई सहयोग गर्न पनि अघि नै सर्थें । एक पटक मलाई आमाले घर कुर्न छोड्नु भएको थियो । गाउँघरमा प्राय माग्न आइरहने । दुःखी गरीब देख्यो भने धेरै नै दिन मन लाग्थ्यो । आमाहरूले दिएको देख्दा अल्लि धेरै दिएको भए हुने भन्ने लाग्थ्यो । त्यस दिन धेरै दिने मौका मिल्यो । चार÷पाँच जना वादी समुदायका महिलाहरू आएका थिए । मैले एक थौलो मकै बाँडेर सकें । पछि आमा आएर मकै खै भन्नुभयो । लठ्ठीले कुट्नु पनि भयो, सबै किन दिएको भनेर । एक पटक खाना पकाउन पठाउनु भएको थियो । भाँडामा धेरै चामल हालेछु । धेरै भएको चामल सुप्पोमा हाल्दै मलखादमा खन्दै हाल्दै गएँ । बाँकी रहेको भात पनि काँचो भएछ । साँझ काम गरेर आउँदा भात काँचै भएछ भन्नुभयो । एक दिन मल बोक्ने बेलामा चामल भेटियो । आमाले कसले फालेछ भन्नुभयो । थाहा पाउनु भयोकी भन्ने डर पनि लागेको थियो ।
रुकुममै पढ्ने बेलामा म विद्यार्थी संगठनमा आवद्ध भएको थिएँ । हामी विभिन्न गतिविधिहरू गथ्र्यौं । मैले त्यहाँ कक्षा आठसम्म पढेपछि नौ कक्षा पढ्न जाजरकोट नै पुगेँ । त्रिभुवन मावि दिल्लीबाट मैले एसएलसी दिएको हुँ । वि.सं. २०५२ साल माघको अन्तिममा एसएलसी परीक्षा सकियो । त्यसपछि घर आउँदै थिएँ । बाटोमा नै जनयुद्ध घोषणा भयो भनेर सुन्यौं । घर नजिककै आउँदैथ्यौं । बुबा र दाइहरूलाई प्रहरीले गिफ्तार गरेर लिएछ । हामी विद्यार्थी संगठन हुँदा प्राय हामीलाई पनि चिनेका थिए । मलाई पनि सोधेछन् । पछि म घर पुग्न साथ आमा र भाउजुहरूले तँ पनि भाग भन्नुभयो । म भागेर लेकतिर गएँ । केहीदिनपछि बुबा छुटेर आउनुभयो । पछि मलाई लेकमै गएर भेटेर अब जनयुद्धमा नै जाउ भन्नुभयो । उहाँले मलाई पढाउने इच्छा हुँदाहुँदै पनि परिस्थिति त्यस्तै भयो । पछि म जुनयुद्धमा नै गएँ । बाल्यकाल यसरी नै बित्यो ।
साझा बिसौनी ।