‘सुरक्षित सुर्खेत’ बनाउने लक्ष्य

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ वैशाख ।
‘सुरक्षित सुर्खेत’ बनाउने लक्ष्यसहित सुर्खेत प्रहरीले आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित समग्र सुर्खेत जिल्लालाई पूर्णरूपमा सुरक्षित बनाउने लक्ष्यसहित प्रहरीले एक वर्षको आफ्नो कार्ययोजना सार्वजनिक गरेको हो ।


जिल्लाका आमनागरिकलाई सुरक्षित भएको अनुभूति हुने गरी प्रहरी सेवा प्रभावकारी बनाउन एक वर्षे रणनीतिक कार्ययोजना नै तयार पारिएको छ । घरेलु हिंसा, सामाजिक अपराध, बालविवाह, लागूऔषध दुव्र्यसनी, सवारी दुर्घटनालाई सुरक्षा चुनौतीको रूपमा लिइएको छ । यी चुनौती समाधानका लागि भन्दै प्रहरीले आगामी एक वर्षको कार्ययोजना बनाएको हो । कार्ययोजना अन्तर्गत प्रहरीले जनचेतना अभिवृद्धि गर्नेदेखि टोल–टोलमा प्रहरी परिचालन र घरदैलो अभियान सञ्चालन गर्नेसम्मका कार्यक्रम राखिएको छ । अब नौ वटा स्थानीय तह रहेको सुर्खेतमा सुरक्षा प्रदान गर्न हरेक टोलमा प्रहरी पुग्ने भएको छ । वडा र टोलमा प्रहरी परिचालन गरी त्यहाँका आपराधिक तथा सामाजिक समस्या पहिचान गरिने कार्ययोजना प्रहरीको छ । जिल्लालाई सुरक्षित बनाउन स्थानीय नागरिकको सहयोग र जनप्रतिनिधिसँग सहकार्य गर्ने प्रहरीले जनाएको छ ।
नागरिक समाजको प्रत्यक्ष सहभागितामा सुरक्षा सम्बन्धी उठेका सवाल समाधानका लागि योजनागत रूपमा सुरक्षा प्रदानको रणनीति तयार गरिने छ । स्थानीय स्तरमा हुने अपराध न्यूनीकरणविना सुरक्षित जिल्ला बनाउन नसकिने निश्कर्ष निकालेको प्रहरीले जनचेतनामूलक कार्यक्रमसँगै विशेष प्रहरी टोलीसमेत परिचालन गर्ने जनाएको छ । रणनीतिक योजना अनुसार सुर्खेतलाई सुरक्षित बनाउन मानव बेचविखन न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । स्थानीयलाई शान्ति सुरक्षामा प्रत्यक्ष सहाभगी गराउन टोल सुरक्षा समिति गठन गरिने भएको छ । स्थानीय निकाय, महिला सञ्जाल तथा युवा क्लबहरूको समन्वयमा प्रत्येक स्थानीय तहमा सात जनाको सुरक्षा समूह गठन गर्न लागिएको हो । आगामी साउन महिनासम्म वडादेखि टोलस्तरसम्म सुरक्षा समूह गठन गर्ने रणनीति छ । उक्त समूहले टोल, वडा र तहको सुरक्षा अवस्था, आगामी रणनीति तथा अनुसन्धान र मेलमिलापमा समेत मद्दत गर्नेछन ।
स्थानीय तह लक्षित गरी कार्ययोजना निर्माण गरिएको एसपी चतुर्वेदीले बताए । उनका अनुसार बालविवाह, हिंसा, घरेलु हिंसा, सामाजिक अपराध न्यूनिकरणका लागि सर्वसाधारणलाई जनचेतना अभिवृद्धि गर्ने कार्यायोजना रहेको छ । वैशाख महिनादेखि स्थानीय निकाय, महिना तथा बालबालिका कार्यालय, बाल समूह र आमा समूहमार्फत् अपराध न्यूनीकरण गर्ने उनले बताए । जिल्लामा लागूऔषध दुव्र्यसनी बढ्दै गएकाले न्यूनीकरणमा चुनौती भएको एसपी चतुर्वेदीले बताए । युवाहरूलाई लागू औषध दुव्र्यसनिबाट बचाउन तीव्र अनुसन्धान तथा नियन्त्रणमा प्रहरीसँग समन्वय गराउन विद्यालय, युवा समूह र स्थानीय निकायसँग सहकार्य गरिने भएको छ । लागूऔषधको प्रयोग रोक्न वैशाखदेखि नै लागूऔषध दुव्र्यसनि रोक्ने अभियान सुरु गरिने उनले जानकारी दिए । यस्तै सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गर्ने प्रहरीको रणनीति छ ।
शनिवार नागरिक सुनुवाइमा आगामी कार्ययोजना सार्वजनिक गरेको प्रहरीले अपराधहरूका बारेमा जानकारी गराउने, अनुसन्धामा सहयोग गर्ने, सामाजिक विकृति रोक्न प्रहरीसँग सहकार्यको अपेक्षा गरिएको एसपी चतुर्वेदीले बताए । अपराधिक क्रियाकलापको बारेमा गोप्य सूचनाकोसमेत अपेक्षा गरिएको उनको भनाइ छ । जिल्लामा प्रहरीको जनशक्ति अभावले सुरक्षा प्रदानमा चुनौती थपिएको भन्दै केन्द्र सरकारसँग पहल थालिएको छ । एसपी चतुर्वेदीका अनुसार स्थानीय तहमा रहेका प्रहरी पोष्ट, इकाईहरूमा समेत जनशक्ति व्यवस्थापन गर्न लागिएको हो । हरेक नगरपालिका र गाउँपालिकामा जनशक्ति परिचालन गर्ने, इलाका प्रहरी कार्यालयमा जनशक्ति वृद्धि गरिने कार्ययोजना रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सुर्खेतलाई सुरक्षित जिल्ला बनाउन नागरिक समाजको सहयोग अपरिहार्य रहेको बताए । अपराधिक गतिविधि समाजमै हुने भएकाले नागरिकहरू नै सचेत भएर सुरक्षित समाज निर्माणमा अग्रसर हुनुपर्ने बताए । उनले प्रहरी र नागरिक मिलेर सुरक्षित सुर्खेत बनाउने अभियान सफल बनाउन आग्रह गरे ।

प्रकाशित मितिः   ३० बैशाख २०७५, आईतवार १७:३७