केपीएलको खेल तालिका सार्वजनिक

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ वैशाख ।
सुर्खेतमा हुने कर्णाली प्रिमियर लिग (केपीएल) को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बन्धुविकास सहकारी संस्थाले सहभागी क्लबहरूको समुहसहित शनिवार खेल तालिका सार्वजनिक गरेको हो ।
जेठ ३ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल भेरीगंगा क्रिकेट क्लब र टीकापुर क्रिकेट क्लबबीच हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, रूपन्देही–११, महाकाली क्रिकेट क्लब, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, एबीसी क्लब, धनगढी क्रिकेट एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, भेरीगंगा स्पोर्टस् क्लब र टिकापुर क्रिकेट क्लब गरी १० टिमले सहभागिता जनाउँदै छन् ।
त्रिभुवन आर्मी क्लबमा विनोद भण्डारी, रूपन्देही–११ मा शक्ति गौचन, महाकाली क्रिकेट क्लबमा प्रदीप ऐरी, धनगढी क्रिकेट एकेडमीमा भुवन कार्की, रोयल राइजिङ क्रिकेट क्लबमा विवश गिरी, मध्यपश्चिम क्रिकेट क्लबमा सुवेन्दु पाण्डे, भेरीगंगा स्पोर्टस् क्लबमा लोकेन्द्र विक, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा सञ्जय बस्नेत, एबीसी क्लबमा रवीन्द्र शाही र टिकापुर क्रिकेट क्लबमा राजन शेरचन कप्तान रहेका छन् ।
सहभागी टीमलाई दुई समूहमा विभाजन गरिएको छ । जसको समूह ‘ए’ मा त्रिभुवन, टिकापुर, रूपन्देही, भेरीगंगा र महाकाली छन् भने समूह ‘बी’ मा काठमाडौं, मध्यपश्चिम, रोयल राइजिंग, एबीसी र धनगडी क्रिकेट क्लब छन् ।
बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना र रुस्लानले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउने छन् । प्रत्येक खेलको म्यान अफ द् म्याचले २ हजार पाँच सय रूपैयाँ नगद प्राप्त गर्ने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार र उत्कृष्ट बलर तथा ब्याट्सम्यानले १०÷१० हजार रूपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक रेशम शाहीले जानकारी दिए । प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ ।
कर्णालीमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राखीको प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको यो पहिलो सिजन भएको भन्दै संयोजक शाहीले आगामी वर्षमा पनि नियमित प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए । कर्णालीमा क्षमतावान क्रिकेट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

प्रकाशित मितिः   ३० बैशाख २०७५, आईतवार १७:३४