पत्रकारिताका चुनौतीबारे छलफल

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ वैशाख ।
मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा देखिएका पत्रकारिताका चुनौतीबारे छलफल गरिएको छ । सञ्चार केन्द्र नेपालगन्जको आयोजना र नेपाल पत्रकार महासंघ सुर्खेतको सह–आयोजनामा शनिवार वीरेन्द्रनगरमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा स्थानीय सञ्चार माध्यामका समस्या, चुनौती र समाधानबारे छलफल गरिएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । उनले पत्रकारीताको विकासका लागि राज्यले गनुपर्ने काम गम्भीरतापूर्वक पूरा गर्नुपर्ने सुझाव दिए ।
महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले पत्रकारितालाई व्यवस्थित बनाउन शुद्धिकरण अभियानलाई कडाइका साथ लागू गरिने बताए । उनले महासंघको पहिलो भेलाबाट जारी गरेको सल्यान घोषणा पत्रलाई तत्काल कार्यान्वयन गर्ने बताए । पत्रकारिताका समस्या समाधानका लागि प्रदेश सरकारसँग महासंघले सहकार्य गर्ने उनको भनाइ थियो ।
पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष श्रीधर पौड्यालले मुलुक संघीय संरचनामा गइसकेपछि पत्रकारिता र सञ्चारसँग सम्बन्धित सबै सरकारी संरचनाहरू पनि प्रदेश तहमा आउनुपर्नेमा जोड दिए । उनले स्थानीय सञ्चार माध्यमलाई दिगो बनाउका लागि लोककल्याणकारी विज्ञापनमा वृद्धि गरिनुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्खेतस्थित क्रियाशील पत्रकारहरूको सहभागिता थियो ।

प्रकाशित मितिः   ३० बैशाख २०७५, आईतवार १७:३३