‘हेल्प डेस्क’ राख्न माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ वैशाख ।
सुन्दर नेपाल संस्था र एफएचआईको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत लेकवेशी नगरपालिकामा गठन भएको स्थानीय सभाका सदस्यहरूले सार्वजनिक सेवालाई सेवाग्राहीहरूको पहुँचसम्म सहजरूपले पु¥याउन नगरपालिकामा नागरिक हेल्प डेस्क राख्न माग गरेका छन् ।
नगरपालिका र अन्य इकाईहरूद्वारा प्रवाह गरिने कृषि, शिक्षा, स्वास्थ्यसँग सम्बन्धित सेवाहरूलाई सर्वसाधारणसम्म लैजानका लागि स्थानीयस्तरका सञ्जालहरूलाई सरकारी नीति नियमहरूमा जानकारी गराउने र सार्वजनिक सेवालाई प्रभावकारी गराउन सहयोग पु¥याउने उद्देश्यले गठित स्थानीय सभाले नगरपालिकाका वार्ड नं. ६ र ७ मा जनताले भोगेका समस्याहरूको बारेमा छलफल गरी सुधारका लागि वार्ड अध्यक्ष र नगर प्रशासनसँग गुनासाहरू राखेका थिए ।
स्थानीय सरकारसँग प्रयाप्त अधिकार भएको र जनताले गरेको अपेक्षा अनुसार सेवा प्राप्त गर्न अझै पनि असजिलो भएको कुरा बैठकमा छलफल भएको थियो । शिक्षाको गुणस्तर सुधारका लागि धेरै प्रयास गरिएको भए पनि विद्यार्थी, शिक्षक र अभिभावक बीचको समन्वयको कमीका कारण सोचे जस्तो सुधार हुन नसकेको र विद्यालयमा विद्यालय सहयोगी राखिएको भएता पनि आधारभूत तहका विद्यार्थीलाई पानी बोक्न लगाउने जस्तो कार्य भएको र उक्त कार्य रोक्न विद्यालय प्रशासनलाई सुझाव दिनुपर्ने कुरा सदस्य विनु घर्तीले बताएकी छिन् । यसैगरी नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरू नागरिक वडापत्रको अभावमा कुनै पनि कामको प्रक्रिया बारे अनभिज्ञ रहेको र काममा ढिला सुस्ती हुने गरेको हुँदा नागरिक वडा पत्र राख्न र
नागरिक हेल्प डेस्क राख्न माग गरेका छन् ।
यसैगरी स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा गरेका विरामीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा पालो कुर्नुपर्ने जस्ता गुनासाहरू राखी त्यसको लागि आवश्यक सुधारको लागि पहल गर्न छलफल चलाएका थिए ।
स्थानीय सभाको बैठक लक्ष्मी पुनको अध्यक्षता तथा लेकवेशी नगरपालिका वार्ड नं ६ र ७ का वार्ड अध्यक्ष भिमसेन पुन र चन्द्रबहादुर नेपालीको आतिथ्यता र स्वास्थ्यका प्रतिनिधि लगायत विभिन्न सञ्जालको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   ३० बैशाख २०७५, आईतवार १७:३०