बुढेसकालमा पूरा हुँदै जवानीका रहर
साझा बिसौनी संवाददाता
दैलेख, २९ वैशाख ।
जवानी छँदा राम्रो लाउन, राम्रै खान र नयाँ ठाउँ घुम्न निकै रहर लाग्थ्यो, दैलेखका प्रभाखर जैसीलाई । पारिवारिक समस्या र गरिबीका कारण मनका रहर मारेरै जवानी बिताए । टालो हालेका कपडाकै भरमा चल्यो उनको वयस्क उमेर । बाल्यकालदेखि वयस्क उमेरसम्म पूरा नभएका ती रहरहरू बुढेशकाल सुरु भएदेखि पूरा हुन थालेका छन् ।
‘बाल्यकाल आधा जिउ ढाक्ने कपडामा बिताइयो, जवानीमा तीन÷चार दशैपछि अर्को लुगा फेरिन्थ्यो’ दुःखका दिन सम्झिदै उनी भन्छन्, ‘बुढेशकाल लागेपछि के लगाउँ, के खाउँ भन्ने छैन् । मन परेको लगाउन र खान पाइएकै छ ।’ हाटबाट ल्याएको एकजोर कपडाले चार÷पाँच वर्ष टार्ने उनी अहिले वर्षमा दुई÷तीन जोर पटक कपडा फेर्न पाउँछन्, जसले गर्दा निकै खुशी छन् । ७४ वर्षीय प्रभाखरलाई बुढेशकाल लागेदेखि जवानी सुरु भएको भान भएको छ । भन्छन्, ‘उम्मेर हुँदा टाँलो हालेको ठेटुवा र पोलिस्टरले चल्यो । मनले रोजेको लगाउन त परै हो लाज ढाक्न गाह्रो थियो । तर, अहिले लाग्छ बुढेशकालमा जवानी रिटेको
(फेरिएको) छ ।’
६० वर्ष पुगेदेखि उनी जवानीमा पाएका दुःख भुल्दै गएका छन् । बुढेशकालमा निकै दुःख हुन्छ होला सोचेका उनले जवानीको अनुभव हिजोआज गर्न पाएका छन् । विगत १४ वर्षदेखि सरकारले दिने सामाजिक सुरक्षा भत्तामार्फत् दैनिकी चलाउँदै आएका उनलाई यसपाली भगवतीमाइ गाउँपालिकाले एक जोर दौरा र सुरवाल दिएको छ । संघीय संरचना अनुसार अधिकार सम्पन्न स्थानीय सरकारले मासिक एक हजार सामाजिक सुरक्षा भत्ता नघटाएर पोशाक दिएपछि उनले ती दिन याद गरे । भने, ‘जवानीका नयाँ कपडा कुर्दा बुढेसकालमा सरकारले धोको पुरा ग¥यो । उमेरले बुढो भए पनि रहर भने जवानीका पूरा भए ।’ लालनपालनका लागि सन्तान नभए पनि सरकारले दिएको सामाजिक सुरक्षा भत्ताकै भरमा चलेको छ, उनको बुढेशकाल । दाइका छोरा बुहारीसँग बस्दै आएका उनको परिवारमा वर्षभरीको कमाइले दुई महिना धान्न धौं–धौं हुन्छ । ‘दाईको छोराले कमाएको पैसाबाट चामल किन्नै ठीक्क हुन्छ, छोरी पढाउन त मुस्किल नै छ’ घरका दुःख सुनाउँदै उनले भने, ‘बुढेसकालमा परिवारमा केही लगाउँछ की ?, केही खान्छ की ? भन्ने वातावरण नभए पनि सरकारले भोकै मर्नपर्ने अवस्था पारेको छैन ।’ नेपाल सरकारबाट मासिक रूपमा एक हजार रूपैयाँ सामाजिक सुरक्षा भत्तासँगै गाउँपालिकाले पोशाक दिएपछि बुढेशकालमा थप साहारा मिलेको छ, उनलाई । भगवतीमाई–३ मेहेल्तोलीका रविलाल रेग्मी
पनि आजभोलि निकै खुशी छन् । बुढेसकालमा जीवन जिउनलाई सरकारले दिने भत्ताले जवानीका रहरहरू पूरा हुँदै गएको उनी बताउँछन् । ‘एक जोर कपडा लगाउन तीन महिना नुन बोक्नु पथ्र्यो’ विगत सम्झदै उनले भने, ‘यातायातको असुविधाले भारतको रूपैडियाको नुन हुम्ला पु¥याउन २०÷२५ दिन लाग्थ्यो । तीन रूपैयाँ कमाई हुन्थ्यो ।’
बुढेशकाल लागेसँगै काम गर्न नसक्ने उनलाई सामाजिक सुरक्षा भत्ताले जिविका चलाउन मदत भएको छ । उनले थपे, ‘परिवारबाट बेवास्था खेप्नु परे पनि भत्ताले बुढेशकालमा धेरै रहर पूरा भएका छन् । नयाँ वर्ष, दशैं, माघेसंक्रान्ति चाडपर्वमा मनाउँदा छानीछानी कपडा लगाउन पाइएकै छ । मन लागेको चिज खानलाई पैसा छैन भन्नुपर्ने अवस्था छैन ।’ महिनाको पाँच सय पाउँदा उदारो तिर्दै सकिन्थ्यो उनको सामाजिक सुरक्षा भत्ता । सरकारले भत्ता बढाएर मासिक एक हजार दिन थालेको छ । सामाजिक सुरक्षा भत्ता नघट्ने गरी पुरुषका लागि दौरा सुरवाल र महिलाका लागि गुन्यौ चोली दिएपछि प्रवाखर र रविलाल जस्ता भगवतीमाइका वृद्धवृद्धाहरू निकै खुशी छन् ।
स्थानीय सरकराले एक जोर कपडा दिएपछि के लगाउने भन्ने चिन्ता हटेको छ । गाउँपालिकाको वृद्ध सुरक्षा कार्यक्रमअन्तरगत दुई सय वृद्धवृद्धाहरूलाई दौरा सुरवाल र गुन्यौ चोलो वितरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत भीम बुढाले बताए । उनका अनुसार गाउँपालिकाले हिउँदे अधिवेशनबाट शीर्षक परिवर्तन गरी सात लाख रूपैयाँ बराबरको पोसाक वितरण गरिएको हो । गाउँपालिकाले वृद्धवृद्धालाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न लोकप्रिय कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
साझा बिसौनी ।