व्यवस्थित बनाइदै वीरेन्द्रनगर

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ वैशाख ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल थालेको छ । नगरलाई सुन्दर र मनमोहक बनाउन थालिएको हो । साविकको क्षेत्रीय सदरमुकाम रहेको वीरेन्द्रनगरलाई व्यवस्थित बनाउने रणनीति अनुसार सडक अतिक्रमण हटाउनेदेखि भत्किएका र बिग्रिएका पुराना संरचनाका ठाउँमा नयाँ र व्यवस्थित संरचना निर्माणका लागि पहल थालिएको छ ।


वीरेन्द्रनगर नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रकम विनियोजन गरी यहाँका पुराना संरचनालाई पुनर्निर्माण, मर्मत सुधार गर्न लागेको हो । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वाराका रूपमा रहेको वीरेन्द्रनगरलाई नगरपालिकाले विशेष योजना बनाएर व्यवस्थित गर्न लागेको हो । योजना अन्तर्गत पहिलो चरणमा अव्यवस्थित रूपमा निर्माण गरिएका टहरा हटाइएको थियो । नगरपालिकाले दिएको जानाकारी अनुसार वीरेन्द्रनगरलाई व्यवस्थित गर्न, ट्राफिक समस्या समाधान र हरित नगरका रूपमा विकास गर्न लागिएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विगतदेखि अस्त–व्यस्त रहेको वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन लागिएको बताए । उनले नगरलाई रमणीय, स्वच्छ र स्वस्थ नगर बनाउने योजना अनुसार नगरपालिकाले तीव्ररूपमा काम बढाएको छ ।
मुख्य बजार क्षेत्रमा रहेका चौकका केही पूराना संरचनाहरू पनि हटाएर नयाँ बनाइने भएको छ । नगरपालिकाको वडा नं. ६ स्थित रहेका वीरेन्द्रचौक र मंगलगढीचौकलाई भत्काइएको हो । चौकको अवस्था अस्त–व्यस्त भएकाले सफा र रङ्गरोगनसहित पुनर्निर्माणका लागि भत्काइएको वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर खड्काले जानकारी दिए । व्यवस्थित शहर बनाउने योजना अनुसार नै भत्काइएको चौकहरूलाई नगरपालिकाको गुरुयोजनामा समेटेर पुनर्निर्माण गरिने भएको हो ।
मुख्य बजारमा रहेको वीरेन्द्रचौकले ठूलो क्षेत्र ओगटेर सडक साँघुरो बनाएकाले त्यसलाई सानो र व्यवस्थित क्षेत्रको रूपमा पूनर्निर्माण गरिने अधिकृत खड्काले बताए । उनकाअनुसार बढ्दो शहरीकरणसँगै चौकको आकार ठूलो हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । अब वीरेन्द्रचौकमा ट्राफिक दुर्घटना रोक्नसमेत मद्दत पुग्ने गरी सानो चौक निर्माण गरिनेछ । नगरपालिकाबाट चौक निर्माणका लागि पाँच लाख रूपैयाँ विनियोजन गरिएको छ । अधिकृत खड्काले दिएको जानकारी अनुसार हरित नगर बनाउन वीरेन्द्रचौक र मंगलगढीचौक वरिपरि गमला राखी फूलहरू रोप्नुका साथै बत्तीसमेत जडान गरिनेछ ।
वीरेन्द्रचौकलाई सानो आकारमा पुनर्निर्माण गरिनेछ भने चारलेन सडक निर्माणका लागि मंगलगढीचौकलाई भत्काइएको हो । जसका लागि सडक डिभिजन कार्यालय सुर्खेतसँग नगरपालिकाले सहकार्य गरेको छ । पहिलो चरणमा टहरा भत्काएको नगरपालिकाले दोस्रो चरणमा व्यवस्थितसहित पूनर्निर्माणका लागि चौक भत्काइएको हो । पूर्व राजा वीरेन्द्र शाहको शालिक भने एक दशकअघि नै भत्काइएको थियो । शालिक फालेपछि अव्यवस्थित बनेको वीरेन्द्रचौक व्यवस्थित बनाउन लागिएको नगरपालिकाले जनाएको छ । उपभोक्ता समितिमार्फत् निर्माण थालिएको चौकमा शालिक निर्माण भने नगर्ने नगरपालिकाले जानकारी दिएको छ ।
सुन्दर नगरका रूपमा परिचित गर्न टहरा हटाइएको खाली ठाउँमा हरित पार्क निर्माण गर्न योजना अगाडि सारिएको हो । नगरप्रमुख सुवेदीका अनुसार घण्टाघरस्थित खाली जग्गामा हरित पार्क निर्माण गर्ने नगरपालिकाको योजना छ । आगामी वर्षे अधिवेशनमा व्यवस्थित, हरित, सुन्दर र स्वच्छ नगर बनाउन आवश्यक रणनीतिसहितको गुरुयोजना निर्माण गरिने भएको छ । यस्तै, पार्किङ्गलाई व्यवस्थित गर्ने, सडकका जेब्रा क्रस, बत्ती र सबै स्थानमा सीसी क्यामेरा जडान गरिने नगरप्रमुख सुवेदीले बताए । बढ्दो प्लटिङ्गका कारण नगर क्षेत्र कुरूप बन्दै गएकाले त्यसलाई व्यवस्थित गर्नसमेत लागिएको छ । ‘जग्गा प्लटिङ्ग रोक्न विज्ञको टोली वीरेन्द्रनगरमा आउँदैछ’ प्रमुख सुवेदीले भने, ‘नयाँ संरचना अनुसार गुरुयोजना निर्माण नभएकाले आगामी सभाबाट व्यवस्थित नगर बनाउन गुरुयोजनासमेत निर्माण गरिदैंछ ।’ मापदण्ड नै तोकेर नगरपालिका व्यवस्थित बनाउन लागिएको उनले बताए । ‘कुन क्षेत्र बस्ती विस्तार गर्ने, कुन क्षेत्र खेती गर्ने लगायतका रणनीति बनाएर गुरुयोजना निर्माण गरिदैंछ ।’ असोजसम्म वीरेन्द्रनगर व्यवस्थित गरिसक्ने प्रमुख सुवेदीको दाबी छ ।
चौक भत्काएकोमा विरोध
यसैबीच वीरेन्द्रनगर नगरपालिकाले मुख्य बजारमा रहेको वीरेन्द्रचौक भत्काउन थालेपछि स्थानीयबाट विरोध भएको छ । नगरपालिकाले पूर्वराजा वीरेन्द्रको सालिक रहेको स्थानमा पानीको फोहोरा राख्ने गरी पुनर्निर्माण गर्ने भन्दै बिहीवार राती चौकमा डोजर लगाएको थियो ।
डोजर लगाएर उक्त संरचना भत्काइएपछि सामाजिक सञ्जालमा तीव्र विरोध भएको छ । त्यसैगरी स्थानीय युवाहरू ललित भट्टराई, चिन्तामणि शर्मा लगायतले भने वीरेन्द्रनगरको इतिहास जोगाउन सो स्थानमा वीरेन्द्रकै सालिक राख्न माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका छन् ।
‘वीरेन्द्रनगरको इतिहास नै मेटाउने उद्देश्य साथ सडक सुरक्षा विपरित हुन थालेको काम तुरुन्त रोकेर इतिहासको संरक्षण गरियोस्,’ नगरपालिका कार्यालयमा पेश गर्न सुरु गरिएको हस्ताक्षरपत्रमा भनिएको छ, ‘त्यहाँ वीरेन्द्रको सालिकसहित सुन्दर चौक निर्माण गरियोस् ।’

प्रकाशित मितिः   २९ बैशाख २०७५, शनिबार १६:१६