आमसञ्चार प्रतिष्ठान गठन गर्न माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ वैशाख ।
नेपाल पत्रकार महासंंघ, कर्णाली प्रदेश कार्यसमितिको सल्यानमा सम्पन्न पहिलो बैठकले १० बुँदे घोषणापत्र जारी गरेको छ । सल्यानको खैरावाङमा बसेको बैठकले शुक्रवार घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमार्फत् कर्णाली प्रदेशमा आम सञ्चार प्रतिष्ठान स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । प्रेसको भूमिका बढाउन, पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र मिडियाको स्तरोन्नतिका लागि कर्णाली प्रदेशमा आम सञ्चार प्रतिष्ठान स्थापनाका लागि बजेटको व्यवस्था गर्न सरकारसँग महासंघले माग गरेको हो । महासंघले यसका लागि पहल गर्न कर्णाली प्रदेश सरकारसँग अनुरोध समेत गरेको छ ।
त्यसैगरी प्रेसको अधिकारलाई कानुनी, नीतिगत र व्यवहारिक रूपमा सुरक्षित गरी प्रेसको व्यापक भूमिका सुनिश्चित गराउनुपर्ने, विचार र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुनुपर्ने, राज्य र गैरराज्य पक्षबाट भइरहेका प्रहारको अन्त्य हुनुपर्ने बताइएको छ । मिडिया कानुनका लागि प्रस्तावित ड्राफ्टमा श्रमजीवी पत्रकार ऐन २०५१ खारेज गर्न प्रस्ताव गरिएकोप्रति आपत्ति जनाउँदै श्रमजीवी पत्रकार ऐन पूर्णरूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुका साथै अब बन्ने सबै नीति, कानुन, ऐनलाई मिडियामैत्री बनाउन पनि अनुरोध गरिएको छ ।
महासंघले साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धनको लागि विशेष नीति ल्याउनुपर्ने, समानुपातिक विज्ञापन नीति यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, सञ्चार उपकरणमा दिइने अनुदान रकम बढाउन र कर छुट गर्नुपर्ने, महासंघको सदस्यता सुद्धीकरण र यसको संस्थागत
विकासका लागि काम गर्ने प्रतिबद्धता पनि महासंघले जनाएको छ । कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष अभियान’लाई सफल बनाउनका लागि सबै मिडियालाई लाग्न र त्यसका लागि महासंघकोतर्पmबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि घोषणापत्रमार्फत व्यक्त गरिएको महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माले जानकारी दिए ।

प्रकाशित मितिः   २९ बैशाख २०७५, शनिबार १६:१४