‘कृषि पढ्नु मेरो सपना हो’

कुशे गाउँपालिका–२ टाले गाउँ जाजरकोटका पूर्णसिंह ठकुरी वि.सं. २०५३ सालमा बुबा बिर्खबहादुर सिंह र आमा पदमकला सिंह ठकुरीको कोखबाट जन्मिएका हुन् । पाँच भाइबहिनीमध्ये घरका साइला छोरा बिर्ख सानैदेखि चञ्चले स्वभावका थिए । जाजरकोटको विकट गाउँमा जन्मिएका पूर्णलाई सानैदेखि कृषि विज्ञान पढ्ने ठूलो रहर थियो । त्यही रहर पूरा गर्नको लागि पूर्र्णले वि.सं. २०७१ सालमा एसएलसी उत्तीर्ण गरेपछि आईएस्सीएजी पढे । कृषिप्रधान देश नेपालमा कृषिको सम्भावना धेरै छ भन्ने सोच्दछन् उनी । श्री जनज्योति माध्यमिक विद्यालय पाखा–५ कालिकोटमा आईएस्सीएजी पढ्दै गरेका पूर्णसिंह ठकुरीले आफ्नो कलेज लाइफकाबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खुलेः

फरक सपना पनि प्राप्ति भयो
मेरो सानैदेखिको सपना कृषितिरै हो तर मेरो घरपरिवारको चाहाना भने एचए पढाउने थियो । मैले वि.सं. २०७१ सालमा मानेढुङ्गा उच्च माध्यमिक विद्यालय टालेगाउँ जाजरकोटबाट एसएलसी उत्तीर्ण गरेको हुँ । म घरको साइलो सन्तान हँु । परिवारको चाहाना एकातिर भए पनि मेरो परिवारले मेरो कृषिको चाहानालाई पूरा गर्नको लागि मलाई कालिकोट पठाउनुभयो । मेरो पढाइमा एक वर्ष अवरोध भयो, बिरामी भएर । २०७३ सालदेखि म कालिकोटको जनज्योति माध्यमिक विद्यालय पाखा–५ आईएस्सीएजी पढ्दै छु । मेरो सपना र परिवारको सपना नमिल्दो भए पनि मैलै आफ्नो सपनाको बाटो प्राप्त गरें त्यसमा म एकदमै खुशी छु ।
कलेजको पहिलो दिन
कलेजको पहिलो दिन जाजरकोटबाट कालिकोट गएको थिएँ । पढ्नको लागि कस्ता कस्ता शहरहरूमा त हामी विद्यार्थीहरूले संघर्ष गरेका हुन्छौं भने गाउँको मान्छे गाउँमै गएर पढ्न पाउँदा त एक किसिमको आनन्द भएको थियो । तर जस्तो गाउँ भए पनि बिरानो ठाउँमा त अलिकति फरक भइहाल्छ नि । मलाई कता कता डर लागिरहेको थियो । अर्कोतिर मेरो सपना जो थियो कृषि पढ्ने त्यो पूरा भएको देख्दा म खुशी पनी त्यत्तिकै थिएँ । कलेजबाट फर्किंदा भने मलाई मेरो ईच्छा पूरा भएको अनुभूति भयो ।
वास्तवमा कलेजको पढाइ र विद्यालयको पढाइमा फरक त हुन्छ नै । अनुशासनका कुरादेखि लिएर विद्यार्थीले गर्ने व्यवहारमा समेत कलेज लाइफमा फरक हुने रहेछ । आफैलाई अभिभावक मान्नपर्ने कतिपय परिस्थिति पनि कलेज लाइफमा आउने गर्दछन् । विद्यालयमा जति अरुको भरमा बाँचिन्छ त्यो पूरै परिवर्तन भएर आफै अभिभावक बन्नुपर्ने कलेज लाइफमा । कलेजको पढाइ प्रयोगात्मक विधिको हुन्छ त्यसमा पनि प्राविधिक लाइन अझ बढी प्रयोगात्मक हुन्छ । मैले कलेजको अलवा घरमा पाँच घण्टा जति पढ्ने गरेको छु ।
बिहानै उठ्न साह्रै अल्छि लाग्छ
घरमा दाईदिदीहरूसँग हुर्केको मान्छे, विद्यालय जानेबेलामा अबेरसम्म सुत्ने तर कलेज जानेबेलामा बिहान उठ्नुपर्दा सा¥है अल्छि लाग्छ । तर पनि मेरो कृषिप्रतिको मायाले उठाउँछ । पढ्नै नपरे हुन्थ्यो जस्तो त लाग्दैन । आईएसीएजीमा प्रयोगात्मक विधि अपनाउनुपर्ने हुन्छ, खेतबारीमा पनि गइन्छ । तर पनि रमाइलो नै लाग्छ । कलेजको राम्रो पक्ष धेरै छन् जहाँ भविष्यको ढोका खुल्ला हुन्छ, विद्यार्थी अनुशासित हुनुपर्छ । सिस्टममा बस्नुपर्छ, कलेजमा त्यो पनी राम्रै लाग्छ । कलेजमा नयाँ साथीहरूलाई स्वागत कार्यक्रम गर्ने त्यो भने कलेजको राम्रो पक्ष हो जसले नयाँ विद्यार्थीलाई हौसला प्राप्त हुन्छ । नराम्रो पक्ष खास कलेजमा छैनन् । तर पढाइका नाममा राजनीतिको खेल हुन्छ त्यो त्यति राम्रो लाग्दैन । हुन त म पनी राजनीतिमा ईच्छा राख्छु । कहिले काहीं राजनैतिक कार्यक्रममा पनि भाग लिएको छु । तर कलेजको पढाइलाई नै हानी गर्ने गरी गरेको राजनीतिले सबैलाई फाइदा गर्दैन । केही सीमित विद्यार्थीको फाइदाको लागि कलेजमा खुलेआम राजनीति चलाइन्छ त्यो भने मलाई पटक्कै मन पर्दैन । क्लास बंक गरेकै छैन । फिल्म हेर्न भने बिदाको समए मिलाएर साथीहरूसँग गइन्छ ।
डेटिङ गएको छु
प्रेम दुःख सुख साट्ने माध्यम हो । मैले पनि कसैसँग प्रेम गरेको छु । डेटिङ पनि गएको छु । वर्तमान समयमा प्रेमका नाममा विकृती आएको छ, त्यसको म घोर विरोधी हुँ । मेरोे विचारमा पहिलो प्रेम नै अन्तिम प्रेम हो । प्रेमलाई विवाहमा परिणत गर्नु पर्दछ । प्रेमका नाममा कसैको भविष्य र जिन्दगीसँग धेरैले खेलेका हुन्छन् त्यसमा मेरो ध्यान छैन ।
कृषिमा योगदान पुर्‍याउँछु
नेपाल कृषिप्रधान देश त्यसमा पनी म गाउँमा जन्मिएको मान्छे । कृषी हाम्रो जीवनपद्धती नै बनेको हुन्छ । कतिपय विद्यार्थीको चाहाना एसएलसी पास गरिसकेपछि सुकिला–मुकिला भएर हिँड्ने चाहना राखेका हुन्छन् । त्यसको लागि पाइलट, डाक्टर पढ्न विदेशिने गर्छन् । त्यो मेरो परिवारको आर्थिक अवस्थाले पनि दिन्न र ऋण नै गरेर पढ्न पनि मलाई रहर छैन । आईएसीएजी पढेर कृषिमा योगदान गर्ने ठूलो सपना बाकेर म कालिकोट गएर पढ्दै छु । आफ्नै गाउँठाउँमा गएर सेवा गर्ने अवसर मिल्यो भने त झन् सुनमा सुगन्ध नै थपिने थियो । पढाइ बाहेक मलाई घुम्न मनपर्छ । राजनीतिमा पनी रुची छ तर त्यसैमा लाग्छु भन्ने त होइन पछाडिबाट सहयोग गर्न सकिन्छ ।