छाउगोठ
कर्णबहादुर सहकारी
चारैतिर हिउँले ढाकिएको एउटा सानो गाउँ थियो । गाउँको बीचमा एउटा नदी र नदीको दुई वटा शाखा नदी खोलाहरू थिए । दुई वटा खोलाको बीचमा एउटा सानो गाउँ थियो । फाटफुट रूपमा औंलामा गन्न मिल्ने घरहरू थिए । गाउँको बीचमा मिनाको घर थियो । ऊ कक्षा आठमा पढ्थी । उमेरले १४ वर्षकी भर्खरै यौवन अवस्थामा प्रवेश गरेकी बालिका हो । उसको घर नजिकै पट्टी प्रेमाको घर छ । प्रेमा उसको काकाको छोरी हो । मीना प्रेमाभन्दा केही महिनाले जेठी हो । उनीहरू एउटै कक्षामा पढ्थे । नाताले दिदीबहिनी, कक्षामा साथी भएकोले होला उनीहरू एकदमै मिलेर बस्थे । सँगै स्कुल जाने, कक्षामा सँगै बस्ने, घरबाट लिएको खाजा बाँडीचँुडी खाने, सँगै घर फर्किने, साँझ बिहान स्याउला घाँस सँगसँगै गर्ने, गृहकार्य गर्दा एकैसाथ बसेर गर्ने, खाँदा पहिले जहाँ जे पाक्यो त्यही खाने गर्दथे । दुवै घरका लागि उनीहरू प्रिय पात्र बनेका थिए । स्कुलमा साथीहरू र शिक्षकसँग पनि उत्तिकै प्रिय बनेका थिए ।
मिना घरको कान्छी छोरी हो । उसको घरमा उसका दाजु, भाउजु आमा बुबा र एउटा दिदी जो पहिले बिहे गरेर पराइ घर गइसकेकी थिइ । उसको दाजु पेशाले शिक्षक, भाउजु महिला स्वास्थ्य स्वयम् सविका थिए । बुबा किसान भए पनि जमनाका पाँच पास र आमा औंठा छाप थिए । गाउँका हुनेखाने मध्येको एउटा घर थियो । धर्मकर्म गर्ने, पूँजापाठ गर्ने एक संस्कारी घर । मीनाको घरको पश्चिमपट्टी करिब १० देखि १२ मिटरको दूरीमा अलि पुरानो जस्तो देखिने, एक तलाको, ढुङ्गा र माटोको मिश्रणबाट निर्मित पाटको छानो भएको सानो आकारको घर छ । जुन छाउगोठ थियो । महिनावारी भएका स्त्रीहरू बस्ने घर, जसलाई गाउँलेहरू छाउपडी गोठ पनि भन्थे । प्राय गाउँलेहरू सबैको घरमा एउटा–एउटा छाउपडी गोठ हुन्छन् ।
मीनाको दाइ रामे शिक्षक थियो । त्यसैले ऊ महिनावारीलाई स्त्रीहरूको एक शारीरिक प्रक्रिया मान्दै त्यसमा अछुत मान्नुपर्ने कुनै तŒवगत आधार र कारण नभएको भन्दै घरदेखि लिएर छरछिमेक स्कुलमा पठाउँदा समेत भन्ने गथ्र्यो । रामकी श्रीमती कमला पेशाले स्वास्थ्य स्वयम सेविका भएकीले ऊ पनि रामेको विचारमा सहमत थिइ । ऊ महिनावारी बार्न हिच्किचाउँथी । उनीहरू दुवै जना घरमा महिनावारी बार्न नहुने कुरा गर्थे तर यो कुरा रामेको आमा बुबालाई मन पर्दैनथ्यो । यस विषयमा घरमा प्रायः कलह भइरहन्थ्यो । सासु र ससुराको आदर्श मिच्न नसकेर कमला सधैं महिनावारी हँुदा चाहीं त्यही छाउगोठमा बस्न बाध्य हुन्थी । गाउँका महिलालाई सुचित गर्दै, सम्झाउँदै हिँड्न जति सजिलो थियो, त्यतिकै गाह्रो थियो, घरका अनपढ सासु–ससुरालाई मनाउन कमलालाई । ऊ मनमनै सोच्थी । ‘पत्थर रुझोस त मुर्ख बुझोस्’ कमलाले गाउँका महिलाहरूलाई भेला गराइ सम्झाउने विचार गरी एकदिन गाउँका सबै आइमाइहरूलाई जम्मा गरेर भनि, ‘छाउ हुनु हामी महिलाहरूको एक स्वभाविक र शारीरिक प्रक्रिया हो । यसको चक्र करिब प्रत्यक २८ दिनमा दोहोरिने हँुदा यसलाई महिनावारी भनिन्छ । हाम्रो पाठेघरमा निषेचित अण्डकोशहरू हुन्छन् ।’ कमलाले यसो भनिरहँदा गाउँले महिलाहरू एकले अर्कालालाई हेर्दै मुख छोपी–छोपी हाँस्थे । ऊ भन्दै थिइ, ‘पाठेघरमा ती अण्डकोष विभाजन प्रक्रिया एकदमै तीव्र गतिमा हुने गर्दछ । जसले गर्दा पाठेघरको भित्ता बाख्लो भइ गर्भाधानमा सघाउँछन् । यदि अण्ड निषेचित नभएमा रगतमा प्रोजेष्टेरोन र इष्ट्रोजन हर्माेनको आपूर्ति बन्द हन्छ । जसले गर्दा पाठेघरको भित्तामा रहेका रक्तनलीहरू फुट्छन् र कोषहरू मर्छन् । अनि रगत निस्किन्छ, मासिक रक्तस्राव हुन्छ । यो प्रक्रिया चार देखि पाँच दिनको हुन्छ । त्यसपछि ती रक्तकोषहरू, रक्तनलीहरू र ग्रन्थीहरूको विकास फेरि सुरु हन्छ । अण्ड निषेचित भएमा वा गर्भाधान भएमा महिनावारी हँुदैन । सामान्यतया १३ देखि १४ वर्ष पुगेपछि यौवनावस्था सुरु हन्छ । त्यसपछि स्त्रीहरूमा रज्वस्वाला वा महिनावारी सुरु हुन्छ ।’ सबै महिलाहरूले पहिले पहिले लाज मानेजस्तो गरे पनि अहिले भने कमलाको कुरा चाखपूर्वक सुनिरहेका थिए । केही अघिल्लो पुस्ताकाले दिक्क मानेजस्तो गरे पनि नयाँ पुस्ताका प्रायः सबैजसो महिलाहरूले कमलाको कुरामा समर्थन जनाए । कमलाले आमा समूह गठन गरी छाउपडी गोठ भत्काउने अभियानको रणनीति बनाएकी थिइ । उक्त कुरा उसले मासमा राखी तर उक्त कुरा त्यो पुरुषप्रधान गोठाले समाजमा असम्भव प्रायः थियो । केही बुढा पाका महिलाहरूले ‘जे पो गर , हामी त केही लाग्दैनौं’ भनेर हिँडेपछि समस्या थपियो र अर्काे दिन गर्ने भन्दै सबैजना आ–आफ्नो घरतिर लागे ।
त्यसको केही दिनपछि मिना पहिलो पटक महिनावारी भइ । घरमा कसैलाई थाहा नै थिएन । साँझको बेला थियो माघको महिना, कठ्यांग्रीने जाडो त्यसमा पनि दुई दिनदेखि परिरहेको हिउँले गाउँनै सेताम्य भएको थियो । दिनैभरी हिउँ वर्षिरहेकाले चूल्हो निभेको थिएन । खाना चाँडै पाकेछ, सबैले खाना खाए । मीना प्रेमाको घर होलि भनेर कसैले वास्ता गरेनन् । सबैजना सुत्ने तर्खरमा थिए । त्यही बेलामा प्रेमा आएर भनि ‘ठूली मम्मी मीना दी छुई भइछे ।’ सायद उसले लाज मानेर कसैलाई पनि भनेकी थिइन । प्रेमा पनि त्यो दिन अलि ढिलो आइछे, उसको घर । त्यसपछि घरमा खैलाबैला मच्चियो रामे र कमलाले घरभित्रै बस्ने कुरा गरेपछि उसका आमा बुबा जोस्सिए ‘नाई नाई नाई हुँदैन, छुइगोठ आगो ले र बाल्दे, जा प्रेमा’ भनेर रामेका बाले भने । रामेले भन्यो ‘केही हँुदैन बाबा यदी भोलि केही भइहाल्यो भने पनि त्यसको जिम्मेवारी म लिन्छु ।’ ‘अँ केही हँुदैन हो, आफ्नो जिउ गलेर बिरामी छौं, भैंसाले दिन छोड्यो । बेली छकाल धामी हेरायाँर छुइछाइको दोख छ, तेरा घर तेरो जिउ गलाउँने, भैंसो नदिने, अर्काे भैंसो बाँठै रहन्या भन्यो, धामीले । केही हुँदैन भनिस् ।’ भन्दै कराउँदै थिए । त्यतिबेलासम्म मीनाकी आमा र कमलाले गोठ सफा गरेर आगो बालिसकेका थिए र चुहिएको ठाउँमा भित्रबाट प्लाष्टिक लगाएर, ओत लाग्ने भन्दै तीन वटा फ्ल्याकसमेत बिछ्याइदिसकेका थिए । प्रेमाले उसका ओढ्ने र बिछ्याउने राडी, पाखी सबै तयार पारेर गोठमा पु¥याइसकेकी थिइ । यता रामेका बाबु छोराको झगडा सकिएको थिएन । रामेका बा एकलौटि बोलिरहेका थिए । ‘छुइपडी भित्र राख्नेभया म यै घर बस्तैन । म निस्केर जान्छु यो घरबाट तमीहरू बस मोल्खा चाल्खा होऊ, ज्या हर्दा छौ हर,’ आफू म¥या डुमै राजा, मै बुढो मर्न धेक्याका त हौला ।’ भन्दै कराउँदै थिए । रामेका परिवार बुढा आमा बुबासँग हारेर यिनीहरूबाट नसकिने र धेरै बोले अनर्थ हुने संकेत देखेर चुपचाप लागेर सुते । मीना भोकै थिइ । प्रेमाले भनि ठूली मम्मी मीनालाई खाना के छ ? आमाले ‘भनिन् अघिदेइ कोल्लेइ केही थाहा पायाँउन, तिउन त छियो लौनी हाली भुट्याको दिनुहुँदैन, भन्दै मकैको सुख्खा दुईवटा रोटीमाथि नुन खुर्सानी चट्नी राखेर लिन भनिन् । महिनावारी भएका बेला दुध दही, मोही, घ्यू खान नहुने, घर छोइन नहुने, गाइवस्तु छुन नहुने पूजापाठको कुरा त परको कुरा, मन्दिर नजिकसमेत जान नहुने आदि जस्ता बन्देज लगाइएको हुन्छ । प्रेमा लिएर गइ, जिस्काँउदै भनि, ‘ल ओए छुईपडी खाना खा ।’ मीना चुलो भरी आगो बालेर बसिरहेकी थिइ । छि ! तिउन ल्याइनस् सिमीको दाल पकाउँदै हुनुहुन्थ्यो त दिउँसो आमाले, भन्दै थिइ, प्रेमाले बीचैमा कुरा काटेर भनि ‘जैबेला छुइ भइथिस्, उही बेला भन्नु पर्दैन त घरमा शर्माएर लुकेर बस्नुपथ्र्यो ? तिउन पकाथ्यो, नौनी हाल्नुभो रे ममीले, नौनीले झानेको खान हँुदैन, तँलाइ थाहै छ त ।’ अलिक ठूलो स्वरले भनी, ‘क्यार्छेस् त अब तेरै भाग्य खोटी हो । जति रुच्छ खा अनि सुत् ।’
बिचरी ! मीना लागेको भोक पनि हराएर गयो । आजसम्म त्यसरी सुक्खा रोटी नखाएको बानी डिल भाँच्दै धौ–धौ गरी आधा रोटी खाइ । स्कुल जाडो बिदा भएको, बिहान पनि कतै काममा जानुपर्ने थिएन । केहीबेर आफ्नै बारेमा सोच्दा सोच्दै चुलोभरी रातभरीलाई पुग्नेगरी दाउरा जोतेर उनीहरू सुते ।
रात सुनसान थियो । आगो दनदनी बलिरहेको थियो । पुरानो भएको गोठ चुहिएर भित्तासम्म गलेका थिए । प्रेमा हिउँमा बाहिरभित्र गर्दागर्दै भिजेकोले होला ओच्छ्यानमा पल्टिने बित्तिकै भुसुक्कै निदाइसकेकी थिइ । तर मीनालाई निद्रा आएन । ऊ आफ्नो बारेमा सोचिरही पहिलो चोटी रजस्वाला हँुदाको अनुभूति, यही विषयमा घरमा आमा बा र दाजु भाउजुबीच खटपट, यस्तै–यस्तै नानाथरी सोच्दा सोच्दै ऊ पनि निदाएको थाहा पाइन । दुई दिनदेखि निरन्तर परिरहेको हिउँले गलेको जमिन, गोठ चुहिएर गलेका भित्ताहरू र पुरानो भएको गोठले हिउँको भार थेग्न नसकेर होला, मध्येरातमा एक्कासी गोठ भत्किएछ । कसैले थाहा पाएन । मस्त निद्रामा सुतेका विचरा ! मीना र प्रेमा ऐयासमेत भन्न नपाइ सदाको लागि सुतेछन्, अब कहिल्यै नउठ्ने गरी !
मीनाका बाको सबेरै उज्यालो नहँुदै उठ्ने बानी, उठ्ने बित्तिकै चर्पी जाने, दिशा खुल्नु अगाबै झिसमिसेमै भैंसी दुहुने, मोही पार्ने, भैंसीलाई घाँस हाल्ने आदि कामबाट उनको दिनको सुरुवात हुन्थ्यो । सदाझैं बिहान अँध्यारोमै उठेर उनि बाहिर निस्के । आँगनमा घँुडामाथिसम्म आउँने हिउँ थियो । छाउगोठको अलि पछाडीपट्टी चर्पी थियो । छाउगोठको अलि माथिबाटै चर्पी जाने बाटो थियो तर अध्यारोमा हिउँ छिचोल्दै जानुपर्ने हँुदा, जाँदा छाउगोठतिर उनको ध्यान गएन । अलि–अलि हिउँ पर्दै थियो । चर्पीबाट फर्किंदा एक्कासी उनको नजर छाउगोठतिर प¥यो छाउगोठ भत्किएर थियो कि थिएन जस्तो भग्नावशेषमाथि हिउँले छोपिएर पूरैसम्म जस्तै देखिन्थ्यो । त्यो दृष्य देखेर उनी एक्कासी आत्तिएर कराउँदै नजिकै गए । हिउँ छिचोल्दै छोरीलाई बोलाए । रामे पनि बिउँझिसकेको थियो । बाबा एक्कासी आत्तिएको स्वरमा कराएको सुनेर ऊ बाहिर निस्कियो । बाबा कराउँदै हिउँ छिचोल्दै पन्छाउँदै थिए । लौन नि यो के भएछ ! भन्दै रामे पनि गएर हिउँ पन्छाउँन थाल्यो । बहिनी…! मीना…! प्रेमा…! भन्दै कराउँदै काकालाई बोलायो यतिकैमा सपरिवार जम्मा भइ हिउँ पन्छाउँदै रोइकराइ गर्दै थिए । उसको काकाका परिवार पनि सबै आए । घटना एककान दुईकान मैदान भयो । एकपछि अर्काे गर्दै सबै गाउँलेहरू जम्मा भए । हिउँ, ढुङ्गा, माटो र पाट पन्छाउँदै जाँदा मीना र प्रेमा घुम्टोभित्रै सुतेको अवस्थामा फेला परे । एक साइडको भित्ता ढलेर एक्कासी उनीहरूको अनुहार छोप्पिएछ । त्यसमाथि पाटको छानो पर्दा हलचलै गर्न नपाई सास न बास भएछन् । हत्तपत्त रामेले घुम्टो उता¥यो । कराएर बहिनी …! भन्दै बोलायो तर उनीहरूको बोली बन्द भइसकेको थियो । उनीहरू सबै गाउँलेको माझबाटै लाउँलाउँ र खाउँखाउँको कलिलो उमेरमै सदाको लागि बिदा लिएर गइसकेका थिए ।
एकछिन पूरै सन्नाटा छायो । रुवाबासी चल्यो गाउँ पूरै शोकमग्न भयो । रुँदारुँदा रामे र उसका काकाको परिवार सबै अचेत अवस्थामा पुगिसकेका थिए । सञ्चार गर्ने कुनै साधन थिएन, खबर लेख्ने कोही पत्रकार थिएन, प्रहरीचौकी जान एक दिन लाग्थ्यो । यही बेलामा गाउँका भलाद्मी तथा भुपु प्रधान पञ्च आएर भने ‘अब रोइकराइ गरेर के गर्छौ ? हिउँ पर्न रोकिएको छ । मौसम ठीक छैन खोलामा लगेर गाड्ने काम गर्नुप¥यो छिटो ।’ उनको कुरा कसैले काट्न सक्दैन थे । सबै मिलेर कात्रो तयार पारे र लगेर दुई खोलाबीचको किनारमा लगेर गाडिदिए ।
त्यो घटनाले गाउँलेहरू केही सचेत भए । गोठमा सुत्न बाध्य पार्ने आमा बालाई पश्चातापको पीडाले पिरोल्न कहिल्यै छोडेन छोरा बुहारीले भनेको मानेको भए छोरी घुमाउन नपर्ने कुराको महसुस उनीहरूले गरे । आफ्नो गल्तीको प्रायश्चित गरे । केही दिनपछि त्यसको पीडा अलिक शमन भयो । कमलाले प्रण गरिन् कि जसरी पनि यो प्रथाको जरो उखेल्नु पर्छ । उनले फेरि गाउँलेहरूको घरघरमै गएर नेपाललाई २०६३ जेठ २१ मा नै छुवाछुत मुक्त देश घोषणा गरिएको र ‘नेपालको संविधान २०७२ू मा छुवाछुत तथा भेदभावविरुद्धको हकको रूपमा मौलिक हकको व्यवस्था गरिएको भन्दै यसको अन्त्यका लागि सबै महिलाहरू एक भएर आमा समूह गठन गर्ने र छाउगोठ भत्काउने अभियान चलाउने प्रचार–प्रसार गरिन् । सबै गाउँले महिलाहरू उनको कुरामा सहमत भए । कमलाकै अध्यक्षता र सक्रियतामा आमा समूहको गठन गरे । छाउगोठ भत्काउने अभियान चलाए ।
(लेखक एमएड प्रथम सेमेष्टर, शिक्षाशास्त्र संकाय केन्द्रीय क्याम्पस, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका विद्यार्थी हुन् ।)
साझा बिसौनी ।