मैले देखेको युद्ध
मदनप्रसाद चौलागाइ
साँझको ५ बजिसकेको थियो । सूर्य पश्चिमतिरको आकाशमा टिल्पिलाइरहेको थियो । समयले संकेत गरेअनुसार सबैले आ–आफ्नो कार्य छोडेर घरतिर फर्कने बेला भइसकेको थियो । घटना–२०६२ साल साउन २३ गतेको हो ।
समयमै पानी नपरेकोले किसानहरू धान रोप्ने चटारोमा ध्यानमग्न भइ काम गरिरहेका थिए । भनिन्छ, धान रोप्ने समयको यस्तो महŒव छ, यदि उक्त समयमा परिवारको कुनै सदस्यको मृत्यु भयो भने पनि शवलाई घरभित्रै राखेर रोपाइ सिद्दयायपछि मात्रै पार्थिव शरीरलाई बिसर्जन गरिन्छ रे । यति नै पानीको महत्व थियो । किसानहरू आकाशमा हेरेर काम सुरु गर्ने गर्छन् । कोहीले भन्ने गर्दछन् ‘भगवानले मुतेपछि मात्र हाम्रो पेटमा अन्नको रस पर्नेछ । नत्र अनिकाल उत्पन्न हुनेछ ।’
म कक्षा आठमा पढ्थें । मौसम अनुसार वर्षे बिदा भएकोले मेरो स्कुल सञ्चालन थिएन । अनि मेरो पनि आफ्नै काम र दैनिकी थियो । घरमा रोपाइ तीव्र गतिले चलिरहेको थियो । मैले पनि दिउँसोको काम सिद्दायर फाटेको झोलामा चारमाना चामल, दुई पाथी धुलो नुन, खुर्सानी, भैंसीलाई पिडो र दुध, मोही, घ्यू ल्याउने भाँडाकुँडा बोकेर लेकतिर लागें । लेकमा मेरो प्यारो बाजे र बज्यै हुनुहुन्थ्यो । मेरो बिदाको बेलाको दैनिकी नै यसरी चल्थ्यो । बिहान घ्यू, मोही, दुध लिएर घरमा आउने, दिउँसो भाउजु र आमालाई सघाउने । कतिबेला आलीको काम, हलो, बिगारोदेखि लिएर सकेसम्म सबै काम गर्थें । दिउँसोको खाजा खाएर चार बजे तिर आफ्नो कार्यमा लाग्थें । जेहो उमेरले नै होला बाटामा अल्लमल्ल गर्दै लेकमा पुग्न दुई घण्टा जति लाग्थ्यो ।
साउनको २३ गते नै हो, साँझको पाँच बजिसकेको थियो । म आधा बाटो हिँडिसकेको थिएँ, अकस्मात बन्दुक पड्केको आवाज मेरोे कानमा ठोकियो । दिनभरको कामले थकान महसुस भएको थियो । म रन्थनिएँ, सायद आज बाजेको काखमा पुग्न नपाउँदै गोली खाएर मर्छु । बन्दुक पड्किने क्रम झन तीव्र हुँदै गयो । गोलीको आवाज यसरी आइरहेको थियो, जसरी हाँडीमा मकै फुर्छ । ठीक त्यसरी नै गोलीको वर्षा भइरहेको थियो । सायद म रुन्थें होला तर रोएको सुन्ने मान्छे पनि साथमा कोही थिएन । त्यसैले होला थर्मराइ–थर्मराइ भए पनि पाइला वेगले चल्न थाले । विगतमा एक घण्टा लाग्ने बाटो मैले १५ मिनेटमा पार गरें । जेनतेन बाजे र बज्यैको काखमा पुगेर बिश्राम गरें ।
त्यतिबेला मेरो डर कम भइसकेको थियो । गोली भने अझ बेगले चलिरहेका थिए । अनि मैले अलि पहिलेदेखि सुइको पाएको थिएँ, जिज्ञाशु स्वभाव भएर पनि होला । नेपाली सेना र नेकपा माओवादी बीचको धेरै ठाउँमा भिडन्त, चौकी कब्जा लगायत सशस्त्र आन्दोलन भएको १० वर्ष भइसकेको थियो । तर मलाइ सामान्य लाग्थ्यो । जब आफ्नै आँखाले देख्ने गरी आफ्नै ननिक र आफूले पनि एउटा मोर्चामा भाग लिनुपनें अवस्थामा पुगें अनि थाहा भयो, युद्धको भीमकाय स्वरूप । लडाइँ, क्याम्प कब्जा, भिडन्त, गोली, बम, एलएमजी राइफल एसयलआर, ग्रीनेट आदि नसुनेका नाम र नदेखेका वारुण यन्त्रहरू देख्ने अवसर र बाध्यता मेरो नजिकै आयो ।
थाहा भयो म लेकतिर लागिसकेपछि गाउँका सबैलाई स्वयम्सेवक बनाएर स्टेचर, डोका लगायतका सामानहरू बोकाएर त्यही युद्धस्थलतिर लिएर गएछन् । बाउजु र आमालाई पनि लिएछन् भन्ने खबर पनि पाएँ । एकातिर चिन्ताले डढाएको थियोे भने अर्कोतिर डर सबै कम भइरहेको थियो । लडाइँ सुरु भएको दुई÷चार घण्टा बितिसकेपछि म र बाजे–बज्यै खर्कभित्र बसिरहेका थियौं, गोली तीब्र चलेको थियो । हावामा गोलिको आवाज आइरहेका थिए, हामी आपसमा रुन्चे अनुहारमा कुरा गरिरहेका थियौं ।
आज सबै मर्ने भए । सेना, माओवादी, गाउँका जनता कति सोत्तर हुने हुन्, कति दिनसम्म लडाइँ हुने हो भन्ने कुरा गरिरहेका थियौं । दिउँसो तीन बजे लेकतिरबाट हाइपोष्ट कब्जा गर्नलाई ३–४ वटा टीम त्यताबाट गएको पनि बाजेले सुनाउनुभयो । कतिले त नमस्कार गरे कतिले बाँचेपछि फेरि भेटौंला भने अरे । यति कुरा हुँदै थियो बाहिरबाट भैंसीको घाँडोको आवाजसँग मिसिएर मानिसको आवाज आयो, ‘को हुनुहुन्छ ?’ डरले होला सुने पनि नसुने जस्तो ग¥यौं । तर उनीहरू ढोकामै आएको देखियो । देख्दैमा डरलाग्ने जस्तो, हुन त मैले चिनिसकेको थिएँ पोशाकले । माओवादीको जनमुक्ति सेनाको साथी रहेछ । हाम्रो खर्कदेखि दुई सय मिटर पश्चिमबाट युद्धस्थल स्पष्ट रूपमा देखिन्थ्यो । कमरेडले पनि त्यही ठाउँमा हवाइ युद्ध नियन्त्रणको लागि ठूलो हतियार राखेर १० जना बसेको कुरा सुनायो । अनि अलिअली पानि पचाउने माध्यामको पनि कुरा ग¥यो र हिँड्यो । मैले उसको कुरा बुझें र बाजेलाई १० जनाका लागि खाना बनाउन अनुरोध गरें र भनें, ‘बाँचेपछि अरु सामल लिन जान्छु, मरेपछि यति पनि खान सकिदैन ।’ म पनि कमरेडको पछि लागें जे होस् डरले तीन तिहाइ छोडिसकेको थियो ।
म उनीहरू भएकै ठाउँमा गएर बस्न भ्याएँ र आफूलाई पनि अलि साहासी भएको महसुस गर्न थालें । युद्धको बारेमा थाहै थिएन । एकजना कमरेडले भने, ‘भाइ एता बस त्यता गोली लाग्नसक्छ ।’ मैले पनि ठूलो ढुङ्गामा आड लिएर युद्धस्थलतिर हेरेर बसीरहें । नजिकै चार फुट चौडाइ र पाँच फिट लम्बाइ अनि तीन फुट गहिराइको खाल्डो खनिएको थियो । त्यहाँ नामै थाहा नभएका हतियारहरू खुट्टा टेकाएर टुप्पो ठाडो पारी राखिएका थिए । मैले त्यसको बारेमा बुझें । केही समयपछि माथि हेलिकप्टरले हवाई फायर गरिरहेको थियो । तलबाट एकनाशले पचास भन्दा धेरै गोली माला जस्तै लाइन बद्ध रूपमा गए । यो त हेलिकप्टरमा हान्ने हतियार रहेछ । हेलिकप्टर पनि भाग्यो । लडाइँ भएको ठाउँमा आकाशबाट असिना बर्से जस्तै गोलीको वर्षा भइरहेको थियो । सानै भएर होला रमाइलो लागिरहेको थियो । त्यही लडाइँमा बाउजु र आमा पनि छन् भनि सम्झिन्थें र झस्किन्थें ।
राती आठ बजेतिर कमरेडले भने, ‘भाइ खर्कमा जानप¥यो, खाना पानि नखाएर सातु खाएर जंगलमा बसेको तीन दिन जति भयो ।’ मेरो मन कटक्क खायो । मैले भनें, ‘मलाइ जान डर लाग्छ ।’ ‘म जान्छुसँगै’ एक जना कमरेडले भने । हाही दुईजना खर्कतिर लाग्यौं । खर्कमा बाजेले ल्याएको सबै पिठोको रोटी, आलु, सिमी र चोतोको एक डेक्ची तरकारी बनाएर राख्नुभएको थियो । अनि पुग्ने बित्तिकै भन्नुभयो, ‘दुई जना खाउँ अनि लिएर जाउँ ।’ कमरेडले खान मानेनन्, मलाइ खाना खान मनै थिएन । बस युद्ध, मन, मुटु, मुख र आँखामा रातो आगोको झिल्का जस्ता गोली उडेका मात्र देखिन्थे । कमरेडसँग म पनि हिँडे । चार÷पाँच मिनेटमा पुगियो । पाँच जनाले हतियार समाते । पाँच जनाले तरकारी र रोटी खाए । फेरि पाँच जनाले खाए मलाइ खान भने तर मैले खर्कमा गएर खाने कुरा गरें ।
उनीहरूले तरकारी र रोटी खाइसकेपछि भाँडालाई भित्तापट्टी राखेर उनीहरू सबै आ–आफ्नो पोजिसनमा बसे म पनि ढुङ्गामा आड लिएर गोली आएको छेकिरहेको थिएँ । राती ११÷१२ बजेतिर माइकबाट कराएको आवाज आयो, ‘ए साला कुकुरहरू हतियार बुझाएर आत्मसमर्पण गर, नत्र एक जना बाँच्दैनौं ।’ यसको बारे मलाइ त्यति थाहा थिएन, मैले सोधें, ‘कसले करायो ?’ कमरेडहरूले भने, ‘यो हाम्रो कमाण्डरको कासन हो ।’ मैले बुझे गोलीसँगै कडा स्वरमा डर पनि देखाउँदा रहेछन् ।
पटक–पटक माइकबाट यस्तो कडा स्वरमा कासन पनि भएको सुनिदै थियो । कमरेडहरूको कुरा गर्ने छुट्टै खालको साधन रहेछ, सेटालाइटबाट कुरा हुँदै थियो कमाण्डरसँग त्यहाँको बारेमा अलि–अलि मैले पनि जानकारी पाउदै थिएँ । जे होस् खानासम्म नखाएर हेर्न भ्याएँ मैले त्यो युद्ध ।
यस्तैमा बिहानको चार बजेको संकेत घडीले गरेको थियो । ठूलो आगोको मुस्लो र धुवाँको मुस्लो आयो । गोली पनि कम पड्किएका थिए । यतिकैमा कोलाहल मच्चियो । अनि कमरेडहरूले भने, ‘युद्ध सफल भयो ।’ म पनि को मरे, कति मरे सोच्दै नसोची खुशी भएँ, युद्ध सफल भयो । छुट्टै खालको मज्जा लाग्यो सायद नबुझ्ने भएर होला । नाराहरू घन्किएका थिए ।
नेकपा माओवादी जिन्दावाद ।।
वीर सहिदहरू लालसलाम ।
वीर सहिदहरू अमर रहुन् ।
वीर सहिद जिन्दावाद ।
(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकाय केन्द्रीय क्याम्पस, सुर्खेतका विद्यार्थी हुन् ।)
प्रकाशित मितिः २९ बैशाख २०७५, शनिबार १६:०७
साझा बिसौनी ।