९२ हजार क्वीन्टल चामल अपुग

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ वैशाख ।
कर्णाली प्रदेशका २७ डिपोमा ९२ हजार क्वीन्टल चामल अपुग भएको छ । दुर्गम तथा हिमाली क्षेत्रका लागि वार्षिक नियमित चामल उपलब्ध गराउँदै आएको खाद्य संस्थानलले चालु आर्थिक वषर्मा ९२ हजार क्वीन्टल चामल अपुग देखिएको नेपाल खाद्य संस्थान सुर्खेतका क्षेत्रीय प्रमुख भिमबहादुर थापाले जानकारी दिए ।


उनका अनुसार, खाद्य संस्थानले २०७४, २०७५ मा स्वीकृत कोटा ४२ हजार ४० क्वीन्टलमा ४१ हजार एक सय ४२ क्वीन्टल चामल २७ वटा डिपोमा चामल पठाएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष नेपाल खाद्य संस्थानको स्वीकृत कोटा कम देखिएको पाइएको छ । गत आर्थिक वर्ष २०७३, २०७४ मा खाद्य संस्थानबाट ६५ हजार दुई सय ९७ क्वीन्टल चामल सुर्खेतबाट कर्णाली प्रदेशका २७ वटा डिपोमा चलान भएको देखिन्छ ।
गत वर्षको तुलनामा २४ हजार एक सय ५५ क्वीन्टल कम स्वीकृत भएको पाइएको छ । नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका हुम्ला जुम्ला, कालिकोट डोल्पा, मुगु, दैलेख लगायतका स्थानका विभिन्न डिपोमा चामल ढुवानी गर्दै आएको छ । नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयले हुम्लाका शाखा र डिपोमा कूल ११ हजार आठ सय १७ क्वीन्टल १५ केजी चामल हवाई ढुवानी र स्थलमार्ग हुँदै पु¥याइ सकेको नेपाल खाद्य संस्थान कार्यालय सुर्खेतले जनाएको छ । यस्तै गरी मुगु जिल्लाका सबै डिपो र शाखाका लागि आठ हजार ५२ क्वीन्टल चार केजी पठाएको पाइएको छ ।
जुम्लाको लागि चार हजार तीन सय ६४ क्वीन्टल ८५ केजी चलान गरिएको देखिन्छ । डोल्पाका चार लागि हजार सात सय ९४ क्वीन्टल ८०, कालिकोटाका लागि पाँच हजार ४९ क्वीन्टल ८० केजी पुगे पनि थप माग आएको छ । यो आर्थिक वर्षमा दैलेखमा पाँच सय ४१ क्वीन्टल २० केजी चलान ढुवानी भएको छ । बाजुराको कवाडी बिक्री केन्द्रका लागि दुई हजार नौ सय ७८ क्वीन्टल १० केजी खाद्य संस्थानबाट चलान गरिसकेको नेपाल खाद्य संस्थान सुर्खेतका क्षेत्रीय प्रमुख थापाले जानकारी दिएका छन् । उनका अनुसार, हिमाली तथा दुर्गम जिल्लाका २७ वटा डिपोमा ९७ प्रतिशत चामल खाद्य संस्थानले पठाइसकेको छ ।

प्रकाशित मितिः   २८ बैशाख २०७५, शुक्रबार १३:५४