शिक्षकका सन्तान निजीमा पढ्न नपाउने

दैलेख, २७ वैशाख । (साबिस)
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका सन्तानले निजी विद्यालयमा पढ्न नपाउने भएका छन् । नगरपालिकाले सामुदायिक विद्यालयको खस्कदो शैक्षिक गुणस्तरलाई सुधार्न सरकारी कर्मचारीका सन्तानलाई निजी विद्यालयमा पढाउन रोक लगाएको हो । जसका लागि नगरपालिकाले गुणस्तरी शिक्षा सम्बन्धी अभियान नै सञ्चालन गरेको छ । नगरमा रहेका सामुदाय विद्यालयका प्राधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सरोकारवालाहरूसँग छलफल थालेको हो ।
नगर प्रमुख सूर्यबहादुर शाहीले नगरभित्र कायरत शिक्षक र सार्वजनिक पद धारण गरेका सबैले सामुदाय विद्यालयमा आफ्नो बालबालिकालाई भर्ना गर्न आग्रह गरेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्नो बालबालिकालाई निजी विद्यालयमा भर्ना गरी पठन–पाठन गराउने प्रचलन गर्दा शिक्षाको गुणस्तर खस्किएको उनले बताए ।
नगरपालिकाका उपप्रमुख तारा शाही (खत्री) ले उत्कृष्ट शिक्षकलाई नगरपालिकाले पुरस्कृत गर्ने बताइन् । नपढाउने शिक्षकलाई कडा कारबाही गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने नगरपालिकाले योजना बनाएको छ । ‘जबसम्म शिक्षालाई गुणस्तरीय बनाउन सकिदैंन तबसम्म विकास पनि हुदैन’ उनले भनिन्, ‘विकासका लागि सकरात्मक सोचको खाँचो पर्छ, सकरात्मक सोचका लागि गुणस्तरीय शिक्षाको जुरुरी हुन्छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी
हरिप्रसाद देवकोटाले प्रशासनबाट नगरपालिकाले बनाएका नीतिहरूलाई कार्यन्वयमा सहयोग पु¥याउने प्रतिबद्धता जनाए । विद्यालयका प्राधानाध्यापकहरूले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूलाई सेवा सुविधा थप्नुपर्ने बताए ।
स्थानीय पाठ्यक्रम निर्माण गरी नगरपालिकाभित्र सबै विद्यालयमा पठन–पाठन गर्ने, नगरपालिका गुणस्तरीय शिक्षा र एकरूपता कायम गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने, शिक्षा सम्बन्धी ऐन कानुन, नियम परिपत्र र निर्देशनहरू परिपालना गर्ने र विद्यालय क्षेत्रभित्र कुनै पनि मदिरा सेवन जस्ता कार्यलाई रोक्ने प्रतिबद्धता गरिएको छ ।

प्रकाशित मितिः   २८ बैशाख २०७५, शुक्रबार १३:५१