बजेटका लागि केन्द्र गुहार्दै प्रदेश सरकार

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ वैशाख ।
कर्णालीमा २९ वटा ठूला आयोजना निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ । कर्णाली प्रदेश सरकारले ती आयोजना निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिनका लागि केन्द्र सरकारसँग माग गरेका हुन् ।
बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको समृद्धिका लागि महŒवपूर्ण ठूला योजना निर्माण गर्न केन्द्र सरकारको सहयोग अपरिहार्य भएको बताए । उनले दुई दर्जनबढी योजनासहितको मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएका छन् ।
मागपत्रमा भौतिक पूर्वाधारतर्फ जमुनाहागमगढी–हिल्सा जोड्ने कर्णाली द्रुत मार्ग, कर्णाली र भेरी करिडोरलाई दुई लेख बनाउने, तेलपानी–भुरीगाउँ–सुर्खेत सुरुङमार्ग निर्माण, नाक्चेलाङ्गना सडक निर्माण गरी द्रुतमार्गमा जोड्ने, मरिम–धो–सुर्खेत दुई देशीय सडक नाका निर्माण, दाङ–सुर्खेत–दिपायल सडक निर्माण, राप्ती राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्नका लागि बजेट माग गरिएको छ ।
त्यसैगरी प्रदेश राजधानी सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण, हुम्ला विमानस्थल निर्माण, भेरी सिँचाइ आयोजना निर्माण, कर्णाली करिडोर र भेरी करिडोरमा चार सय केभीए विद्युत प्रसारण लाइन विस्तार, कर्णालीका सबै जिल्लामा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार, सुर्खेत र सल्यानमा सिमेन्ट उद्योग स्थापना, ग्यास,
युरेनियम, तामा, फलाम खानी उत्खनन्का योजना पनि ज्ञापनपत्रमा समावेश गरिएको छ ।
यस्तै सञ्चारतर्फ प्रदेशका सबै स्थानीय तहहरूमा फोरजी नेटवर्कसहितको मोवाइल सेवा उपलब्ध गराउने, काँक्रेविहार–शे–फोक्सुण्डो–डोल्पो–रारा–हिल्सा–सिंजा–दुल्लू पर्यटकीय सर्किट निर्माण, रारालाई कर्णाली पर्यटकीय राजधानी निर्माण गर्ने, प्रदेश राजधानी सुर्खेतमा दुई हजार क्षमताको आधुनिक सभाहल निर्माण गर्ने, सुर्खेतमा भेरी लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण, कर्णालीका पाँच लाख युवाहरूलाई उद्यमी बनाउने सीपमूलक तालिमसहित १० लाख सहुलियत ऋण, १० वटै जिल्लामा एक÷एक वटा आवासिय विद्यालय, जडिबुटी प्रशोधन केन्द्र निर्माण, जुम्लालाई स्याऊ हबका रूपमा स्थापना गर्नका लागि बजेट व्यवस्थापन गरिदिन कर्णालीले केन्द्र सरकारसँग अनुरोध गरेको हो ।
मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, पूर्वगृहमन्त्री जनार्दशन शर्मा, पूर्वमन्त्री यामलाल कँडेल, पूर्वमन्त्री जीवनबहादुर शाहीसहित कर्णालीका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर कर्णालीलाई बजेटमा प्राथमिकता दिन आग्रह गरेका छन् ।

प्रकाशित मितिः   २७ बैशाख २०७५, बिहीबार १६:२५