घरबाटै खानेपानीको महसुल तिर्न सकिने

सुर्खेत, २६ वैशाख । (साबिस)
वीरेन्द्रनगर उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था प्रविधिमैत्री बन्दै गएको छ । बढ्दो इन्टरनेटको प्रयोगसँगै उपभोक्ताको सहजताका लागि संस्थाले विभिन्न प्रविधिको उपयोग गर्दै आएको छ ।
मिटर रिडिङ्ग डिभाइसबाट पानीको खपत रेकर्ड राख्ने प्रविधि अपनाएको संस्थाले बुधवारदेखि इन्टरनेटमार्फत् महसुल तिर्न सकिने सेवा सञ्चालन गरेको हो । विगतमा पानी खपतको रेकर्ड कागजमा राख्दै आएको संस्थाले अबका दिनमा भने डिभाइस र कम्प्युटरमा समेत राख्ने भएको छ । उपभोक्ताले समेत मोबाइलमा उक्त रेकर्ड राख्न सक्नेछन् भने ई–सेवामार्फत् घरबाटै खानेपानीको महसुल भुक्तानी गर्न सक्ने छन् । जसका लागि इन्टरनेटको पहुँचमा रहँदा एप्लिकेशन डाउनलोड गरेपछि अफलाइन (इन्टरनेट बाहिर) भए पनि पानीको खपतबारे जानकारी राख्न सकिनेछ ।
यस्तै, ई–सेवामार्फत् इन्टरनेटको पहुँचमा भएका उपभोक्ताले भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ । उच्च प्रविधि र सुरक्षित सफ्टवेयरमार्फत् सञ्चालनमा आएसँगै यहाँका उपभोक्ताले घरबाटै खानेपानीको महशुल भुक्तानी गर्न पाउने भएका छन् । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले संस्थाका पूर्व अध्यक्ष बालाराम शर्माको पानीको बिल भुक्तान गर्दै प्रविधिको उद्घाटन गरे । यो सेवाले अब ग्राहकलाई लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको उनले बताए ।
संस्था प्रविधिमैत्री भएकाले खानेपानीको सेवा शुल्क वापत लिइने महशुल भुक्तानी गर्नका लागि लाइन बस्नुपर्ने समस्याको समेत अन्त्य भएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । उपभोक्ताको समस्यालाई मध्यनजर गरी प्रविधिमैत्री बन्दै गएको बताए । दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयरमार्फत् बिलिङ्ग, लेखा पद्धति, जिन्सी व्यवस्थापनदेखि मिटर रिडिङसम्मका कार्यलाई डिजिटलाइज भएको उनले बताए । ‘खानेपानीको मिटर रिडिङ्ग ‘मिटरमार्क’ नामक मोबाइल एप्लिकेशनबाट गर्ने व्यवस्था मिलाएका छौं’ अध्यक्ष देवकोटाले भने ‘उपभोक्ताले आफ्नो मोबाइल फोनको प्रयोगबाट ई–सेवामार्फत् खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् ।’ संस्थाले आगामी दुई वर्षभित्र डिजिटल मिटर जडान गर्ने उद्देश्य राखेको छ ।

प्रकाशित मितिः   २७ बैशाख २०७५, बिहीबार १६:२४