जागिरको लोभ देखाएर ठग्न खोज्ने पक्राउ

सुर्खेत, २५ वैशाख । (साबिस)
नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै रकम अशुल्न खोज्ने एक जना पक्राउ परेका छन् । प्रहरीको माथिल्लो निकायका व्यक्तिहरूसँग सम्बन्ध रहेको भन्दै चार जना युवाहरूबाट मोटो रकम अशुली गर्न खोज्ने व्यक्ति प्रहरीको फन्दामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगरस्थित एक होटेलबाट दाङ तुल्सीपुर उपमहानगरपालिका–५ का ५१ वर्षीय पशुपति खत्रीलाई मंगलवार पक्राउ गरेको हो । युवाहरूलाई जागिरको प्रलोभन देखाउँदै ठग्न खोजेको आरोपा खत्री पक्राउ परेका हुन् । आफ्नो सिधै प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृतहरूसँग चिनजान रहेकाले विना प्रक्रिया जागिर लगाउने प्रलोभन देखाए प्रतिव्यक्ति २५ हजार रूपैयाँ माग्दै गर्दा सुर्खेत प्रहरीले पक्राउ गरेको प्रवक्ता शंकर श्रेष्ठले बताए ।
उनका अनुसार जेठ महिनाको पहिलो हप्ताभित्र प्रहरीमा भर्ना गरी तालिम समावेश गराउने भन्दै सुर्खेतका तीन र दैलेखका एक जनाबाट जनही २५ हजार अग्रीम रकम मागेको अनुसन्धानका क्रममा उनले बयान दिएका छन् । हाल पेश्की स्वरूप २५ हजार र भर्ना भइ सकेपछि दुई लाख ७५ हजार प्रतिव्यक्ति दिनुपर्दछ भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए । ‘सुराकीका आधारमा होटलमा गइ खोजतलास गर्दा खत्रीसहित अन्य चार जना व्यक्तिलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो’ प्रवक्ता श्रेष्ठले भने, ‘सोधपुछ क्रममा उनले चार जनाबाट रकम लिएर जागिर लगाइदिन्छु भन्दै रकमको बार्गेनिङ गरिरहेको खुलेको छ ।’
खत्रीले पञ्चपुरी नगरपालिका–२ का २० वर्षीय धनबहादुर माँझी, त्यहीका प्रकाश भण्डारी, दैलेख दुल्लू नगरपालिका–१०, गमौडीका २० वर्षीय सुमनकुमारी शाही र जिल्ला सुर्खेत लेकवेसी न.पा. वडा नं. ३ बस्ने वर्ष २० को कृष्टी रोकायबाट शैक्षिक प्रमाण–पत्र, फोटो र प्रतिव्यक्ति २५ हजार लिन लागेको थिए ।

प्रकाशित मितिः   २६ बैशाख २०७५, बुधबार १५:१६