जुवाविरुद्ध प्रहरी ‘अप्रेशन’

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ वैशाख ।
वीरेन्द्रनगर उपत्यकाभित्र जुवा खेल्ने गरेको गुनासो बढेसँगै प्रहरीले विशेष ‘अप्रेशन’ थालेको छ । सुर्खेत प्रहरीले विशेष सुराकी नै परिचालन गरेरे जुवातास विरुद्धको अप्रेशन सुरु गरेको हो । प्रहरीले अप्रेशन थालेसँगै लुकिछिपी जुवातास खेल्ने गरिएको स्थानबाट समेत जुवाडेहरू पक्राउ पर्न थालेका छन् ।

अप्रेशनका क्रममा आइतवार र सोमवार गरी प्रहरीले दुई दिनमा जुवा खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । आइतवार तीन जना र सोमवार पाँच जना जुवाडे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । प्रहरीले नियमित गर्ने काम भएपनि पछिल्लो समयमा विशेष ‘अप्रेशन’ मार्फत् जुवातास नियन्त्रणमा सक्रियता देखाएको हो । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगरस्थित एक होटलबाट सोमवार पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक एवम् जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता शंकर श्रेष्ठले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा दैलेख दुल्लू नगरपालिक–२ घर भइ हाल वीरेन्द्रनगर–४ भैरवस्थानमा प्रतिक होटल सञ्चालन गर्दै आएका होटल सञ्चालक ऐनबहादुर शाही, अछामको तुर्माखाँध गाउँपालिका–४ का डेकेन्द्र बुढा, दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकाका– ९ का हर्कबहादुर थापा, दुल्लू नगरपालिका–३ का अनिल कार्की र छत्रबहादुर खड्का रहेका छन् । उनीहरूबाट तीन गड्डी तास, ४९ हजार तीस रूपैयाँ नगद बरामद गरिएको उनले जानकारी दिए ।
आइतवार मात्रै प्रहरीले वीरेन्द्रनगरको लाटीकोइलीबाट ३४ हजार नगदसहित तीन जुवाडे पक्राउ गरेको थियो । आइतवार र सोमवार पक्राउ परेका आठ जनाबाट जम्मा ८३ हजार आठ सय ३० रूपैयाँ बरामत गरिएको छ । पक्राउ परेका आठै जनाविरुद्ध जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
अप्रेशन प्रभावकारी हुँदै गएकाले जुवातास, मदिरा, लागूऔषध नियन्त्रणमा प्रहरी परिचालन गरिने उनले बताए । ‘हामीले सामाजिक विकृतिविरुद्ध विशेष अभियानलाई तीव्र पारेका छौं’ उनले भने, ‘अब अपराधिक गतिविधि रोक्न प्रहरी सशक्त रूपमा लागिपरेको छ । हामीले नियमित काम भन्दा फरक शैली अपनाएका छौं ।’

प्रकाशित मितिः   २५ बैशाख २०७५, मंगलवार १६:४७