पुनस्र्थापना पर्खदै बाढीपीडित
साझा बिसौनी संवाददाता
सुर्खेत, २३ वैशाख ।
पञ्चपुरी नगरपालिका–५ बाबियाचौरका पदमराज देवकोटा आफ्नै झुपडी अगाडि टोलाएर बसेका थिए । मजदुरीका लागि दिउँसो कहाँ जाने भन्नेबारे योजना बनाउँदै गरेका देवकोटाले त्यही बेला सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–२ का सांसद नवराज रावतलाई देखे । तिखाकुनास्थित बाढीपीडित शिविरमा पुगेका रावतलाई देखेपछि उनले सम्झिए, गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनताका उम्मेदवारहरूले दिएका आश्वासन ।
बाढीपीडित शिविरको खबर बुझ्न सांसद रावतले ‘आराम हुुनुहुन्छ ?’, भनेर गरेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘खबर यस्तै छ, हिजो भोट माग्न आएदेखि आजसम्म कुनै फेरबदल छैन, माननीयज्यू ।’ सांसद रावत निर्वाचनका बेला भोट माग्न देवकोटाको झुपडीमा पुग्दा निर्वाचित भएपछि पुनस्र्थापना गर्छु भन्ने घोषणा र प्रतिबद्धता गरेका थिए । निर्वाचन सकियो । रावत विजयी भए । तर, उनी निर्वाचित भएको करिब आधा वर्ष बितिसक्दासमेत बाढीपीडितको पुनस्र्थापना भएको छैन । आफैले भोट दिएर विजयी भएका स्थानीय सरकार प्रमुखदेखि केन्द्रका सांसदले हालसम्म पनि बाढीपीडितको अवस्था सुधारमा कुनै पहल नगरेपछि उनी निराश छन् ।
सांसद रावतलाई निर्वाचनताका गरेका प्रतिबद्धता सम्झाए, देवकोटाले । ‘स्थानीय तहदेखि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिए । अस्थिर राजनीतिक अवस्थाबाट देशले मुक्ति पायो । स्थानीय तहदेखि केन्द्र सरकारसम्मले आगामी पाँच वर्षका लागि स्थिर सरकार बन्यो’ उनले भने, ‘केन्द्रिकृत राज्य व्यवस्थादेखि संघीयता कार्यान्वयन आयो । देशको व्यवस्था फेरियो तर, बाढीपीडितको अवस्था किन फेरिएन ?’ स्थानीय तहको निर्वाचनदेखि राष्ट्रियसभा निर्वाचनसम्मका घोषणा पत्रमा बाढीपीडितलाई घरबासको व्यवस्थासँगै रोजगारीको ग्यारेण्टीसमेत गर्ने आश्वासन समेटिएका थिए । तर, निर्वाचन सकिए पनि कुनै पहल नभएपछि उनले सांसद रावतसँग त्रिपालबाट स्थायी बसोबासको व्यवस्था मिलाइ दिन आग्रह गरे ।
‘स्थानीय तहले सरकार आएको एक वर्ष भयो, संघ र प्रदेश सरकारले पूर्णता पाएको पनि करिब आधा वर्ष भइसक्यो तर, बाढीपीडितले भने त्रिपालबाट मुक्ति पाउन नसक्नु नै सरकारी बेवास्ता हो’ सांसद रावतलाई देखेपछि बाढीपीडित शिविरमा बस्दै आएकी सीता शाहीले भनिन्, ‘माननीयले अब निर्वाचनका बेला गरेका बाँचा नभुलेर काम गरिदिनुप¥यो ।’
चार वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरू आफ्ना समस्याप्रति कसैले पनि चासो नदेखाएको भन्दै निराश छन् । ‘विगतमा केन्द्र सरकारले केही गरेन भनियो’ उनले भनिन्, ‘संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय सरकारले पनि बाढीपीडित व्यवस्थापनबारे उदासिन देखियो ।’ उनले निर्वाचताका महŒवाकांक्षी र आशावादी घोषणा पत्र लिएर चुनावी मैदानमा उत्रिएका राजनीतिक दलका प्रतिनिधिले समेत प्रतिबद्धता भुल्दै गएको बताइन् । ‘घोषणा–पत्रमा समेटिएका बुँदाहरू भाषणमा मात्रै सीमित हुने भए’ उनले भनिन्, ‘आश्वासन सुन्दा घरबास पाइने भयो, भन्ने लाग्थ्यो तर, हाम्रा दिन फर्किएनन् ।’
देवकोटा र शाही प्रतिनिधि पात्र मात्रै हुन्, सांसद रावतलाई घोषण–पत्रमा विस्थापितका बारेमा लेखिएका प्रतिबद्धता सम्झाउने । २०७१ असारदेखि तिखाकुनास्थित त्रिपालमुनी बस्दै आएका ९२ घर बाढीपीडितहरूले घोषणा–पत्रको कार्यान्वयन पर्खिबसेका छन् । बाढीका कारण क्षति भएपछि त्रिपालमुनी रात काट्दै आएका उनीहरूले सरकारले उचित व्यवस्थापन गर्न नसक्दा कैदीबन्दी जस्तो सजाय भोग्नुपर्ने बाध्यता रहेको दुखेसो सांसदसँग पोखे ।
बाढीपीडितका समस्या बुझेपछि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य नवराज रावतले आगामी बजेटमा सुर्खेतका बाढीपीडितलाई सम्बोधन गर्ने गरी बजेट विनियोजनका लागि केन्द्र सरकारलाई दबाब दिने बताएका छन् । उनले बाढीपीडित पुनस्र्थापनामा प्रदेश सरकार पनि गम्भीर भएर लाग्नुपर्ने बताए । उनले निर्वाचनताका भएका प्रतिबद्धता पूरा गर्ने भन्दै हाल केन्द्र सरकारसँग बाढीपीडितका समस्याबारे जानकारी गराएको बताए । उनले आगामी बजेटले बाढीपीडितलाई पुनस्र्थापना गर्नेगरी योजना निर्माण गर्न केन्द्र सरकारसँग आफ्नो पहल रहेको बताए । ‘सरकारले बाढीपीडितहरूको व्यवस्थापन गर्छ’ बाढीपीडितलाई सम्बोधन गर्दै उनले भने, ‘प्रदेश सरकारदेखि केन्द्र सरकारको ध्यान तपाईंका समस्या माथि भएकाले धेरै समय त्रिपालमा बस्नुपर्दैन ।’
बजेट विनियोजनमा भएको अन्यौलताका कारण चालु आर्थिक वर्षमा बाढीपीडित पुनस्र्थापनाका लागि योजना नभएको पञ्चपुरी–५ बावियाचौरका वडा अध्यक्ष होमबहादुर राम्जालीले बताए । उनले वडापालिकाबाट खानेपानी व्यवस्थापनका लागि पहल भइरहेको बताए । शिविरमा खानेपानी समस्या देखिएकाले तत्कालका लागि खानेपानी व्यवस्थापन गर्ने बारे वडापालिका नगरपालिकासँग सहकार्य गरिरहेको उनले बताए । बजेट विनियोजन गर्दा बाढीपीडितहरू स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको स्वीकार गर्दै उनले आगामी बजेटमा पुनस्र्थापना बारे विशेष योजना वडापालिकाले ल्याउने बताए ।
साझा बिसौनी ।