भूमिका खोज्दै एनजीओ

सुर्खेत, २३ वैशाख । (साबिस)
कर्णालीको विकासका लागि यहाँका गैरसरकारी संस्थाहरूले आफ्नो भूमिका खोज्न थालेका छन् । समृद्धि र विकासका लागि सरकारले ल्याएका योजना सफल कार्यान्वयन गर्न एनजीओले जिम्मेवारी खोज्न थालेका हुन् । एनजीओ प्रतिस्पर्धी नभइ सहयोगी भएकाले प्रदेश सरकारले भूमिका निर्धारण गर्न आग्रह गरेका छन् ।
दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको प्रदेशस्तरीय नागरिक सम्मेलनबाट जारी गरिएको घोषणा–पत्र सार्वजनिक गर्दै गैसस महासंघ कर्णाली प्रदेश अध्यक्ष खिमबहादुर शाहीले एनजीओलाई नियन्त्रण नभइ नियमन गर्न सरकार अग्रसर हुनपर्ने बताए ।
विज्ञ, नागरिक संघ–संस्था र प्रदेश सरकार तथा सांसदहरूको सहभागितामा तयार पारिएको आठ बुँदे सुर्खेत घोषणा पत्रमा समेत समृद्धि र विकासका लागि सरकारसँग सहकार्य गर्ने बताइएको छ । घोषणा पत्रमा विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गरी अभिभावकत्वसमेत ग्रहण गर्ने, प्रदेश सरकारका विकासका रणनीति, योजना र प्राथमिकताका क्षेत्रहरूमा साझेदारी कार्यमा निस्वार्थ भइ सहयोग पु¥याउने प्रतिबद्धता गरिएको छ । यस्तै, महिला, बालबालिका, अल्पसंख्यक, ज्येष्ठ नागरिक र विपन्न समुदायको सहभागिता, उत्थानका लागि जोड दिइने लगायतको प्रतिबद्धतासहित घोषणा–पत्र जारी गरिएको प्रदेश सचिव हरिप्रसाद अधिकारीले बताए ।
दिगो विकास लक्ष्यको निदृष्ट उद्देश्य बमोजिम कर्णाली प्रदेशको समृद्धिका लागि विकास साझेदार, सामाजिक संस्थाहरू, सञ्जालहरू, नेटवर्कहरू र गैससहरूको प्रदेशस्तरीय साझा दिगो विकास मञ्च गठन गरी सहकार्य गर्ने घोषणा गरिएको छ । प्रदेश सरकारका विकास रणनीति, योजना र प्राथमिकताका क्षेत्रहरूमा साझेदारी गर्न उपयुक्त वातावरण बनाउन, भेदभावरहित विकास रणनीति तय गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।

प्रकाशित मितिः   २४ बैशाख २०७५, सोमबार १५:४६