‘खेल खेल्दा पनि म बहुदलको पक्षमा हुन्थें’

राजबहादुर शाही कर्णाली प्रदेशका सभामुख हुन् । वि.सं. २०२६ साल मंसिर २१ गते ठाँटीकाँध गाउँपालिका (तत्कालीन तोलीजैसी गाविस वडा नम्बर ७) दैलेखमा बुबा जगत शाही र आमा महोधरा शाहीको कोखबाट जन्मिए । विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका शाही नेकपा एमालेको तर्फबाट प्रदेश सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भए । सर्वसम्मत् रूपमा कर्णाली प्रदेशको पहिलो सभामुख बनेका शाहीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः

गाउँमा हामी सम्पन्न परिवार जस्तै थियौं । जग्गा प्रशस्तै थियो, घरमा गाइबाख्रा धेरै थिए । खान–लाउन समस्या थिएन । हामीलाई बुबाको भन्दा मुवाँको डर लाग्थ्यो । उहाँ आफू पनि सबै काम गर्न अघि सर्नुहुन्थ्यो, हामीलाई पनि सक्दो काम गर्न लगाउनुहुन्थ्यो । मैले हलो जोत्ने, घाँस काट्ने, खेतमा काम गर्ने सबै काम गर्थें ।
मैलै सानै उमेरमा विद्यालय जाने अवसर पाएँ । गाउँमा विद्यालय खुलेको भर्खरै दुई÷तीन वर्ष भएको थियो । दुई वटा प्राथमिक विद्यालयहरू स्थापना भएका थिए । एक जना शिक्षासेवी पूर्ण बडुवाल हुनुहन्थ्यो । उहाँले त्यसबेलामा छोराछोरी पढाउनुपर्छ भनेर सबैलाई घरघरमा भन्दै हिँड्नुहुन्थ्यो । तिलेपाटा गाउँपञ्चायतमा कालिका मावि थियो । म त्यही गएर पढें । बुबा–मुवाँले आफ्नै गाउँको विद्यालय छोडेर त्यहाँ पढ्न पठाउनुभएको थियो । वि.सं. २०३२ सालमा मैले पहिलो पटक विद्यालय गएको थिएँ । त्यसबेलामा म ६ वर्षको मात्र थिएँ । घरबाट टाढा गएर पढ्दा अर्कै देशमा गएको जस्तो लाग्थ्यो । प्रत्येक शुक्रवार घर आउँथ्यौं । जाने बेलामा रुँदै जान्थ्यौं । हामीसँगै बुबा–मुवाँ पनि रुनुहुन्थ्यो । अहिलेका विद्यार्थीहरू अमेरिका लगायत विदेश गएर पढ्छन् । त्यसबेलामा हामी आफ्नो गाउँबाट अर्को गाउँमा गएर पढ्दा पनि अहिलेको अमेरिका गए जस्तै लाग्थ्यो । मितबुबाको घरमा बसेर पढेका थियौं । दाई पनि साथमा हुनुहुन्थ्यो ।
कालिका माविमा मैले कक्षा ८ सम्म पढें । त्यसैबेलादेखि नै विद्यार्थी संगठनमा लागें । त्यतिबेला नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनमा नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आवद्ध भएर मैले विद्यार्थी राजनीति सुरु गरेको थिएँ । गाउँमा कहिले काहीं कचहरी हुन्थ्यो । त्यहाँ गएर आफूलाई चित्त नबुझेको विषयमा आफ्नो भनाइ राखिहाल्थें । एक पटक गाउँमा वडा अध्यक्षसँग एउटा विषयमा भनाभन नै भयो । मैले आफूलाई चित्त नबुझेको कुरा भनि हालें । सानोले ठूलासँग त्यसरी कोही पनि बोल्न सक्दैन्थें । त्यसबेलामा मेरो बुबाले यो ठालु (नेता) नै बन्छ भन्नुभएको थियो । विद्यार्थी संगठनमा लागे पनि भविष्यमा यो नै बन्छु भन्ने थिएन । केटाकेटी हुँदा त्यसबेलामा यस्तो बन्छु उस्तो बन्छु भन्ने हुँदैन्थ्यो ।
वि.सं. २०३६ सालमा बहुदल र निरदलको पक्षमा खुब प्रचार हुन्थ्यो । हामी केटाकेटीहरू पनि त्यसैलाई खेल बनाएर खेल्थ्यौं । बहुदल र निरदलको पक्षमा विभाजित भएर खेल्थ्यौं । खेल्दाखेल्दै झगडा परिहाल्थ्यो । हानाहानसम्म हुन्थ्यो कहिले काहीं । संयोगले म बहुदलको पक्षमा हुन्थें । हामी साथीहरूबीच पनि मतभेद हुन्थ्यो, बहुदल र निरदलको पक्षमा ।
केटाकेटी हुँदा केही बदमासी पनि गरियो । सुन्तला, उखु, चोरेर पनि खाइन्थ्यो । एक पटक साथीहरूलाई चोर्न पठाएर आफू बाटोमा बसें । मालिकले साथीहरूलाई लखेट्दै ल्याए । म बाटोमा थिएँ । साथीहरूलाई लखेट्दै आएका घरमालिकसँग म नै पहिला कराउन थाले, किन लखेटेको भनेर । अबदेखि यस्तो नगर्नु भनेर उनी फर्किए । अर्को पटक दुई जना साथी विद्यालयबाट फर्किदै थियौं । बाटोमा मकैबारी थियो । हामीले मबै भाँच्दै ढुङ्गामा राख्दै ग¥यौं । करिब सात÷आठ सय मकैका बोट भाँचेछौं एउटै परिवारका । पछि विवाद भयो । दुई परिवारको मनमुटाव नै भयो ।
सानो छँदा म प्रायः सबै साथीहरूको नेतृत्व लिन्थें । प्रायः गाइगोठालो जान्थ्यौं । घरबाट तेल, पिठो लिएर जान्थ्यौं । देउता पुज्ने भनेर मन्दिर गराउँथ्यौं । म पूजारी हुन्थें । पूजारीले अरु बाहिरका काम गर्नुहुन्न भनेर गर्दैनथें । साथीहरूले कोहीले काम गर्ने कोही पूजारी बनेर बसीबसी खाने भन्थे । रमाइलो नै हुन्थ्यो । त्यसरी साथीहरूसँग रमाइलो गरेको सम्झना अझै पनि ताजा नै छ । पहिले गाउँघरमा जात्रा खुब लाग्थ्यो । सानो छँदा प्रायः जात्रा जानै नदिने । त्यसबेलामा जात्रा जानु पनि ठूलो काम गरेको जस्तो हुन्थ्यो । २०३६ सालमा जात्रा हेन गएको थिएँ । खुबै रमाइलो हुन्थ्यो । त्यसबेलामा प्लाष्टिकको चाइनिज जुत्ता लगाउने चलन थियो । बुबाहरू राजापुर हाट गएको बेलामा किनेर ल्याइदिनुहुन्थ्यो । १०÷२० रूपैयाँ मूल्य पथ्र्यो । एक पटक जात्रा जाँदा कसले एउटा जुत्ता चोरिदिएछ । त्यसबेलामा नयाँ र राम्रो कपडा लगाए पनि गर्व महसुस हुन्थ्यो । नैनसुतका दौडासुरुवाल हुन्थे । दाजुको विवाहमा तिनै दौडासुरुवाल लगाएर गएको थिएँ । सबैले मलाई मात्र हेर्ने । बेहुला पक्षबाट आएको जन्ती यो मात्र राम्रो छ भनेर भन्थे ।
बाल्यकालमा तास पनि खेल्थ्यौं । घरबाट टाढा बस्ने भएकाले तास खेलेको कसैले थाहा पाउनुहुँदैन्थ्यो । कहिले काहीं विद्यालय नै नगएर तास खेल्ने काम पनि गरियो । एक पटक सरले थाहा पाउनु भएछ । घरमा गएर भनिदिनु भएछ । घरबाट हामीले तत्तकालै त्यहाँ (कालिका) विद्यालयबाट छुट्टाएर हाडाकोटको विद्यालयमा भर्ना गरिदिनुभयो । घरबाट जान एक दिन लाग्थ्यो । त्यहाँ गए पनि साथीहरूसँग मिलेर तास खेलिहाल्थ्यौं । प्रत्येक शुक्रवार घर आउने । बिदाको समयमा तास खेल्ने गरियो । त्यसरी पनि तास खेलेको घरमा थाहा पाइहाल्नुभयो । त्यसपछि हामीलाई दैलेख सदरमुकाममा त्रिभुवन माविमा कक्षा ९ देखि भर्ना गरिदिनुभयो । घर धेरै टाढा थियो । हाम्रो गाउँबाट हिँडेर नै सदरमुकाम आउनुपथ्र्यो । चामल, दाल, सातु, पिठो सबै खर्च घरबाटै ल्याएर आउँथ्यौं । हाम्रो गाउँबाट हिउँदमा दुई÷चार जना मात्र मान्छेहरू सदरमुकाम आउने गर्थे । मैले २०४४ सालमा त्रिभुवन माविबाटै एसएलसी पास गरेको हुँ । मेरो गाउँमा एसएलसी पास गर्ने म तेस्रो थिएँ । टेष्ट दिएपछि केही समयसम्म मैले आफ्नै गाउँमा पनि पढाएँ । त्यसबेलामा कक्षा १० सम्म पढेका कोही भेटिए भने विद्यालयमा पढाउन आउनुप¥यो भन्थे । ९ र १० त्रिभुवन मावि दैलेखमा अध्ययन गरें र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट आइकम पास गरें ।
विद्यार्थी संगठनमा आवद्ध भइरहँदा वि.सं. २०४५ सालमा पार्टीको सदस्यता प्राप्त गरें । बहुदलको व्यवस्था नहुँदा पार्टीमा खुलेर लाग्ने अवस्था थिएन । भूमिगत भएर संगठनका गतिविधिहरू सञ्चालन हुन्थे । पञ्चायती व्यवस्थाको विरोधमा भएका गतिविधिहरूमा सक्रिय हुन्थें । वि.सं. २०४६ सालको आन्दोलनमा पनि सक्रिय भएँ । वि.सं. २०४७ सालमा सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको नेक्राविसंघका अध्यक्ष भएँ । विद्यार्थी राजनीतिसँगै आईकम पास गरेर दैलेख फर्किएपछि वि.सं. २०४८ सालमा नेमकिपाको जिल्ला कमिटी सदस्य भएँ । २०५२ सालमा नेमकिपा र नेकपा एमाले एक भए । पार्टी एकीकरणपछि एमाले दैलेखको जिल्ला कमिटी सदस्य समेत भएँ । वि.सं. २०५४ सालको स्थानीय निकायको चुनावमा तत्कालीन तोलिजैसी गाविसको अध्यक्ष बनें । वि.सं. २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको हुँ ।

प्रकाशित मितिः   २४ बैशाख २०७५, सोमबार १५:४५