मुगुका आगलागी पीडितलाई राहत

साझा बिसौनी संवाददाता
मुगु, २२ वैशाख ।
गत बिहीवार भएको आगलागीबाट प्रभावित मुगुका नागरिकहरूलाई सरकारले राहत वितरण गरेको छ । मुगुम कार्मरोङ्ग गाउँपालिका–४ किम्री मुगुका आगलागी पीडितलाई केन्द्र सरकारको सहयोगमा शनिवार राहत वितरण गरिएको हो । गृहमन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त राहत सामग्री कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वितरण गरेका हुन् ।


केन्द्र सरकारद्वारा प्रदान गरिएको ३४ वटा त्रिपाल, एक सय १२ वटा स्लिपिङ्ग ब्याग, ५१ वटा कमल, बृद्धबृद्धाका तथा बालबालिकाका एक सय १२ थान ज्याकेट, चप्पल र १७ वटा तौलिया वितरण गरिएको हो । कर्णाली प्रदेश सरकारका तर्फबाट दुई सय केजी चिउरा, ७५ केजी दाल, एक सय केजी चिनी र बिस्कुटसमेत आगलागी पीडितलाई वितरण गरिएको हो । आगलागीबाट १७ घर जलेर क्षति भएको तथा एक सय १२ जना आगलागीबाट प्रभावित भएका थिए ।
कार्मारोङ्ग गाउँपालिका–४ का वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरू भएको आगो गाउँभरी फैलिँदा ती घरहरू जलेका हुन् । बिहीवार बिहान लागेको आगो दिउँसो करिब तीन बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट मुगुम कार्मारोङ गाउँपालिका–४ का फोन्जोक लामा, आङ्गडाक लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्गजु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ्ग लामा, फुर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ्ग लामा, सोनाम आङ्गडु लामा, ग्याल्बो लामा, अङ्गजक लामा, जिक्टोल लामा, गारा छिरिङ्ग लामाको घर जलेर नष्ट भएका थिए ।
यसअघि पीडित परिवारका लागि तीन महिनासम्म पुग्ने खाद्यान्न वितरण गरिएको थियो । रेडक्रस सोसाइटीबाट त्रिपाल, भाँडाकुँडा, र लत्ताकपडा राहत वितरण गर्नुका साथै प्रतिपरिवार १० हजार रूपैयाँ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । खाद्य संस्थानले आवश्यक चामल वितरण गरिसकेको थियो । उनका अनुसार आगलागीबाट साढे चार करोड रूपैयाँ बराबरको क्षति भएको थियो । गाउँपालिकाका कार्यकारी अधिकृत टेकबहादुर शाहीले एक आपसमा जोडिएका घरहरू भएकाले आगलागीबाट धेरै क्षति भएको बताए ।

प्रकाशित मितिः   २३ बैशाख २०७५, आईतवार १५:५२