व्यवसायीकै बन्दले रोकेन यात्रा

कर्णालीभित्र बन्दको प्रभाव न्यून, लामो दूरीका सवारी भने ठप्प


साझा बिसौनी संवाददाता
सुर्खेत, २१ वैशाख ।
सिन्डिकेट खारेजीको विरोधमा यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रवार देशभर यातायात बन्दको आव्हान ग¥यो । तर सुर्खेत बसपार्कमा भने शुक्रवार पनि यात्रुहरूको चहलपहल उत्तिकै थियो, जति विगतका दिनहरूमा हुने गर्दथ्यो ।
अन्य प्रदेशमा सवारी साधन ठप्प हुँदा सुर्खेतसहित कर्णाली प्रदेशभित्रका जिल्लाहरूमा भने धमाधम सवारी साधन सञ्चालन भइरहेका थिए । सिण्डीकेट पक्षधर व्यवसायी समितिहरूले यातायात ठप्प पारे पनि कम्पनी ऐन अन्तर्गत दर्ता भएका प्रालिहरूले निर्बाध रूपमा सवारीका साधन सञ्चालन गरेपछि कर्णालीभित्रका यात्रुहरूले बन्दको सास्ती खेप्नु परेन ।
यस क्षेत्रमा ठूला र धेरै सवारी साधन भएका मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ र काँक्रेविहार यातायात व्यवसायी संघले ठूला र लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाए पनि प्रालिका रूपमा सवारी साधन दर्ता भएका केही यातायात व्यवसायीले आफ्ना सवारी साधन सञ्चालन गर्दा यात्रुहरू समयमा नै गन्तव्यमा पुगे । जसका कारण कर्णालीभित्रका जिल्लाहरूमा बन्दको प्रभाव नै परेन । सिण्डिकेटविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएपछि प्रालिमा दर्ता भएका यातायात व्यवसायीहरूले पनि सरकारको कदमलाई साथ दिएका छन् ।
बिहान झिसमिसेदेखि नै चहल पहल सुरु हुने सुर्खेत बसपार्कको चहपहल बन्द आव्हानका बाबजुद पनि शुक्रवार कम देखिएको थिएन । बसपार्क पुग्दा यात्रुहरू गन्तव्यतर्फ हिँडिरहेका थिए । यातायात व्यवसायी संघहरू आन्दोलित भएपछि कर्णाली प्रदेश राजधानीबाट देउती नगारिक यातायात प्रालि र बुलबुले यातायात प्रालिले छिमेकी जिल्लामा नियमित यात्रु ओसारिरहेका छन् । उनीहरूले रुटपरमिट अनुसार सवारी साधन सञ्चालन गरेका हुन् ।
बन्दका बाबजुत पनि देउती नागरिक यातायात प्रालिले आफ्ना ४६ वटा सवारी साधन सुर्खेत, दैलेख, जुम्ला र नेपालगन्जका लागि सञ्चालन गरेको थियो भने बुलबुले यातायात प्रालिले २१ वटा हाइस सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट लगायत ठाउँमा सञ्चालन गरिरहेको छ । हाइस, किया लगायतका साना सवारी साधन दिनभर सञ्चालन भएकाले गन्तव्य पुग्न कुनै समस्या नभएको वीरेन्द्रनगर–११ का पूर्णप्रसाद रूपाखेतीले बताए । उनले यातायात व्यवसायी संघलाई करको दायरामा ल्याउन सिण्डिकेट खारेजी हुनुपर्ने बताए । सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै उनले सिण्डिकेटविरुद्ध नागरिकले समेत डटेर सामना गर्ने बताए । ‘आम नागरिक बरु पैदल हिँड्न तयार छौं’ उनले भने, ‘तर, यातायात व्यवसायीले सेवाका नाममा जोखिम मोलेर यात्रु बोक्ने प्रथा अन्त्य हुनुपर्छ, सरकारलाई पूर्ण सहयोग छ ।’
देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का (जुनी) ले यात्रुहरूको सुविधाका लागि नियमित रूपमा आफ्ना यातायातका साधनहरू सञ्चालन गर्ने बताए । उनले संघमा दर्ता भएका यातायात व्यवसायीको विरोध भन्दा पनि निर्बाध रूपमा यात्रुहरूलाई कुनै असहजता नहुने गरी सेवा प्रवाह गर्ने बताए । सिण्डिकेटका कारण संघका आडमा हुने दादागिरी समेत अन्त्य हुने भएकाले सरकारको निर्णयलाई प्रालिले समर्थन गरेको उनले बताए । सरकारको विरोधमा बन्द हुनु राम्रो नभएको भन्दै उनले करको दायरामा आउनुपर्ने बताए । उनले सरकारले सुरक्षा दिए निर्बाध रूपमा सेवा दिने बताए । ‘संघका सवारी साधन सञ्चालन भए÷भएनन् हामीलाई सरोकार छैन’ उनले भने, ‘सरकारले सुरक्षाको ग्यारेण्टी गरे, प्रालिका सवारी साधनहरू नियमित सञ्चालन हुन्छन् ।’ प्रालिमा दर्ता भएका यातायात व्यवसायीहरूले सरकारसँग आवश्यक सुरक्षा माग समेत गरेको बताएका छन् ।
कर्णाली प्रदेशभित्र बन्दको खासै प्रभाव नपरे पनि यहाँबाट सञ्चालन हुने लामो दूरीका यातायात भने सञ्चालन हुन सकेनन् । लामो समयदेखि सुर्खेतसहित कर्णाली प्रदेशमा सिण्डिकेट लागू गर्दै आएका केही यातायात व्यवसायीहरूले सुर्खेतदेखि काठमाडौं लगायत लामो दूरीमा सञ्चालन हुने सवारीका
साधन बन्द गर्दा त्यहाँ पुग्ने
यात्रुहरू भने गन्तव्यमा जानबाट वञ्चित हुन पुगे ।
चार जना पक्राउ
सरकारी निर्णयविरुद्ध हड्तालमा उत्रिएका चार जना यातायात व्यवसायी पक्राउ परेका छन् । गृह मन्त्रालयको आदेश अनुसार गाडी थन्क्याएका सिण्डिकेटका पक्षधर यातायात व्यवसायीलाई सुर्खेत बसपार्कबाट शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
काँक्रेबिहार बस व्यवसायी संघसँग आबद्ध वीरेन्द्रनगर–५ चिसापानीका दिपेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार मध्यपश्चिमाञ्चल बस व्यवसायी संघमा आवद्ध तीन जना यातायात व्यवसायी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् प्रवक्ता श्यामसिंह चौधरीका अनुसार वीरेन्द्रनगर–६ का गोकर्णकुमार खत्री, वीरेन्द्रनगर–३ का तातापानीका शेरबहादुर भण्डारी र धनबहादुर खत्री पक्राउ परेका हुन् । गृह मन्त्रालयको आदेश अनुसार गाडी नचलाउने यातायात व्यवसायीलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान जारी रहेको उनले बताए ।

प्रकाशित मितिः   २२ बैशाख २०७५, शनिबार १५:११