कर्णाली किन गरीब भयो ?

सूर्यनारायण पुरी
हाम्रो कर्णाली प्रदेश स्थापना भईसकेपछिको पहिलो यात्रा थियो । हामी पेशाले नेपालको विकासे कार्यकर्ता’को रूपमा कार्यरत छौं । त्यसैले होला नेपालका विभिन्न प्रादेशिक राजधानीहरूमा यात्रा हुन्छ, विभिन्न आर्थिक, समाजिक, राजनितीक, सरकारी तथा निजी स्तर समेतका बहालवाला निकायहरूमा तल्लो तहदेखी माथिल्लो तहसम्म परम्परागत समाजलाई कसरी आधुनिक र आत्मनिर्भरतामा परीवर्तन गर्ने भन्ने बारेमा छलफल हुन्छ । हामी जहाँ जुन ठाउँमा पुग्यौं, त्यही ठाउँमा संभाव्यता खोज्छौं । जब कि समाजको विकासमा हामी जस्ता अलिकती देश तथा विदेशको विकासबारे बुझेकोले होला कौतुहलता लागिहाल्छ ।

हामीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा झण्डै ६ रात बिताएका थियौं । हामीसंग केही नेपाली तथा विदेशी साथीहरू पनि हुनुहुन्थ्यो तर कर्णाली प्रदेशको राजधानीमा अर्थात शहरीया जीवन बिताउने मानिसहरूको अवस्था देखेर हामीबीच आपसमै केही छलफल भएको थियो । मेरो पेशागत दायरा हुँदाहँुदै पनि मनले मान्दै नमानेर परिवर्तन होस भन्नका लागी हामी शहरीयाहरू पनि गरीव हुनुको कारण खोज्ने प्रयत्न गरेको छु ।
हामी दक्षीण एशियाली मुलुकका नागरीक हौं, जहाँ हरेक नागरीक विकासोन्मुख छ र देशहरू पनि विकासोन्मुख अवस्थामा रहेका छन । सामान्यतया हामीले जानेको र थाहा पाएको कुरा भने आधारभूत आवश्यकता पूरा गर्न आवश्यक स्रोत साधनको अभाव, आर्थिक अभाव, प्रतिव्यक्ति आम्दानी न्यून, वा भएका स्रोत साधनको सही उपयोग गर्न नजान्नु, नपाउनुले गरीवीको रूपमा चिनिनु परेको हुन्छ । अर्को भने चेतनाको कमी र व्यवस्थापनको ज्ञान नहुनु नै हो र खासमा शहरमा बस्ने हामी शहरिया नै किन गरीव छौं भन्ने जान्न सकेमा मात्र पनि अब केही नयाँ आयाम पत्ताल गाउन मद्दत पुग्ला कि भन्ने आशय यो आलेखको हो ।
दूर दराजमा रहेका हामी नेपालीहरू भौगोलिक विकटता, हावापानी, खेतीयोग्य जमिनको अभाव, शिक्षा, स्वास्थ्य, खानपान लगायतका कुरामा आवश्यक शिक्षाको कमीले गरिवीको रूपमा रहनु स्वाभाविक होला तर शहरमा बस्ने हामी पनि धेरै कुराले गरीव छौं । समग्र सुर्खेतमा बस्दा हामीले देखेको कुराहरू यसरी बुदागत रूपमा लेख्न सकिन्छ ।
१. व्यवस्थित रूपमा बसोबास नहुनुः हाम्रा ठूलाठूला घरहरू छन्, व्यवस्थित कोठाहरू पनि छन् तर कोठमा हावा छिर्ने भेन्टिलेसन समेत छैन, कोठाले घामको उज्यालो पाउँदैन, दिनमा पनि बत्ती नबाली कोठमा काम गर्न सकिदैंन, कुनै वस्तुको पहिचान गर्न सकिदैन । यस्तो कोठामा बसेको मान्छेको मनपनि साँघुरो हुनपुग्छ र सिर्जनात्मकता क्षय भएर जाने गर्दछ ।
२. फोहोर व्यवस्थापनमा ज्ञान नभएकोः आफ्नै घरको छतबाट, कोठाबाट, पूजाकोठाबाट, भान्साबाट जथाभावी रूपमा फोहोरको पोकाहरू आफ्नै घरको अगाडि फ्यालेको हुन्छौं । तर त्यही फोहोर र किटाणुले प्रत्यक्ष रूपमा आफैंलाई असर गरेको बोध छैन । किन बिरामी भएँ, किन अनेक रोगले च्याप्यो पत्तो छैन र दुर्गन्धले हामी नाक थुनेर हिँड्न बाध्य छौं । स्वच्छ वातावरण र स्वच्छ हावाको अभाव अनि यो नाक थुनेर हिँड्ने हामी सम्पन्न कसरी परिवर्तन हुने हाम्रो लापरवाहीले हाम्रा सन्ततिलाई हानी पुग्छ कि भनेर त सोचेकै छैनौं ।
३. सडक, यातायात र सुरक्षाः राजधानी हुनु पहिले र अहिले सडकको पैदल यात्रा गर्दा सजिलै थाह हुन्छ । काठमाण्डौंको जस्तो जाम हुँदैन, काठमाण्डौंको जस्तो धेरै गाडीहरू पनि छैनन्, मानिसहरूको भिडभाड पनि कम हुन्छ तर पनि धुलो उस्तै छ, माक्स नलगाई पैदल हिँड्न सकिदैंन । जति बजेट छुट्टयाए पनि सडकका खाल्डाखुल्डी प्राय जसो ठाउँमा उस्तै छन् । यही धुलो धुवाँको कारणले कति जनालाई नियमित औषधि सेवन गर्नुपरेको छ । राम्रो लुगा लगाएर बजारमा हिँड्न मिल्ने स्थिति छैन, अबको केही वर्ष पछिको तथ्यांकले देखाउला कर्णाली प्रदेशमा धुलो धुवाँले गर्दा क्यान्सर रोगका बिरामी बढे भनेर । सार्वजनिक सवारी साधन र सवारी चालकको अनियमितता र मिचाह प्रवृतिले सुरक्षित यातायातको महसुस गर्न पाइएको हुँदैन, कुनै ठाउँमा समयमा पुग्न नसकेकै कारण एक दिनमा सकिने काम २÷३ दिन लाग्छ ।
४. खाना खान नजान्नुः हाम्रो दैनिक जीवनमा कम्तीमा पनि तरकारीको मात्रा २७५ ग्राम, फलफूल १५० ग्राम आवश्यक पर्दछ जुन भिटामिन, लवण, क्याल्सियम आदि जस्ता तŒवहरू हाम्रो शरीरलाई चाहीन्छ तर हाम्रो खानामा आलुलाई बढी प्राथामीकतामा राखेर खान्छौं । आलु कार्बोहाइड्रेटको स्रोत हो जुन तŒव भात तथा रोटीमा पनि पाईन्छ । मौसमअनुसार के खाने र कसरी खाने भन्ने बारेमा अन्यौलमा हुन्छौं । अझ हामी बरु फास्टफुड र माँसाहारमा बजेट छुट्टयाएकै हुन्छौं । धूमपान र मध्यपान जारी छ । अस्वस्थ खानपान नै हाम्रो स्वास्थ्यको कारण हो भन्ने थाहा पाएका छैनौं या थाहा पाएर पनि महŒव दिएका छैनौं र अनेक रोग निम्त्याएर अस्पताल र औषधिलाई रकम छुट्टयाएका हुन्छौं । हामी धेरै खान्छौं, जे पनि खान्छौं तर के खाने र कसरी खाने जान्दैनौं भने चेतनाको स्तरबाट यहाँ भन्दा गरीवीको मापन अरु के होला ?
५. आत्माविश्वासको कमीः पूर्व अर्थात् एक नं. प्रदेशका मानिसहरू थोरै आम्दानी छ भनेनि वा आम्दानीको स्रोत नै छैन भनेनी धेरै नै प्रफुल्लित देखिन्छन् र आनन्दको खुशी देख्न पाइन्छ । पश्चिम अर्थात् कर्णाली प्रदेशको केही जिल्लाहरूमा घुम्दा धेरै जसोको अनुहार बेचैनी र निधारमा गाँठा परेकै देखिन्छ । यदाकदा बाहेक आनन्दित, प्रफूल्लित, शान्त, प्रसन्न व्यक्ति भेट्न मुश्किल छ र मानिसमा एक आपसमा मित्रता भन्दा शत्रुता र प्रतिशोधको भावना विकसित देखिन्छ । यसको अर्थ आत्मविकासको कमी र स्वाभाविक मनोवृत्तिको अभाव हो ।
६. शुद्ध आचरण नहुनुः नेपालको जस्तो कडा कानुन सायदै अरु देशमा होलान् तर कानुन कार्यान्वयनमा भने खासै प्रभाव देखिएको छैन । अरुको पालो कसरी मिच्ने, छिमेकी वा चिनेको कोही सफलताको बाटोमा हिँड्न खोज्दा असहयोग गर्ने, कम हुने खाने परिवारलाई हेप्ने प्रवृत्ति हावी भएको देखिन्छ । मन भन्दा पनि हृदयदेखि नै सहयोगको, खुशीको विकास हुनसकेमा मात्र विकासको अनुभूति लिन सकिन्छ । नेपाल भन्दा परका विकशित देश युरोप, अमेरिका देशहरू जतिपनि विकसित छन्, कुन आधारमा ती राष्ट्रलाई विकसित भनिएको भनेर सोध्यो भने (त्यहाँ सबै कुरा व्यवस्थित छ, त्यहाँका मानिसले नियम कानुनको पालना गर्दछन् भन्ने जवाफ सबैले दिन्छन् । हुन पनि बाहिरको आचरण र अनुशासनलाई मान्दामान्दै भित्रैबाट उनीहरू शान्त, सौम्य, शिलवान हुन पुगेका छन् । भित्रको आचरण साधिदै गएपछि भ्रष्टाचार मुक्त भएर न्यायिक समाजको निर्माण हुने त हो ।
७. स्वार्थीपना हावी भएकोः मै खाऊँ, मै लाऊँ, अरु सब मरुन् दुर्वलहरू भन्ने सोचाइ हटेको छैन । आफ्नै व्यापार, आफ्नै उन्नति, आफ्नै मान्छे, आफ्नै सम्पन्नता चाहेको हुन्छ सबैले । तलदेखि माथि पहुँच भएका सम्मको क्रियाकलाप यस्तै छ, अरुको ख्याल कसले गर्ने ? विषादी राखेर उत्पादन गरिएका तरकारी, फलफूल, दूधदेखि लिएर हरेक खाद्यान्नमा मिसावट, रासायनिक पदार्थको प्रयोग बढेको बढ्यै छ । यसरी अरुको स्वास्थ्य र मर्मलाई ख्याल नगरी कमाउने हामी गरीब त हौं ।
८. आधुनिकतामा जान नखोज्नुः कर्णाली प्रदेशको प्राकृतिक स्रोत साधन अन्य प्रदेशहरूमा सायदै होला । हामीकहाँ भएका स्रोत साधन, नदीनाला, जंगल, जडिबुटी , वनस्पति अन्य देशको तुलनामा अतुलनीय छ । भएका स्रोतको उचित प्रयोग गरेर लाभ लिनसक्ने नयाँ आयामको सोचाइ बनेको छैन । रुद्राक्ष, बेल, आँप, धर्सीग्रे, चिराइतो, जटामसी, यार्सागुम्बा आदि जडिबुटीहरू यही प्रदेशमा पाइन्छन् । विश्वमै नभएको पानीमा आगो बल्ने ज्वाला मन्दिर (नाभिस्थान, शिरीस्थान), राराताल, चन्दन नाथ मन्दिर, वीरेन्द्रनगरमा नै पर्यटकीय स्थलहरू जहाँ देउती बज्यै, काँक्रेविहार, शिवमन्दिर रहेका छन् । जसरी विदेशी उच्चस्तरका पाउना काठमाडौं आउँदा चन्द्रागिरी र पशुपति जान्छन् त्यस्तै कर्णाली प्रदेशको भ्रमण गर्दा उच्चस्तरका पाउनालाई घुमाउने ठाउँहरू शिव मन्दिर, काँक्रेविहार, देउतीबज्यै मन्दिरहरूलाई आत्मसात् गर्नसकेका छैनौं । विकास र सम्पन्नता भावनाबाट जागृत हुनुपर्दछ । भौतिक विकास बाहिरी पाटो हो भने आध्यात्मिक विकासले भित्री आँखा खोल्दछ । आध्यात्मिक रूपमा स्वस्थ, मस्त, शान्त, आनन्दित र मैत्रीभाव भएका व्यक्तिहरू समाजमा हुने हो भने गरिबी आफैं समाप्त हुनेछ । भएका स्रोत साधनको परिचालन, उपभोग र समतापूर्ण व्यवहारको लागि पनि भित्री आँखा खुलेको व्यक्तिले नेतृत्व लिएको हुनुपर्दछ आफू सही छु भन्ने अहंकारी र आध्यात्मिक विकास नभएको व्यक्तिमा नेतृत्व जानाले हामी दिनानु दिन हरेक आयामबाट पछि परेका छौं भन्दा अनुपयुक्त नहोला ।
९. विद्रोही भावनाः धेरै जसो मानिसमा विद्रोही भावना भएकै कारण अनेक किसिमका क्रान्ति र कलह भइरहेका छन् । सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक या समानता र अधिकार जे नाममा विद्रोह गरे पनि आखिर विद्रोह नै हो । मित्रताको अभाव विद्रोह हो । आफूले चाहे अनुसारको नपाउना साथ विद्रोह सुरु गर्ने र समाजमा अराजकता मच्चाउने हरूको समूह बलियो देखिएकोले गर्दा वास्तविक विकासको क्रान्ति हुन पाएको छैन । क्रान्ति प्रेमको लागि, सद्भावको लागि, समाजको लागि, उन्नतिको लागि नभएर विरोधको लागि विरोधको रूपमा हुने गरेकोले ऊर्जा जति, स्रोत जति विद्रोहमा सकिएको छ भने हामी गरीब नभएर को गरीब हुने ?
१०. उचित प्रकारको मार्ग पत्ता नलगाउनुः अधिकांश मानिसहरूले धन, पद, शिक्षा, स्वास्थ्य, सम्मान, यातायात, सुखसयल आदिहरू त हुन् । यदि यिनै हुन् भने कुन मार्ग हाम्रो लागि उचित हुने हो जुन कुरा हाम्रो लागि दिगो हो भनेर जानेनौं भने खोज्दा खोज्दै गरिबीमै रहन्छौं । यदि उचित प्रकारको निर्णय गर्ने क्षमता, राम्रो विचार, सम्बन्ध, चेतना जागरण, प्रेम, ध्यान, करुणा, सन्तुष्टी र महŒवपूर्ण सकरात्मक सोचको विकास गर्न यदि सकेनौं भने शहरीयामा हरेक दिन गरिबी बढ्नसक्ने देखिन्छ ।
उल्लेखित कुराहरूमा परिवर्तन आएन भने समाजको विकासमा पछि पर्दछ र त्यो दोष नेतृत्वलाई हुनेछ, अब आउँदै गरेका पिंढीहरूलाई, बालबालीकाहरूलाई, निजी तथा सार्वजनिक संघ–संस्थाहरूलाई हुनेछ र सरकारीस्तरबाट यसको जवाफ दिनुपर्ने हुन्छ । यो के का आधारमा भनिएको हो भने अन्य संघीयता भएका विकशित देशहरूमा विकासका योजनाहरू जब कार्यान्वयन हुन्छन्, त्यहाँ अलीकती कार्यान्वयन गर्ने निकाय, शहरीया व्यक्ति इमान्दार भइदिइएर अरुलाई प्रभावित पारिदिइएपछि पनि सजिलै समाजको रूप फेरिएको उदाहरणहरू छन् ।

प्रकाशित मितिः   २३ बैशाख २०७५, आईतवार १५:४५