अस्पतालमै सुत्केरीको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ वैशाख ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । कालिकोटको महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रवार बिहान मृत्यु भएको हो ।
उनी सुरक्षित प्रसूतीका लागि बिहीवार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् । राती १२ बजेसम्म पनि डाक्टर नआएकाले अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको मनिषाका श्रीमान् जगत सिंहले बताए । बिहानै अस्पताल भर्ना गरे पनि डाक्टरले कुनै वास्ता नगरेको सिंहको आरोप छ ।
छिटो सुत्केरी गराउन नर्सले सुई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्यु भएको सिंहको भनाइ छ । सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी बगेको भनि हात हालेर पानी पोका फुटालेर भर्ना गरेको श्रीमान्को आरोप छ । अस्पतालमा दिनभरी मनिषाले आफूलाई बचाइदिन भन्दै हारगुहार गर्दा रातीसम्म पनि डाक्टर उपचारका लागि नआएको उनले बताए ।
अस्पतालले लापरबाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उपचारमा लापरबाही गर्नेलाई कडाभन्दा कडा कारबाही तथा मृतकका छोरा र छोरीको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनीहरूको माग छ ।
अस्पताल प्रशासनले भने फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताएको छ । अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. डम्बर खड्काले गर्भवतीको उपचारमा अस्पतालबाट कुनै लापरबाही नभएको दाबी गरे । उनका अनुसार अस्पतालको कारण नभइ पानी पोका आफैं फुटेर फोक्सोमा पानी गएकाले मनिषाको मृत्यु भएको हो ।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुत्केरी गराउन क्षेत्रीय अस्पताल पुगेकी मनिषा सिंहको निधनका विषयमा आवश्यक छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । अस्पतालको लापरबाहीका कारण निधन भएको बताउँदै आन्दोलित आफन्तहरूलाई भेट्न अस्पताल पुगेका मुख्यमन्त्री शाहीले छानविनका लागि निर्देशन दिएका हुन् । उनले छानविनबाट स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको लापरबाही देखिए कारबाही हुने बताए ।

प्रकाशित मितिः   २२ बैशाख २०७५, शनिबार १५:०९