खड्का बने कांग्रेस महामन्त्री
साझा बिसौनी संवाददाता
सुर्खेत, २१ वैशाख ।
सुर्खेतका पूर्णबहादुर खड्का नेपाली कांग्रेसको केन्द्रीय महामन्त्रीमा नियुक्त भएका छन् । कांग्रेसको शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खड्कालाई महामन्त्रीमा नियुक्त गरेको हो ।
खड्का कांग्रेसका पूर्व सहमहामन्त्री समेत हुन् । राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको पहिचान बनाएका खड्का नेपाल सरकारका पूर्वगृहमन्त्री पनि हुन् । सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट पटक–पटक सांसद निर्वाचित उनी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भने पराजित हुन पुगेका थिए ।
त्यसैगरी कांग्रेसले विमलेन्द्र निधिलाई उपसभापति र डा. प्रकाशशरण महतलाई सहमहामन्त्रीमा बहुमतले चयन गरेको छ । बैठकमा सहभागी सदस्यहरूमध्येबाट बहुमतले पदाधिकारी चयन गरिएको हो । कांग्रेसले महाधिवेशन भएको दुई वर्षपछि पदाधिकारी चयन गरेको हो ।
साझा बिसौनी ।