कैदीलाई आयआर्जनमा लगाइने

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ वैशाख ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जेललाई सुधार गृहका रूपमा विकास गरिने बताएका छन् । शुक्रवार सुर्खेत जिल्ला कारागारको निरीक्षण गर्दै मुख्यमन्त्री शाहीले अपराधमुक्त समाज निर्माणको लागि जेललाई सुधारगृहमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
मुख्यमन्त्री शाहीले कैदीहरूलाई आयआर्जन र उत्पादनमूलक काममा लगाएर मुलुकको आर्थिक विकासमा योगदान पु¥याउन सकिने बताए । ‘आयआर्जन र उत्पादनमूलक कामका लागि आवश्यक बजेट तथा कच्चा पदार्थ र बजारको व्यवस्था सरकारले गर्छ’ कैदीबन्दीहरूको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले भने ‘तपाईंहरू खाली हात नबस्नुस्, उत्पादनमूलक काममा लाग्नुहोस् ।’
कारागारमा कैदीहरूले आधारभूत मानवीय सुविधा पाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहीले कारागारमा देखिएका शौचालय, खानेपानी, पुस्तकालय, खेल सामग्री लगायतका समस्या समाधानका लागि जेल प्रशासनलाई निर्देशन दिए । मुख्यमन्त्री शाहीले कैद सजाय भुक्तानपछि समाजमा पुनस्र्थापित हुन सजिलोको लागि कैदीहरूलाई
मनोसामाजिक तथा सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
५० जनाको क्षमता रहेको कारागारमा एक सय ९७ जना कैदी रहेको बताउँदै कैदीबन्दीहरूले निर्माणाधीन भवन यथाशीघ्र निर्माणका लागि पहल गरिदिन माग गरेका छन् । मुख्यमन्त्री शाहीसँग कैदीबन्दीहरूले उपचार तथा अदालत आवत–जावतका लागि गाडी, औषधि, सीपमूलक तालिम लगायतका माग पनि राखेका थिए ।

प्रकाशित मितिः   २२ बैशाख २०७५, शनिबार १५:०८