तीन सपना जो पूरा गर्न सकिनँ
आठबिस नगरपालिका–३ निमपाल दैलेखका भक्तबहादुर बडुवाल परिवारका कान्छा छोरा हुन् । एसएलसीसम्मको शिक्षा गाउँमा सकेर सीएमए पढ्न वीरेन्द्रनगर झरेका भक्तको सपना वीरेन्द्रनगरमा आउँदा मोडियो । बुबा अर्जुन बडुवाल र आमा नामसरा बडुवालको कोखबाट वि.सं. २०५५ भदौ ४ गते जन्मिएका भक्तको परिवारको चाहना भने छोरा निजामती कर्मचारी बनोस् भन्ने छ । सबैको चाहनामा रुमल्लिएर आफ्नो चाहनालाई गुमाएका भक्तले साझा बिसौनी सहकर्मी सीता वलीसँग आफ्नो कलेज लाइफकाबारे यस्तो भनेः
सपनाः एक
दैलेखको विकट गाउँ, त्यसमा पनि मध्यमवर्गीय परिवारमा जन्मिएकाहरूले उच्च शिक्षा अध्ययनको लागि त्यति धेरै सोच्दैनन् । गाउँघरमा अरुका छोराछोरी उच्च शिक्षाका लागि शहर पस्दा बाबुआमाको चाहाना पनि मेरो सन्तानलाई कसरी शहरमा उच्च शिक्षाका लागि पठाउँ भन्ने हुन्छ । त्यस्तै मेरो पनि एउटा कथा छ ।
मैले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निमपालबाट दोस्रो श्रेणीमा एसएलसी उत्र्तीण गरें, २०७१ सालमा । त्यसपछि के पढ्ने ? बुवाआमालाई यसबारे केही थाहा थिएन । तर पनि मलाई २० हजार रूपैयाँ दिएर वीरेन्द्रनगर पठाउनुभयो ताकी मैले आफ्नो ईच्छाअनुसार करियर बनाउन सकुँ । सीएमए पढ्ने मेरो सानैदेखिको धोको थियो । त्यही धोको लिएर म वीरेन्द्रनगर पसें । तर मैले घरबाट ल्याएको २० हजारले मेरो सिएमए पढ्ने धोको पूरा गर्न सकिनँ । मेरो बचपनदेखिएको एउटा सपना त्यही सकियो । त्यसपछि साथीहरूको सल्लाह बमोजिम म म्यानेजमेन्ट पढ्न सुरु थालें । जन उच्च माध्यमिक विद्यालय वीरेन्द्रनगरमा म्यानेजमेन्ट पढें ।
बैंकर हुने सपना पनि अधुरै
गाउँमा आमाबुबाको सपना फेरि अरुका छोराछोरीहरूले जे गरेको राम्रो लाग्छ आफ्ना छोराछोरीले पनि त्यही गरोस् र जसरी पनि जागीर खाओस् भन्ने हुन्छ । सके सरकारी नसके गैरसरकारी भए पनि जागीर खानैपर्ने बाबुआमाको लागि भए पनि । सीएमए पढ्ने सपना पूरा नभए पनि विकल्पमा बैंकमा त पक्कै जागिरका अवसर प्राप्त गर्छु भन्ने सोचेर म्यानेजमेन्ट पढेको हुँ । अझ आफ्नै गाउँमा बैंक स्थापना होला र त्यही अवसर प्राप्त गर्छु भन्ने सोचेको थिएँ । मेरो सपना त्यहाँ पनि अधुरैं रह्यो ।
पूरा भएन रेडियोमा बोल्ने इच्छा
‘प्लस–टु’ पढ्दै गर्दा रेडियोमा कार्यक्रम प्रस्तोता बन्ने खुब ठूलो रहर जाग्यो । पहिला पनी त्यो रहर थियो । मैलै वीरेन्द्रनगरमा पाँच दिनको पत्रकारिता सम्बन्धी तालिम पनि लिएँ तर फेरि सपना मोडियो । आमाबुबाले भनेको मान्नैपर्ने बाध्यता आइलाग्यो । आमा बुबाको ईच्छा अनुसार म सुर्खेत टेक्निकल इन्स्टिच्यूटमा कृषि जेटिए पढ्दै छु । लोकसेवाको तयारी पनि आमाबुबाको चाहाना हो । निजामती जागिरको भूत चढेको छ, आजभोलि । अब मेरो अन्तिम लक्ष्य लोकसेवा आयोग पास गर्नु नै हो ।
कलेजको पहिलो दिन
म कक्षा १० मा हुँदा ट्यूसन पढ्न भनेर वीरेन्द्रनगर आएको थिएँ । बाटोमा कलेजको पोशाक लगाएर हिँडेको देख्दा म पनि यस्ता ठूला भवनमा टाइसुट लगाएर कहिले पढ्न पाउँला भन्ने सोच्थें । कलेजको पहिलो दिन त्यहीं अनुभव भयो । मेरो सीएमए सपना गुमेको पछुतो कलेजको पहिलो दिनले मेटाइदियो । कलेजबाट फर्किदा पनि मलाई रमाइलो अनुभव भयो । तर कलेजको यही दिन सीएमए पढ्दै गर्दाको भए कति आनन्दित हुन्थें भन्ने कल्पना गरिरहें ।
म कलेजमा कहिल्यै हल्ला नगर्ने अनुशासित विद्यार्थी हुँ । क्लास बंक त झन कहिल्यै गरिएन । वीरेन्द्रनगर झरेको तीन वर्षजति भयो यो अवधिमा म दुईपटक मात्र फिल्म हलमा छिरेको छु । त्यो पनि बिदाको समयमा साथीको करले । कलेजको राम्रो पक्ष भनेको थुप्रै कुरा सिक्न पाइने र अनुभव पनि लिन पाइने । कलेज लाइफ त सीकाइको थलो हो हरेक कुराको अनुभव कलेज लाइफबाट प्राप्त हुने रहेछ । कलेजको नराम्रो पक्ष खास भेटेको छैन तर मलाई शिक्षकले सोधेको प्रश्नको उत्तर नजान्दा चाहीं नरमाइलो लाग्छ ।
विद्यालय र कलेजको पढाइ त कता कता फरक छ । शहरका निजी विद्यालयमा पढेकालाई त समान लाग्ला तर गाउँको दर्दनाक दुःखबाट गुज्रिएको एउटा विद्यार्थीको लागी कलेज त कहाँ कहाँ ठूलो लाग्छ । सिक्ने र सिकाउने शैली भने उस्तै उस्तै हो ।
प्रेम गरेको छु तर डेटिङ्ग गएको छैन
प्रेम एकअर्काको भावना साटासाट गर्ने माध्यम हो तर सबथोक होइन । कसैको प्रेमले जीवन नै परिवर्तन गरिदिन्छ । त्यस्ता उदाहरण समाजमा कति–कति देखिन्छन् । तर पढ्ने उमेरको प्रेम र डेटिङ्गले करियर बर्बाद गर्छ । प्रेमकोपछि परेर करियर बर्बाद गरेका विद्यार्थीका उदाहरण पनि भेटिन्छन् । मैले प्रेम त कसैलाई गरेको छु तर डेटिङ्ग गएको छैन ।
हामी चार भाइबहिनी छौं । सानै उमेरमा संघर्ष त गरियो तर कोठामा चामल, ग्यास सकिदैंमा र पैसाको अभावलाई म संघर्ष भन्दिनँ । पढाइमा कति मेहेनत ग¥यो र दिनमा कति घण्टा भोकै बसेर पनि पढाइमा ध्यान दियो त्यो संघर्ष हो । मेरो जीवन संघर्षमय छ । म कठिन खालका चुनौती पार गर्न मन पराउँछु ।
आगामी सपना
जसरी पनि सरकारी जागिर खाने सपनाका साथ अहिले त्यसैको तयारीमा छु । मेरो अबको सपना नै त्यही हो । त्यसका अलावा पुस्तक पढ्न मनपर्छ । उपत्यास र अरुका जीवन पढ्छु । जीवनमा आफैले पनि एउटा उपन्यास लेख्ने ठूलो रहर छ ।
साझा बिसौनी ।