सहमतिपछि ताला खुल्यो

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ वैशाख ।
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा लगाइएको ताला खोलिएको छ । आयोजनासँग विभिन्न मागहरू राख्दै मंगलवार स्थानीयहरूले लगाएको ताला बुधवार खोलिएको हो । आयोजना निर्माण कम्पनी, स्थानीय बासिन्दा र कामदारहरूबीच भएको सहमतिपछि ताला खोलिएको छ । भेरी–बबई सरोकार समितिको उपसमिति हात्तीखालका अध्यक्ष नविन सारुका अनुसार मागहरू माथि सहमति जुटेपछि ताला खोलिएको हो ।


विभिन्न बाहानामा आयोजना तथा चाइनिज कम्पनीबाट निकालिएका दक्ष कामदार सूची उपलब्ध गराउने, जेठ २० गतेभित्र प्रभावित क्षेत्रमा खानेपानीका लागि २० वटा इनार (कुवा) निर्माण गर्ने, आयोजना निर्माण गर्दा अति प्रभावित स्थल भेरीगंगा नगरपालिका–५ हात्तीखाल र गेरुबानी क्षेत्रमा विद्युतमार्फत् सिँचाइ लिफ्टिङ आयोजना निर्माणका लागि टेण्डर आव्हान भइसकेकाले जेठबाट काम सुरु गर्ने लगायतका सहमति भएका छन् ।
आयोजना निर्माण क्षेत्रमा रहेको जनता प्राविमा आगामी माघ महिनासम्म र सरस्वती प्राविमा २०७६ असारसम्म ध्वनी तथा वायु प्रदुषणरहित पर्खाल निर्माण गर्ने, हात्तीखाल र गेरुवानी अन्तर्गत पर्ने मूल सडक तथा रिङ्ग रोडमा पक्की नालासहित विभिन्न खोलाहरूमा आवश्यकता अनुसार कल्र्भड तथा ह्युमपाइप असारसम्म व्यवस्था गर्ने, करकरे खोलामा आगामी आर्थिक वर्षदेखि तटबन्ध निर्माण सुरु गर्ने र कृषि सम्बन्धी तालिम सञ्चालनका लागि गर्ने र समय आपसी सहमझदारीमा तोक्ने सहमति अध्यक्ष सारुले बताए ।

प्रकाशित मितिः   २० बैशाख २०७५, बिहीबार १६:१८